बाँझो जमिनमा चिया-सुन्तला हर्लक्क

धूवााखोलामा चियाका २४ हजार र नयाँगाउँमा सुन्तलाका १४ सय बिरुवा, १ सय ३७ रोपनीमा २५ हजारभन्दा बढी बिरुवा

असार २९, २०८२

सन्तोष महतारा

Tea-orange horlocks on barren land

गुल्मी — कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ धूवाँखेलामा बाँझो बनेको जग्गामा चिया खेती थालिएको छ । स्थानीयले बाँझो रहेको ३७ रोपनीमा चियाका बिरुवा रोपेका हुन् । गतवर्ष १७ रोपनी जग्गामा रोपिएका इलामको त्रियासी जातका १२ हजार चियाका बिरुवा लोभलाग्दो गरी हुर्किएपछि यस वर्ष २० रोपनी जग्गामा सोही जातको १२ हजार चियाका बिरुवा लगाइएको तमु टोल विकास संस्थाका अध्यक्ष आशिष गुरुङले बताए ।

धूवाँखोलामा चिया खेतीका लागि ३६ परिवार स्थानीय क्लब तथा संस्थामार्फत सक्रिय छन् । जसमा तमु उद्यमशील महिला समूह, तमु टोल विकास संस्था, तमु युवा क्लब र धूवाँखेला खानेपानी उपभोक्ता तथा सरसफाइ समिति छन् । स्थानीय होमस्टे सञ्चालनमा टेवा पुर्‍याउने उद्देश्यले पनि चिया खेतीको परिकल्पना गरिएको गुरुङले जनाए ।

धूवाँखेला चिया बगान संरक्षण समितिमार्फत बिरुवाको संरक्षण भइरहेको छ । समुद्री सतहदेखि १ हजार ८ सय मिटर उचाइमा रहेको धूवाँखोलामा चिया खेतीको राम्रो सम्भावना देखिएको छ । ‘धूवाँखोला चिया बगान, ग्रामीण पर्यटनको प्रवर्द्धन ः प्रकृतिको संरक्षण हाम्रो अभियान’ भन्ने नारासहित चिया खेती गरिएको छ ।

साथै भुर्तुङ नयाँगाउँमा २९ जनाको व्यक्तिगत १ सय रोपनीभन्दा बढी जग्गामा सुन्तलाका बिरुवा लगत्तै रोप्ने तयारी छ । जसका लागि खाडल खनेर मल राखेर अन्तिम तयारी गरिएको वडाध्यक्ष घनश्याम थापाले बताए । उक्त जमिनमा हाल १ हजार ४ सय सुन्तलाका बिरुवा रोपिनेछ । अर्को वर्ष बिरुवा थप गर्ने तयारी रहेको थापाको भनाइ छ ।

समुद्री सतहदेखि १ हजार ५ सय मिटर उचाइमा रहेको नयाँगाउँमा सुन्तला खेतीको राम्रो सम्भावना देखिएको छ । चिया र सुन्तलाका बिरुवा रोपणमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका पालिकाका ३२ जना कामदारले काम गरेका छन् । प्रतिखाडल तीन सय ४० रुपैयाँका दरले उनीहरूले पारिश्रमिक पाउने गरी काम गरिरहेका हुन् ।

चिया खेतीमा प्रविधि प्रदर्शनमार्फत बिरुवा खरिदमा एक लाख रुपैयाँ सहयोग गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कर्मचारी खटाउनेसहितको प्राविधिक सहयोग भने पालिकाले गरिरहेको छ । सुन्तलामा भने बिरुवा पालिकाले नै सहयोग गरेको छ ।

स्थानीयलाई व्यवसायमा आकर्षित गर्न त्यसको आम्दानी आफैंलाई हुने गरी चिया र सुन्तला खेती अगाडि बढाएको वडाले बताएको छ । उत्पादन राम्रो भए निश्चित कर लगाउनेबाहेक अन्य आम्दानी खेतीमा क्रियाशील हुने घरपरिवारलाई हुने गरी चिया र सुन्तला खेती विस्तार गरिएको हो ।

पर्यटन प्रवर्द्धनसँगै आर्थिक उपार्जनका लागि चिया र सुन्तला खेतीले टेवा पुग्ने कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाको भनाइ छ । ‘कृषि नै हाम्रो आर्थिक उपार्जनको मुख्य मेरुदण्ड हो,’ उनले भने, ‘स्थानीयलाई रोजगारीसमेत सिर्जना हुने गरी व्यावसायिकतामा आकर्षित गरेका छौं ।’

सन्तोष

Link copied successfully