काठमाडौँ — नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ । अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय समिति गठन गरेको हो ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको एक मन्त्रीले जानकारी दिए । उक्त समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री रहेका छन् ।
सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । 'यो समितिलाई पनि उनको योग्यता र कार्यशैलीप्रति छानबिन गर्न म्यान्डेट दिइएको छ,' एक मन्त्रीले भने ।
