नेपालमा १ सय ४८ जातका चामल : सहरमा रैथाने चामल खाने रहर

डिपार्टमेन्ट स्टोर, हाटबजारदेखि अनलाइन माध्यमसम्मले रैथाने चामल बिक्री गरिरहे पनि उनीहरूले एउटै चामलको मूल्य फरक–फरक राखेका छन्

असार २४, २०८२

राजु चौधरी

148 varieties of rice in Nepal: The desire to eat rice in the city

काठमाडौँ — यति बेला किसान खेतबारीमा व्यस्त छन् । किसानलाई रोपाइँको चटारोले छपक्कै छोपेको छ । किसानले थरीथरीका धानका जात लगाइरहेका छन् । उनीहरूले हाइब्रिडदेखि रैथानेसम्मका जातका धान रोपिरहेका छन् । तर रैथाने चामलको मूल्य भने बजारमा अनलाइन सपिङदेखि डिपार्टमेन्ट स्टोरसम्मले फरक–फरक राखेको पाइएको छ । 

जस्तो कि, भाटभटेनीमा जुम्ली मार्सी चामल प्रतिकिलो ३ सय ८० रुपैयाँ मूल्य छ । तर यही चामललाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकिलो २ सय ३० रुपैयाँमा बेचिरहेको छ ।

लोकल चामल नामक अनलाइनले काला नमक चामल प्रतिकिलो ३ सय रुपैयाँ मूल्य राखेको छ । आरएन्डआर फुड सप्लायर्स प्रालिले काला नमकलाई नै प्रतिकिलो २ सय २० रुपैयाँमा बेचिरहेको छ । हाम्रो नेचुरल हबले भने यही चामललाई प्रतिकिलो २ सय २८ रुपैयाँ मूल्य तोकेको छ । 

लोकल चामल अनलाइनले पनि जेठो बूढो चामल प्रतिकिलो ३ सय १० रुपैयाँमा बेचिरहेको छ । हाम्रो नेचुरल हबले भने यही चामललाई प्रतिकिलो २ सय ९० रुपैयाँमै बिक्री गरिरहेको छ । 

पछिल्लो समय डिपार्टमेन्ट स्टोर, हाटबजारदेखि अनलाइन माध्यमसम्मले रैथाने चामल बिक्री गरिरहेका छन् । स्वास्थ्यका विषयमा सर्वसाधारण संवेदनशील भएकाले रैथाने चामलको बिक्री बढिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले बताए । ‘विभिन्न गुण भएकाले रैथाने चामलको माग धेरै छ । खाद्य कम्पनीले पनि जुम्ली मार्सी चामल बिक्री गर्दै आएको छ,’ थापाले भने, ‘तुलनात्मक रूपमा बजार भाउभन्दा खाद्यले सस्तोमा बिक्री गर्दा माग उच्च छ ।’

रैथाने चामलको महत्त्व विशेष भएको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीको भनाइ छ । ‘खाद्य तथा पोषण सुरक्षा, बाली प्रजनन र सुधारका लागि यो महत्त्वपूर्ण मानिन्छ । स्वास्थ्यवर्द्धक पनि भएकाले रैथाने चामल प्रयोग गर्नेको संख्या दिनहुँ बढ्दो छ,’ कृषक समूह महासंघका संस्थापक अध्यक्षसमेत रहेका अधिकारीले भने, ‘उत्पादन थोरै भए पनि माग बढ्दो छ ।’

डोटीको जोरायल बासमती, जुम्लाको मार्सी, कास्कीको जेठो बूढो र अनदी चामल सर्वसाधारणले रुचाएको उनले बताए । तुलनात्मक रूपमा यस्ता चामलको मूल्य बढी नै हुन्छ । काला नमक, समुद्र फिनी, रानी घैया र हुम्लाको चिनो चामल पनि प्रख्यात छन् । 

सरकारले अरू धानको समर्थन मूल्य तोके पनि सबै रैथानेको तोकेको छैन । जसले गर्दा यी चामलको मूल्य अनलाइन र डिपार्टमेन्ट स्टोरपिच्छै फरक पर्छ । कालो चामलको मूल्य प्रतिकिलो ५ सयदेखि ८ सय रुपैयाँ र काला नमक नुनिया चामलको २ सय २५ देखि ३ सय रुपैयाँसम्म पर्छ । समुद्र फिनी चामलको भने प्रतिकिलो २ सय ४० देखि ३ सय र जुम्ली मार्सी चामलको २ सय ३० देखि ३ सय ३८ रुपैयाँसम्म पर्छ । 

जेठो बूढो चामलको मूल्य प्रतिकिलो २ सय ९० देखि ३ सय २० रुपैयाँ, ताइचिन चामल प्रतिकिलो १ सय ४० देखि १७५ रुपैयाँ, बासमती चामल किलोको १ सय ३० देखि ४ सय ३२ रुपैयाँसम्म पर्छ । ‘किसानले मूल्य पाएका छन्, सर्वसाधारणले पनि गुणस्तरीय वस्तु पाएकाले रैथाने चामल रुचाएका छन्,’ रैथाने एग्री प्रोडक्ट्सका अध्यक्ष तिलक ढकालले भने । 

