वीरगन्जबाट भित्रिन थाल्यो जीटुजीको युरिया

भारत सरकारले अन्तर्राष्ट्रिय मल आपूर्तिकर्ता कम्पनी आदित्य बिरलालाई यो कन्साइन्मेन्टको मल आपूर्ति ठेक्का दिएको थियो, उसले तेस्रो मुलुकबाट मल ल्याएको हो

असार २६, २०८२

शंकर आचार्य

Jituji's urea started coming in from Birganj

पर्सा — सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट खरिद गरिएको कृषि सामग्री कम्पनीको युरिया मल नेपाल भित्रिन थालेको छ । नेपाल सरकारले टेन्डर प्रक्रियाबाट नभई भारत सरकारसँग सोझै यो मल किनेको हो । 

कोलकाता बन्दरगाहबाट २ हजार ५ सय टन मल बोकेर आएको यो कन्साइन्मेन्टको पहिलो र्‍याक मंगलबार वीरगन्जको छिमेकी भारतीय सहर रक्सौल रेलवे स्टेसन आइपुगेको हो ।

बुधबारदेखि ट्रकबाट ढुवानी गरी वीरगन्जस्थित कम्पनीको प्रादेशिक कार्यालयको गोदाममा भित्र्याउन थालिएको वीरगन्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले जनाए । ‘बुधबार दिउँसो ३ बजेसम्ममा कम्तीमा २५ ट्रक युरिया मल हाम्रो गोदाममा भण्डारण भइसकेको छ,’ उनले भने, ‘रक्सौल र वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा एक/दुई दिनको अन्तरमा मल निरन्तर भित्रिने सम्भावना छ ।’ 

भारत सरकारले अन्तर्राष्ट्रिय मल आपूर्तिकर्ता कम्पनी आदित्य बिरलालाई यो कन्साइन्मेन्टको मल आपूर्ति ठेक्का दिएको थियो । उसले तेस्रो मुलुकबाट मल ल्याएको हो । नेपाल सरकारले हाल बर्खे धान बाली सिजनलाई लक्ष्य गरी यो मल ल्याएको हो । 

जीटुजीको ३० हजार टन युरियामध्ये कम्पनी मधेश प्रादेशिक कार्यालयले ११ हजार ५ सय, भैरहवा प्रादेशिक कार्यालयले १० हजार टन र विराटनगर प्रादेशिक कार्यालयले ८ हजार ५ सय टन मल पाउनेछन् । रोपाइँको मुख्य सिजनमै मल भित्रिन थालेकाले यस वर्ष कार्यालयलाई मलको आन्तरिक व्यवस्थापनमा समस्या नहुने पाण्डेको दाबी छ । 

साउन पहिलो सातादेखि आदित्य बिरला कम्पनी आयातकर्ता रहेको अर्को कन्साइन्मेन्टअन्तर्गत डीएपी मल पनि भित्रिने सम्भावना रहेकाले किसानलाई यस वर्ष डीएपी मल पनि समयमै दिन पाइने उनले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully