मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ तर असार २९ सम्म १ लाख २५ हजार ८ सय ८८ हेक्टरमा मात्र रोपाइँ
काठमाडौँ — मधेशलाई धानको राजधानी भनिन्छ । किनभने सबैभन्दा धेरै रोपाइँ यही प्रदेशमा हुन्छ । रोपाइँसँगै उत्पादन पनि मधेशमै धेरै हुन्छ । असार सकिन लागिसक्दा यस प्रदेशमा रोपाइँ भने न्यून छ ।
सात प्रदेशमध्ये सबैभन्दा काम रोपाइँ मधेशमा भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । तर असार २९ सम्म १ लाख २५ हजार ८ सय ८८ हेक्टर अर्थात् ३३.७८ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
गत वर्षको सोही अवधिमा झन्डै दोब्बरले रोपाइँ भएको केन्द्रको तथ्यांक छ । २०८१ असार ३० सम्म ६६.७ प्रतिशत रोपाइँ भएको थियो । मधेशमा धान रोपाइँ नहुनुको प्रमुख कारण सिँचाइ अभाव नै हो । नेपालमा मनसुनमा आधारित खेती प्रणाली हुन्छ । सिँचाइ अभावले समयमै रोपाइँ हुन नसकेको कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ ।
‘पहाडतिर पानी परेको देखिन्छ । तर मधेशमा पानी परेको छैन । पर्याप्त पानी नहुँदा रोपाइँमा पनि कमी आएको हो,’ नार्कका बैज्ञानिक सुशील सुवेदीले भने, ‘मुख्य धान फल्ने क्षेत्रमा पानी र रोपाइँ नहुँदा उत्पादनमा पनि कमी आउन सक्छ । चिसोमा धेरै धान नफल्न सक्छ ।’ मधेशतिर साउन १५ सम्मै रोपाइँ हुने हुँदा पानीको उपलब्धता भए रोपाइँ हुने क्षेत्रफल बढ्न सक्ने उनले जनाए । ढिला गरी रोपाइँ हुँदा हर्दिनाथ, सावित्री र राम धानलाई भने असर पर्ने उनको भनाइ छ ।
‘कुनै धान साउन १५ सम्म पनि रोपाइँ हुन्छ । पानी परेर सिँचाइ भएको अवस्थामा रोपाइँ बढ्न सक्छ । तर पानी परेको छैन । १०/१५ दिन यही अवस्था रहे किसानलाई धेरै समस्या आउन सक्छ,’ सुवेदीले भने ।
नेपालमा गत जेठ १५ देखि नै मनसुन भित्रिए पनि मधेशमा भने उल्लेख्य वर्षा हुन सकेको छैन । गत बिहीबार बसेको मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त घोषणासमेत गरेको छ । रोपाइँ गर्ने बेला पनि पानी नपरेपछि प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरिएको छ । ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंस मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गर्नुपरेको हो । रोपाइँ गर्ने बेला पनि पानी नपरेपछि प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरिएको मधेश प्रदेश सरकारका प्रवक्तासमेत रहेका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जनाए ।
अब पनि पानी उपलब्ध नभए थप समस्या हुने जानकार बताउँछन् । अब पानी थोरै भए पनि उत्पादन दिन सक्ने धानतर्फ केन्द्रित हुनुपर्ने उनीहरूको भनाइ छ । ‘बहुगुणे १ र २ सुक्खा र डुबान दुवै सहन सक्ने धान हो । सुक्खा १ देखि ६ सम्मको धानका जात पनि छन् । मसिनोमा सुक्खा ५ र ३ धेरै चलेका धान हुन्,’ सुवेदीले भने, ‘पानी कम परेको अवस्थामा यी जातका धान लगाउन सकिन्छ ।’
केन्द्रका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा ९३.१ प्रतिशत धान रोपाइँ भएको छ । यस प्रदेशमा १ लाख ७६ हजार १ सय ५१ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये १ लाख ६३ हजार ९ सय ९३ हेक्टर रोपाइँ भइसकेको छ । गत असार ३० सम्म यस प्रदेशमा ८६ प्रतिशत रोपाइँ भएको थियो ।
दोस्रोमा कर्णालीमा ८३.२३ प्रतितशत रोपाइँ भएको छ । यस प्रदेशमा ४० हजार ८ सय ८४ हेक्टरमा रोपाइँ हुन्छ । गत असार ३० सम्म यस प्रदेशमा ८६ प्रतिशत रोपाइँ भएको थियो । पहाडतिर जेठ दोस्रो सातादेखि नै रोपाइँ सुरु भएको थियो । यस क्षेत्रमा उत्साहजनक रोपाइँ भएको छ । केन्द्रका अनुसार लुम्बिनीमा ७३.६८ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा ३ लाख २ हजार ९ सय ३९ हेक्टरमा रोपाइँ हुन्छ ।
गण्डकी प्रदेशमा ६९ प्रतिशत रोपाइँ भएको केन्द्रको तथ्यांक छ । गत वर्ष असार ३० सम्म ६७.४ प्रतिशत मात्र रोपाइँ भएको थियो । गण्डकीमा ९४ हजार १ सय ८२ हेक्टरमा रोपाइँ हुन्छ । बागमतीमा पनि गत वर्षभन्दा बढी रोपाइँ भएको छ । असार २९ सम्म ७६.३१ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा १ लाख २० हजार ५ सय ४५ हेक्टरमा रोपाइँ हुन्छ । गत वर्ष असार ३० सम्म ७१ प्रतिशत रोपाइँ भएको थियो । कोशीमा ४१.३२ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । यस प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा रोपाइँ हुन्छ ।
कुन प्रदेशमा कति प्रतिशत रोपाइँ ? (असार २९)
| प्रदेश | प्रतिशत |
कोशी | ३३.७८ |
मधेश | ३३.७८ |
बागमती | ७६.३१ |
| गण्डकी | ६९ |
| लुम्बिनी | ७३.६८ |
| कर्णाली | ८३.२३ |
| सुदूरपश्चिम | ९३.१ |
