कालिका कालीगण्डकीमा जुट्यो लगानी

कृषि विकास बैंकको नेतृत्व र सिटिजन्स बैंकको सह–नेतृत्वमा प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, संग्रिला विकास बैंक, हाइड्रो हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले लगानी गर्ने 

असार २४, २०८२

कान्तिपुर संवाददाता

Investment gathered in Kalika Kaligandaki

काठमाडौँ — मौलाकालिका हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४७.७ मेगावाटको कालिका कालीगण्डकी जलविद्युत् आयोजनामा लगानी जुटेको छ । कृषि विकास बैंकको नेतृत्व र सिटिजन्स बैंकको सह–नेतृत्वमा प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, संग्रिला विकास बैंक, हाइड्रो हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले लगानी गर्ने भएका छन् । 

आयोजनाको कुल लागत १० अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको छ । त्यसमध्ये ७५ प्रतिशत अर्थात् ७ अर्ब ६० करोड रुपैयाँ बैंकहरूले लगानी गर्नेछ । बाँकी २५ प्रतिशत प्रवर्द्धकहरूले नै गर्नेछन् । आगामी २०८४ सम्म आयोजना निर्माण गरिसक्ने लक्ष्य छ । तनहुँ र नवलपुरबीच भएर बग्ने कालीगण्डकी नदीमा बाँध बाँधिने र त्यसको ठीक मुनि विद्युत् गृह हुने कम्पनीले जनाएको छ । कम्पनीले ३००.२२ घनमिटर प्रतिसेकेन्ड पानी प्रयोग गर्ने र १९.७४ मिटर उचाइबाट पानी खसालेर बिजुली उत्पादन गर्ने बताएको छ ।

आयोजनाबाट उत्पादित बिजुली भरतपुरको आँपटारीस्थित नेपाल विद्युत् प्राधिकरणको २२०/१३२ केभी न्यु भरतपुर सबस्टेसनमा जोडिनेछ । मौलाकालिका जलविद्युत् कम्पनीले ऊर्जा क्षेत्रमा लगानी गरेर सरकारको लक्ष्य पूरा गर्न सहयोग गरेको ऊर्जा सचिव सुरेश आचार्यको भनाइ छ । ‘ऊर्जा मार्गचित्र मा २०३५ सम्म २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ,’ उनले भने, ‘लगानी गरी बैंकहरूले समेत सरकारको लक्ष्यलाई सहयोग पुर्‍याएको छ ।’

कम्प्याक्ट मोडलमा पहिलो पटक आयोजना निर्माण सुरु भएकाले नेपालमा फरक किसिमको हुन सक्ने विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले बताए । ‘नयाँ मोडलमा काम गर्दा धेरै चुनौती तथा समस्या आउन सक्छन्, त्यसको अध्ययन गर्नुभएकै होला,’ उनले भने, ‘समयमै आयोजना निर्माण पूरा गर्नुहोला ।’

नेपालमा ठूला आयोजना समयमा नसकिने र वर्षौं समय लाग्ने गरेको धितालले जनाए । प्रवर्द्धकहरूलाई शंका नहुने गरी नियमनका उपकरणहरू स्थिर बनाउनेसमेत उनको दाबी छ । पम्प स्टोरेजको महसुल दरबारे आयोगले अध्ययन गरिररहेको र प्रवर्द्धकहरूसँग छलफलसमेत गरिने उनले जनाए । यो ऊर्जा परियोजना मात्र नभई पर्यटन, कृषि र भौतिक पूर्वाधारमा विकास गर्ने कम्पनीका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully