दोलखा — चीनसँग सीमा जोडिएको विगु–१ लप्चीका याक चौँरी चरन खोज्दै तिब्बतको चरन क्षेत्र पुगेका छन्। हरेक वर्ष मध्य असारबाट लप्चीका याक चौँरीका गोठ चरनका लागि सीमापारि पुग्ने गरेका छन् । लप्ची क्षेत्रमा बर्खामा चरन नहुने भएकाले याक चौँरीसहित घोडा खेदर गोठाला सीमापारि जाने गरेका हुन्।
यो वर्ष ११ गोठका करिब ३ सय याक चौँरी चरनका लागि सीमापारि चिनियाँ खर्कमा गएको स्थानीय कुनचोक नोर्बु शेर्पा बताए। ‘हिउँदमा जाडो छल्न लुम्नाङ ओर्लिएका गोठहरू चरनका लागि माथिल्लो क्षेत्र लप्ची हुँदै सीमा पारि लैजाने गरेका छौँ,' उनले भने, ‘नेपालतर्फका खर्कहरूमा बल्ल घाँस पलाउन थालेको छ हिउँदमा यता लिएर आउँछौँ ।’
नेपाल तर्फका खर्क जान कतिपय खोला तर्न पर्ने भएकाले जान नसकिने उनले बताए । चीनको सीमा क्षेत्रमा पुगेका लप्चीका याक चौँरी असोज दोस्रो साताबाट नेपालका खर्क फर्कने उनले बताए । २०७२ को भूकम्पपछि चीनका खर्कमा लप्चीका याक चौँरी लैजान चिनियाँ पक्षले बन्द गरेको थियो ।
झन्डै ५ वर्षपछि पुनः खर्कमा याक चौँरी लैजान दिएपछि कोरानापछि पूर्ण रूपमा लैजान दिएको थिए । गत वर्षदेखि चिनियाँ खर्कमा याक चौँरी लैजान दिएको स्थानीय तेन्जिङ शेर्पाले बताए । लामो समय खर्क अभाव भएपछि स्थानीयले याक चौँरी चरन क्षेत्र अभावमा पाल्न छाडेको उनले बताए । ‘कुनै समय १ हजार भन्दा धेरै याक चौँरी खेदेर उता चरनका लागि लैजान्थ्यौँ,’ उनले भने, ‘अहिले निकै कम गोठ छन्, त्यसलाई पनि चराउन यो समयमा उता लैजानु पर्ने बाध्यता छ ।’
याक चौँरीको प्रजजन् यही बेलामा भएकाले अधिकांश बाच्छा उतै जन्मने उनले बताए । ‘तीन महिनालाई खान पुग्ने सातुसामलका पोका बाँधेर खर्क जाने गरेका छौँ,’ उनले भने, ‘याक चौँरीका बाच्छा उतै जन्मन्छन् उनीहरूलाई स्याहार गर्ने, गोठमा घिउ बनाएर जम्मा गरेर फर्कछौं ।’
चिनियाँ खर्कमा याक चौँरी र घोडा चराए बापत ७ सय ५० ग्राम घिउ उता तिर्नुपर्ने उनले बताए । ‘माउ याक चौँरीको चरन क्षेत्रमा शुल्क भनेको घिउ दिने गरेका छौँ,’ उनले भने, ‘कहिलेकाहीँ उताका मान्छे याक चौँरीका बाच्छा, घोडा र घिउ किन्न आए उतै पनि बेच्ने गरेका छौँ ।’
विगत वर्षमा जस्तो याक चौँरीको बाच्छा र घिउको व्यापार हुन छाडेको उनले बताए । लप्चीमा हरेक घरका स्थानीयको मुख्य आम्दानीको स्रोत याक चौँरीको बाच्छा र घिउ हो । तर पछिल्लो समय लप्चीका स्थानीयले याक चौँरी पाल्न छाड्दै गएका छन् । ४८ परिवार हरेको लप्चीमा हाल ११ परिवारले मात्रै याक चौँरी पाल्दै आएका छन् । उनीहरूको मुख्य बजार सीमापारिको टासिघाङ हो ।
सोही बजारमा उनीहरूले याक चौँरीका बाच्छा र घिउसहित घोडा बेच्दै आएका छन् । पछिल्लो समय चरन क्षेत्रका घाँसे मैदानमा घाँस पाइन्न छाडेको र पटक पटक सीमा नाका बन्द चीन सरकारले बन्द गर्दा स्थानीयले याक चौँरी पाल्न छाडेको स्थानीय कर्मा वाईसर शेर्पाले बताए ।
‘मध्य असारमा लस्कर लगाएर याक चौँरी खेदेर उतातिर चराउन जाने गरेको थियौँ,’ उनले भने ‘अहिले केही गोठालालाई जिम्मा दिएर पठाउने गरेका छौँ, निकै कम याक चौँरी भएकाले उता जान छाडेका हौँ ।’ पहिलाको जस्तो याक चौँरी लप्चीमा नभएको उनले बताए । ‘हरेक महिना पारिपट्टि हाट बजार जस्तो लाग्छ टासिघाङ बजारमा लगेर बाच्छा र घिउ बेच्ने गरेका थियौँ,’ उनले भने, ‘अहिले त्यो पनि कहिलेकाहीँ मात्रै हुन्छ, भनेजस्तो मूल्य पनि पाइँदैन ।’
हरेक वर्ष चरन क्षेत्र प्रयोग गरेबापत घिउ दिनुपर्ने नियम भएको उनले बताए । ‘उताको चरण क्षेत्रमा माउ याक चौँरी चराउँदा प्रत्येकको सात सय ५० ग्राम घिउ दिनुपर्छ,’ उनले भने, ‘अहिले थोरै भएका कारण उतै सकिन्छ घिउ, बाच्छा मात्रै बेचेर घर खर्च धान्नै मुस्किल छ ।’
विगतमा चरण क्षेत्रमा आएर दुःख दिने गरेकोमा अहिले भने त्यस्तो अवस्था नभएको उनले बताए । ‘सरकारले याक चौँरी पाल्नेलाई अनुदान दिन्छ भनेर सुनेका थियौँ,’ उनले भने, 'हामी सीमावासीलाई सरकारले देखेको छैन, याक चौँरी पाल्ने लप्चीबासीले अहिलेसम्म सरकार कस्तो हुन्छ भनेर महसुस गर्न समेत पाएनौँ ।’
बिरामी पर्दा हिँडेर लामाबगर पुग्नुपर्ने बाध्यता रहेको उनले बताए । लप्चीमा हासम्म विद्युत् र टेलिफोनको सेवासमेत पुग्न नसकेको उनले बताए ।
