अस्ट्रेलियामा युवा अर्थशास्त्री सम्मेलन, नेपालसहित ११ देश सहभागी

असार २४, २०८२

कान्तिपुर संवाददाता

Young Economist Conference in Australia, 11 countries including Nepal participated

काठमाडौँ — अस्ट्रेलियामा आयोजित 'अस्ट्रेलियन अर्थशास्त्र ओलम्पियाड-२०२५' मा नेपालका पाँच युवा विद्यार्थी सहभागी भएका छन् ।

युनिभर्सिटी अफ न्यु साउथ वेल्सले आयोजना गरेको यो कार्यक्रम सिड्नीमा जुलाई २ देखि ७ सम्म चलेको थियो । नेपाली विद्यार्थीले प्रस्तुत गरेको नेपाल सरकारको कृषि नीतिमा आत्मनिर्भरता अभिवृद्धिसम्बन्धी केस स्टडीलाई निर्णायकले निकै रुचाएका थिए ।

यस सम्मेलनका लागि नेपाल इकोनोमिक्स ओलम्पियाड (एनईओ)बाट पाँच विद्यार्थी छनोट भएका थिए । टोलीको नेतृत्व एनईओकै अध्यक्ष अर्जुन सापकोटाले गरेका थिए । टोलीमा काठमाडौँको सेन्ट जेभियर्स कलेजका रघुवीर श्रेष्ठ र जानवी लामिछाने, ललितपुरको प्रिमियर इन्टरनेसनल स्कुलका सुभम बजगाई, हेटौंडाका विनायक श्रेष्ठ र धनगढीको एसपीए कलेजकी नितिका अवस्थी सहभागी थिए ।

सम्मेलनमा नेपाली विद्यार्थीले नीति विश्लेषणअन्तर्गत ‘नेपाल सरकारको कृषि नीतिमा आत्मनिर्भरता बढाउने’ विषयमा अध्ययन प्रस्तुत गरेका थिए । सो अध्ययनले किसानका समस्या समाधान गर्ने, ऋण पाउन सजिलो बनाउने र अनुदानमा पारदर्शिता कायम गर्नुपर्ने जस्ता सुझाव दिएको थियो । निर्णायकले यसको प्रशंसा गरेका थिए । युनिभर्सिटी अफ न्यु साउथ वेल्सकी प्रोफेसर गिगी फोस्टरले नेपाली टोलीको गहिरो विश्लेषण र व्यावहारिक सुझाव निकै राम्रो भएको प्रतिक्रिया दिएकी थिइन् । 

नेपाल इकोनोमिक्स ओलम्पियाले सन् २०१९ देखि नेपालमा माध्यमिक विद्यालयका विद्यार्थीमाझ अर्थशास्त्रसम्बन्धी ओलम्पियाड आयोजना गर्दै आएको छ । प्रत्येक वर्ष दुई हजारभन्दा बढी विद्यार्थी क्षेत्रीय र राष्ट्रिय प्रतियोगितामा भाग लिने गरेको विज्ञप्तिमा उल्लेख छ । तीमध्ये उत्कृष्ट पाँचलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट गरिन्छ ।

नेपाल इकोनोमिक्स ओलम्पिया अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडको आधिकारिक साझेदार रहेको विज्ञप्तिमा उल्लेख छ । नेपाल इकोनोमिक्स ओलम्पियाबाट छानिएको नेपाली टोली जुलाई २० मा अजरबैजानको बाकुमा हुने अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिन जाँदै छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully