काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ३४.६१ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा १.२५ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ७ सय ९४.७८ विन्दुमा उक्लेको छ । अघिल्लो दिन ३४.४६ अंकले बढेको नेप्सेले बुधबार पनि सोही प्रवृति पछ्याएको हो ।
सो दिन कारोबारमा आएकामध्ये १९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५५ वटा कम्पनीको घट्यो । यसरी झण्डै २ सय वटा कम्पनीको सेयर मूल्य बढेपछि समग्र नेप्से दोहोरो अंकले बढ्न टेवा पुगेको हो ।
बुधबार ९९ हजार ५ सय ५ पटकको कारोबारबाट ४ करोड ३१ लाख ११ हजार ४ सय १६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । मंगलबार ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
