लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा

असार ३१, २०८२

कान्तिपुर संवाददाता

An environment for investors to invest with confidence should be created: Chairman Deuba

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौँमा इप्पानको २३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले लगानीका लागि आउने जोसुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए। उनले लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने बताए।

उनले उत्पादित विद्युत्‌को खपत र व्यापार गर्ने दायित्व सरकारको भएको पनि उल्लेख गरे। यसका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु जरुरी रहेको बताए। जलविद्युत आयोजनाहरूको आइपीओ निष्कासन रोक्नु गलत भएको र धितो पत्र बोर्डले चाँडै सेयर निष्कासन गर्ने बताए। ऊर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पत्ति भएको बताए। पूर्वप्रधानमन्त्री देउवाले ‘ग्रिन इनर्जी’ मा बढी जोड दिन पनि आग्रह गरे।

सभापति देउवाले भने, ‘अहिले उत्पादन भएको विद्युत् खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो। यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ। लगानीका लागि आउने जोसुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ। लगानीकर्तालाई दुःख दिने भन्ने कुरै छैन। स्वदेशी तथा विदेशी लगानीकर्तालाई पनि नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ।’

सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछाडि देशले अघि बढाएको उदारवाद र निजीकरणको नीति रहेको बताए। यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्ने बताए। निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु खुसीको कुरा भएको उल्लेख गर्दै आज देशभित्र लोडसेडिङ नरहेको बताए।

कान्तिपुर संवाददाता

Link copied successfully