३९ कम्पनीको मूल्य घटे पनि ३४.४६ अंकले बढ्यो नेप्से

मंगलबार २०९ कम्पनीको सेयर मूल्य वृद्धि, ९ अर्ब ४१ करोड ९१ लाखको सेयर कारोबार

असार ३२, २०८२

कान्तिपुर संवाददाता

Although the price of 39 companies decreased, NEPSE increased by 34.46 points

काठमाडौँ — साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ३४.४६ अंकले बढेको छ । १.२६ प्रतिशतले बढेर नेप्से २७६०.१७ बिन्दुमा उक्लिएको छ । आइतबार २९ अंकले वृद्धि भएको नेप्से सोमबार ३५.०९ अंकले घटेको थियो । मंगलबार ३९ कम्पनीको सेयर मूल्य भने घटेको छ । 

गत शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाएको थियो । यसले सेयर बजारमा ठूलै उत्साह ल्याउने अपेक्षा गरिएको थियो । तर बजारमा त्यस किसिमको उत्साह देखिएन ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति जारी भएपछिको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से २९ अंकले बढे पनि दोस्रो दिन घट्दा ब्रोकरहरूले ‘क्लोजिङ इफेक्ट’ का रूपमा विश्लेषण गरेका छन् ।

मंगलबार कुल २०९ कम्पनीको सेयर मूल्य बढेको छ । कुल ७४ हजार ५७ पटकको सेयर किनबेचबाट ९ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबारको तुलनामा कारोबार रकम बढे पनि आइतबारको तुलनामा भने घटेको नेप्सेको तथ्यांक छ । आइतबार ११ अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार हुँदा सोमबार ८ अर्ब १७ करोड रुपैयाँको भएको थियो ।

मंगलबार कुल २ करोड ६५ लाख १७ हजार २ सय ९ कित्ता सेयर किनबेच भए । सामूहिक लगानी कोष स्थिर रहँदा बाँकी सबै उपसमूह बढे । निर्जीवन बिमा समूह ९५.५४, जीवन बिमा ९०.०१, विकास बैंक ६९.४३, होटल तथा पर्यटन ६४.१४, जलविद्युत् ६०.७३ र उत्पादन तथा प्रशोधन समूह ६३.४३ अंकले बढेका छन् । 

सुपर मादी हाइड्रोपावरको ८.०८, राप्ती हाइड्रो एन्ड जनरलको ५.८६, विन्दाबासिनी हाइड्रोपावरको ५.७१, ओम मेगाश्री फर्मासिटिकल्सको ५.४३ र केबीएल डिबेञ्चर २०९० (१० प्रतिशत) को ५.२७ प्रतिशतले सेयर मूल्य बढेको छ । यी कम्पनीका लगानीकर्ताको मंगलबार सम्पत्तिको मूल्य बढेको हो । भगवती हाइड्रोपावरको ४.६४, ग्लोबल आईएमई डिबेञ्चरको ३.८३, शुभम पावरको ३.३३, चिरख्वा हाइड्रोपावरको ३.२६ र सप्तकोशी विकास बैंकको २.८२ प्रतिशतले सेयर मूल्य घट्यो ।

कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी, निफ्रा ग्रिन इनर्जी डिबेञ्चर (२०८८/८९), राधी विद्युत्, एनआईसी एसिया बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट अघि रहे । बुटवल पावर कम्पनीको ५२ करोड ३२ लाख, निफ्रा ग्रिन इनर्जी डिबेञ्चर (२०८८/८९) को ५० करोड ५१ लाख, राधी विद्युत् कम्पनीको ४३ करोड ९७ लाख, एनआईसी एसिया बैंकको ३० करोड ३१ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३० करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्से बढ्दा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा ५७ अर्ब ४२ करोड ७३ लाख रुपैयाँले वृद्धि भएको छ । सोमबार ४५ खर्ब ४१ अर्ब ८८ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण मंगलबार ४५ खर्ब ९९ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ ।

कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण बढ्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्य बढी हुनु हो । यही आधारमा पुँजीकरण बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य बढेका रूपमा विश्लेषण गरिन्छ ।

कान्तिपुर

Link copied successfully