अघिल्लो साता २७०३ अंकमा बन्द भएको नेप्से गत साता २७ सय ३१ अंकमा बन्द
काठमाडौँ — गत साता नेप्से २७.८४ अंकले बढेर २७ सय ३१ दशमलव ८० बिन्दुमा उक्लिएको छ । सेयर बजार १ दशलमव शून्य ३ प्रतिशतले बढ्दा १२३ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो । कुल १ सय २६ कम्पनीको सेयर मूल्य घटेको एनपीस्टक्स डटकमको तथ्यांक छ ।
अघिल्लो साता २७०३ अंकमा बन्द भएको नेप्से गत साता २७ सय ३१ अंकमा बन्द भएको हो । साताको पाँच कारोबार दिनमा दुई दिन सेयर बजार घट्यो भने तीन दिन बढ्यो । गत आइतबार २.४० अंक नेप्से बढे पनि सोमबार २२.३५ र मंगलबार शून्य दशमलव १४ अंकले घट्यो । गत बुधबार फेरि २२.०४ र बिहीबार २५.८९ अंक बढ्यो ।
गत साता ४१ अर्ब ५८ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गत आइतबार ९ अर्ब ५० करोडको कारोबार भएको थियो । सोमबार ८ अर्ब ३७ करोड, मंगलबार ६ अर्ब ५७ करोड, बुधबार ७ अर्ब ४५ करोड र बिहीबार ९ अर्ब ६८ करोडको भयो । सेयर बजार ४ महिना यताकै उच्च बिन्दुमा छ । गत फागुन २८ मा २७ सय ३६ दशमलव ४८ विन्दुमा थियो । त्यसयता २७ सय पुगे पनि २७३० काट्न सकेको थिएन । यही असार १५ यता नेप्से वृद्धि भइरहेको छ ।
गत साता वाणिज्य बैंकको सेयरमा आकर्षण देखिएको छ । बैंकिङ समूह सबैभन्दा धेरै ३.६७ प्रतिशत बढेको एनपीस्टक्सले जनाएको छ । अन्य उपसमूह २.६०, लघुवित्त १.६१, लगानी १.४३, उत्पादन तथा प्रशोधन १.१६ प्रतिशतले बढेको छ । गत साता जीवन बिमा सबैभन्दा बढी १.८० प्रतिशतले घट्यो । जलविद्युत् १.१८, निर्जीवन बिमा १.०३, विकास बैंक शून्य दशमलव ४९ र व्यापार शून्य दशमलव १९ प्रतिशतले घट्यो । गत साता फाइनान्स समूह स्थिर रह्यो ।
नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याएको सेयर बजारमैत्री मौद्रिक नीतिलाई बजारले सकारात्मक प्रभाव पर्ने जानकार बताउँछन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यक्तिगत सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ । सेयर लगानीकर्ताहरूले व्यक्तिगत सेयर धितो कर्जाको सीमा हटाउन माग गर्दै आएकामा राष्ट्र बैंकले बढाएको छ ।
मौद्रिक नीतिमा आएको व्यवस्थाले सेयर बजारमा उत्साह जगाउने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालको भनाइ छ । ‘सेयर धितो कर्जाको सीमा हटाउन भनेका थियौं, त्यो नहटाए पनि सीमा बढाएकाले यसले समग्र सेयर बजारमा सकारात्मक प्रभाव पार्छ,’ उनले भने, ‘सेयर कर्जाको सीमा बढाउँदा धेरै राहत मिल्छ ।’
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्नेसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने जनाएको छ । ‘लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश पुनरावलोकनलाई बढाउने रूपमा हामीले बुझेका छौं,’ ढकालले भने, ‘यसले लगानीकर्तालाई फाइदा गर्छ । सेयर बजार बढाउन सघाउँछ ।’
गत साता रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बिमा अगाडि रह्यो । नेपाल पुनर्बिमाको २ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, बुटवल पावर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, राधी विद्युत् कम्पनी, साहस ऊर्जा, ङादी ग्रुप पावर, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स, सानिमा माई हाइड्रोपावर अगाडि रहे ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १ अर्ब ६१ करोड, बुटवल पावरको १ अर्ब ५१ करोड, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको १ अर्ब ४८ करोड, राधी विद्युत् कम्पनीको १ अर्ब १४ करोड, साहस ऊर्जाको १ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ ।
गत साता सेयर मूल्य कमाउने कम्पनीमा भगवती हाइड्रोपावर, माईखोला हाइड्रोपावर, सामुदायिक लघुवित्त, मान्डु हाइड्रोपावर, शुभम् पावर, माथिल्लो मैलुङ खोला, समता घरेलु लघुवित्त, रिभर फल्स पावर, माछापुच्छ्रे बैंक र बुटवल पावर रहे । सेयर मूल्य गुमाउनेमा ग्रिन डेभलपमेन्ट बैंक, राप्ती हाइड्रो एन्ड जनरल कन्सट्रक्सन, रसुवागढी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, पिपुल्स् पावर, युनियन हाइड्रोपावर, खानीखोला माई हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, तुलसी जलविद्युत्, विन्दाबासिनी हाइड्रोपावर रह्यो ।
गत साता कुन समूह बढे, कुन समूह घटे ?
बैंकिङ समूह : ३.६७ प्रतिशत
अन्य उपसमूह : २.६० प्रतिशत
लघुवित्त : १.६१ प्रतिशत
लगानी : १.४३ प्रतिशत
उत्पादन तथा प्रशोधन : १.१६ प्रतिशत
जीवन बिमा : –१.८० प्रतिशत
जलविद्युत् : –१.१८ प्रतिशत
निर्जीवन बिमा : –१.०३ प्रतिशत
विकास बैंक : शून्य दशमलव ४९ प्रतिशत
व्यापार : –शून्य दशमलव १९ प्रतिशत
