काठमाडौँ — साताको अन्तिम कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक २५.८९ अंकले बढेको छ । शून्य दशमलव ९५ प्रतिशतले बढेर २ हजार ७ सय ३१ दशमलव ८० बिन्दुमा उक्लिएको हो । कुल १ सय ६१ कम्पनीको सेयर मूल्य बढ्यो भने ८७ कम्पनीको मूल्य घट्यो ।
कुल ८८ हजार ६ सय १५ पटकको किनबेचबाट ९ अर्ब ६८ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । बुधबारको तुलनामा बिहीबार कारोबार रकम पनि बढेको छ । बुधबार २२.०४ अंकले नेप्से बढ्दा ७ अर्ब ४५ करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो । बिहीबार ९ अर्ब ६८ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बिहीबार कुल २ करोड ६४ लाख ७० हजार ८ सय ४० कित्ता सेयर किनबेच भए । यस दिन जलविद्युत् र व्यापारबाहेक बाँकी उपसमूह बढ्यो । जलविद्युत् ७.९२ र व्यापार २२.४८ अंकले घटेको छ । लघुवित्त उपसमूह ७१.२०, विकास बैंक ६२.६२, बैंकिङ ४२.७२, निर्जीवन बिमा ३४.९७ अंकले बढेको छ । माईखोला हाइड्रोपावरको ८.१५, मान्डु हाइड्रोपावरको ६.७६, समता घरेलु लघुवित्तको ६.५७, भगवती हाइड्रो डेभलपमेन्ट कम्पनीको ६.५२ र सानिमा बैंकको ४.८० प्रतिशतले सेयर मूल्य बढ्यो ।
यसैगरी कर्पोरेट डेभलपमेन्टको ९.९२, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ६.४७, सिन्धु विकास बैंकको ४.३९, पञ्चकन्या माई हाइड्रोपावरको ४.३५ र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३.६७ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, बुटवल पावर कम्पनी, सानिमा बैंक, सप्तकोशी विकास बैंक, सीईडीबी होल्डिङ्स अघि रहे । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५७ करोड ५ लाख, बुटवल पावर कम्पनीको ३२ करोड ७३ लाख, सानिमा बैंकको २६ करोड ३४ लाख, सप्तकोशी विकास बैंकको १९ करोड ८५ लाख र सीईडीबी होल्डिङ्सको १९ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ ।
नेप्से बढ्दा बिहीबार एकै दिन सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा ४३ अर्ब १४ करोड ४५ लाख रुपैयाँले वृद्धि भएको छ । बुधबार ४५ खर्ब ८ अर्ब ४२ करोड ८२ लाख रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार बढेर ४५ खर्ब ५१ अर्ब ५७ करोड रुपैयाँमा कायम भएको छ ।