दरबारमार्ग, धापासीलगायत क्षेत्रमा लाग्ने हाटबजारमा समुद्र फिनी चामलको माग उच्च रहेको उनको भनाइ छ । काला नमक र टाइचिन पनि उत्तिकै रुचाइएको चामल रहेको उनले बताए । 

बजारमा हुम्लाको चिनो चामल प्रतिकिलो २ सय ३५ रुपैयाँसम्ममा पाइन्छ । रानी घैया चामल किलोको २ सय ३० रुपैयाँ, हुम्लाको कागुनो चामल प्रतिकिलो २ सय ६० रुपैयाँ, ताइचिन चामल २ सय १५ रुपैयाँ, जिरा मसिनो चामल ब्रान्डअनुसार ९० देखि १ सय ४४ रुपैयाँ, सुसी चामल २ सय ३० रुपैयाँ, अनदी चामल प्रतिकिलो ३ सय ५० रुपैयाँ, पोखरेली चामलको मूल्य प्रतिकिलो १ सय २८ रुपैयाँसम्म पर्छ । 

धानचामल मूल्य बजारले निर्धारण गर्ने बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख केशव देवकोटाले जनाए । बढी फल्ने भएकाले किसानले हाइब्रिडमा रुचि देखाए पनि पछिल्लो समय रैथाने बालीमा पनि मोह बढेको उनको भनाइ छ । ‘सरकारले विभिन्न पालिकासँग मिलेर अनुदान दिएको छ । सरकारसँगै निजी व्यवसायीले पनि खरिद गरेर रैथाने चामल बिक्री गरिदिएका छन,’ देवकोटाले भने, ‘त्यही कारण पनि किसान यतातिर लागेका हुन् ।’

नेपालमा १ सय ४८ जातका धान सूचीकृत वा पञ्जीकृत भएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्यांक छ । यसमध्ये ९४ धानका जात स्वदेशी उत्पादन नै हुन् । ती जातमध्ये २ हाइब्रिड जातका बीउ हुन् ।

१ सय ४८ मध्ये ५४ वटा आयातित धानका जात हुन्, जसमध्ये ४८ वटा हाइब्रिड जातका धानको बीउ छन् । बढी फल्ने लोभमा किसान हाइब्रिड धान लगाउँछन् । तर पछिल्लो समय उनीहरूले रैथाने धान बालीमा रुचि देखाएका छन् । दर्ता भएका रैथाने जातका धानका बीउ एक दर्जनभन्दा बढी छन् । केही रैथाने धानका जात दर्ता नभए पनि किसानले खेती गरिरहेका छन् । 

विश्वका आधाभन्दा बढी जनसंख्याको खानाको मुख्य स्रोत चामल रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । सन् २०२४/२५ मा विश्वभर ५३ करोड ५८ लाख टन चामल उत्पादन हुने अनुमान छ । यसको करिब ९० प्रतिशत उत्पादन र उपभोग एसियामा हुने गरेको मन्त्रालयले जनाएको छ । 

‘धेरै धान उत्पादन चीन, भारत र इन्डोनेसियामा हुन्छ । करिब ६ करोड टन धानको अन्तर्राष्ट्रिय व्यापार हुन्छ,’ मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले भने, ‘सबैभन्दा धेरै निर्यात गर्ने मुलुकमा भारत पर्छ ।’ नेपाल धान उपभोगमा विश्वको १३ औं नम्बरमा पर्छ । उत्पादनमा १७ औं नम्बर र उत्पादकत्वमा ६४ औं स्थानमा रहेको उनले जनाए । नेपालमा आर्थिक वर्ष २०८१/८२ मा बर्खे र चैते दुवै गरी १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यसबाट ५९ लाख ५५ हजार ४ सय ७६ टन उत्पादन भएको थियो । तर अझै १० लाख टन धान अपुग नै छ ।

‘मुलुकका लागि आवश्यक ७० लाख टन धानमध्ये १० लाख टन अपुग छ । जेठ मसान्तसम्म धान, धानको बीउ, चामल र कनिका गरी ७ लाख ५३ हजार टन धानजन्य वस्तु आयात भएको छ । यसबाट ३८ अर्ब ९४ करोड रुपैयाँ विदेशिएको छ,’ कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले भने । 

मलखाद र बीउबिजनको उपलब्धतामा सहयोग र अनुदान, सिँचाइ तथा यन्त्रीकरण, सहुलियतपूर्ण कर्जा तथा बिमालगायतमा मन्त्रालयले सहयोग गर्दै आएको छ । तर पनि मागअनुसार उत्पादन हुन सकेको छैन । मुलुकको माग धान्न आयातमै निर्भर हुनुपर्ने बाध्यता छ ।

कुन चामलको मूल्य कति ? 

चामलको नाममूल्य (प्रति किलो)
कालो चामलरु ५०० – ८००
काला नमक/नुनियारु २२५ – ३००
समुद्र फिनीरु २४० – ३००
जुम्लाको मार्सीरु २३० – ३३८
जेठो बूढोरु २९० – ३२०
ताइचिनरु १४० – १७५
जिरा मसिनोरु ९० – १४४
हुम्लाको चिनोरु २३५ सम्म
सुसीरु २३० सम्म
अनदीरु ३५० सम्म
पोखरेलीरु १२८ सम्म
रानी घैयारु २३० सम्म

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully