बर्खामै मधेश सुक्खा, ३४ प्रतिशत मात्रै रोपाइँ

मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ तर असार २९ सम्म १ लाख २५ हजार ८ सय ८८ हेक्टरमा मात्र रोपाइँ

असार ३१, २०८२

राजु चौधरी

Madhesh dry during drought, only 34 percent planted

काठमाडौँ — मधेशलाई धानको राजधानी भनिन्छ । किनभने सबैभन्दा धेरै रोपाइँ यही प्रदेशमा हुन्छ । रोपाइँसँगै उत्पादन पनि मधेशमै धेरै हुन्छ । असार सकिन लागिसक्दा यस प्रदेशमा रोपाइँ भने न्यून छ । 

सात प्रदेशमध्ये सबैभन्दा काम रोपाइँ मधेशमा भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मधेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ । तर असार २९ सम्म १ लाख २५ हजार ८ सय ८८ हेक्टर अर्थात् ३३.७८ प्रतिशत मात्रै रोपाइँ भएको छ । 

गत वर्षको सोही अवधिमा झन्डै दोब्बरले रोपाइँ भएको केन्द्रको तथ्यांक छ । २०८१ असार ३० सम्म ६६.७ प्रतिशत रोपाइँ भएको थियो । मधेशमा धान रोपाइँ नहुनुको प्रमुख कारण सिँचाइ अभाव नै हो । नेपालमा मनसुनमा आधारित खेती प्रणाली हुन्छ । सिँचाइ अभावले समयमै रोपाइँ हुन नसकेको कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ । 

‘पहाडतिर पानी परेको देखिन्छ । तर मधेशमा पानी परेको छैन । पर्याप्त पानी नहुँदा रोपाइँमा पनि कमी आएको हो,’ नार्कका बैज्ञानिक सुशील सुवेदीले भने, ‘मुख्य धान फल्ने क्षेत्रमा पानी र रोपाइँ नहुँदा उत्पादनमा पनि कमी आउन सक्छ । चिसोमा धेरै धान नफल्न सक्छ ।’ मधेशतिर साउन १५ सम्मै रोपाइँ हुने हुँदा पानीको उपलब्धता भए रोपाइँ हुने क्षेत्रफल बढ्न सक्ने उनले जनाए । ढिला गरी रोपाइँ हुँदा हर्दिनाथ, सावित्री र राम धानलाई भने असर पर्ने उनको भनाइ छ । 

‘कुनै धान साउन १५ सम्म पनि रोपाइँ हुन्छ । पानी परेर सिँचाइ भएको अवस्थामा रोपाइँ बढ्न सक्छ । तर पानी परेको छैन । १०/१५ दिन यही अवस्था रहे किसानलाई धेरै समस्या आउन सक्छ,’ सुवेदीले भने । 

Madhesh dry during drought, only 34 percent planted

नेपालमा गत जेठ १५ देखि नै मनसुन भित्रिए पनि मधेशमा भने उल्लेख्य वर्षा हुन सकेको छैन । गत बिहीबार बसेको मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त घोषणासमेत गरेको छ । रोपाइँ गर्ने बेला पनि पानी नपरेपछि प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरिएको छ । ठाउँठाउँमा भारी वर्षापछि बाढीपहिरोले विध्वंस मच्चाउँदा मधेश प्रदेशलाई भने सुक्खाग्रस्त घोषणा गर्नुपरेको हो । रोपाइँ गर्ने बेला पनि पानी नपरेपछि प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरिएको मधेश प्रदेश सरकारका प्रवक्तासमेत रहेका गृह, सञ्‍चार तथा कानुनमन्त्री राजकुमार लेखीले जनाए । 

अब पनि पानी उपलब्ध नभए थप समस्या हुने जानकार बताउँछन् । अब पानी थोरै भए पनि उत्पादन दिन सक्ने धानतर्फ केन्द्रित हुनुपर्ने उनीहरूको भनाइ छ । ‘बहुगुणे १ र २ सुक्खा र डुबान दुवै सहन सक्ने धान हो । सुक्खा १ देखि ६ सम्मको धानका जात पनि छन् । मसिनोमा सुक्खा ५ र ३ धेरै चलेका धान हुन्,’ सुवेदीले भने, ‘पानी कम परेको अवस्थामा यी जातका धान लगाउन सकिन्छ ।’ 

केन्द्रका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिममा ९३.१ प्रतिशत धान रोपाइँ भएको छ । यस प्रदेशमा १ लाख ७६ हजार १ सय ५१ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये १ लाख ६३ हजार ९ सय ९३ हेक्टर रोपाइँ भइसकेको छ । गत असार ३० सम्म यस प्रदेशमा ८६ प्रतिशत रोपाइँ भएको थियो । 

दोस्रोमा कर्णालीमा ८३.२३ प्रतितशत रोपाइँ भएको छ । यस प्रदेशमा ४० हजार ८ सय ८४ हेक्टरमा रोपाइँ हुन्छ । गत असार ३० सम्म यस प्रदेशमा ८६ प्रतिशत रोपाइँ भएको थियो । पहाडतिर जेठ दोस्रो सातादेखि नै रोपाइँ सुरु भएको थियो । यस क्षेत्रमा उत्साहजनक रोपाइँ भएको छ । केन्द्रका अनुसार लुम्बिनीमा ७३.६८ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा ३ लाख २ हजार ९ सय ३९ हेक्टरमा रोपाइँ हुन्छ । 

गण्डकी प्रदेशमा ६९ प्रतिशत रोपाइँ भएको केन्द्रको तथ्यांक छ । गत वर्ष असार ३० सम्म ६७.४ प्रतिशत मात्र रोपाइँ भएको थियो । गण्डकीमा ९४ हजार १ सय ८२ हेक्टरमा रोपाइँ हुन्छ । बागमतीमा पनि गत वर्षभन्दा बढी रोपाइँ भएको छ । असार २९ सम्म ७६.३१ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा १ लाख २० हजार ५ सय ४५ हेक्टरमा रोपाइँ हुन्छ । गत वर्ष असार ३० सम्म ७१ प्रतिशत रोपाइँ भएको थियो । कोशीमा ४१.३२ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । यस प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टरमा रोपाइँ हुन्छ ।

कुन प्रदेशमा कति प्रतिशत रोपाइँ ? (असार २९)

प्रदेशप्रतिशत 

कोशी

३३.७८ 

मधेश   

३३.७८   

बागमती

७६.३१   
गण्डकी ६९
लुम्बिनी ७३.६८  
कर्णाली  ८३.२३ 
सुदूरपश्चिम ९३.१

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully