डिपार्टमेन्ट स्टोर, हाटबजारदेखि अनलाइन माध्यमसम्मले रैथाने चामल बिक्री गरिरहे पनि उनीहरूले एउटै चामलको मूल्य फरक–फरक राखेका छन्
काठमाडौँ — यति बेला किसान खेतबारीमा व्यस्त छन् । किसानलाई रोपाइँको चटारोले छपक्कै छोपेको छ । किसानले थरीथरीका धानका जात लगाइरहेका छन् । उनीहरूले हाइब्रिडदेखि रैथानेसम्मका जातका धान रोपिरहेका छन् । तर रैथाने चामलको मूल्य भने बजारमा अनलाइन सपिङदेखि डिपार्टमेन्ट स्टोरसम्मले फरक–फरक राखेको पाइएको छ ।
जस्तो कि, भाटभटेनीमा जुम्ली मार्सी चामल प्रतिकिलो ३ सय ८० रुपैयाँ मूल्य छ । तर यही चामललाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकिलो २ सय ३० रुपैयाँमा बेचिरहेको छ ।
लोकल चामल नामक अनलाइनले काला नमक चामल प्रतिकिलो ३ सय रुपैयाँ मूल्य राखेको छ । आरएन्डआर फुड सप्लायर्स प्रालिले काला नमकलाई नै प्रतिकिलो २ सय २० रुपैयाँमा बेचिरहेको छ । हाम्रो नेचुरल हबले भने यही चामललाई प्रतिकिलो २ सय २८ रुपैयाँ मूल्य तोकेको छ ।
लोकल चामल अनलाइनले पनि जेठो बूढो चामल प्रतिकिलो ३ सय १० रुपैयाँमा बेचिरहेको छ । हाम्रो नेचुरल हबले भने यही चामललाई प्रतिकिलो २ सय ९० रुपैयाँमै बिक्री गरिरहेको छ ।
पछिल्लो समय डिपार्टमेन्ट स्टोर, हाटबजारदेखि अनलाइन माध्यमसम्मले रैथाने चामल बिक्री गरिरहेका छन् । स्वास्थ्यका विषयमा सर्वसाधारण संवेदनशील भएकाले रैथाने चामलको बिक्री बढिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले बताए । ‘विभिन्न गुण भएकाले रैथाने चामलको माग धेरै छ । खाद्य कम्पनीले पनि जुम्ली मार्सी चामल बिक्री गर्दै आएको छ,’ थापाले भने, ‘तुलनात्मक रूपमा बजार भाउभन्दा खाद्यले सस्तोमा बिक्री गर्दा माग उच्च छ ।’
रैथाने चामलको महत्त्व विशेष भएको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीको भनाइ छ । ‘खाद्य तथा पोषण सुरक्षा, बाली प्रजनन र सुधारका लागि यो महत्त्वपूर्ण मानिन्छ । स्वास्थ्यवर्द्धक पनि भएकाले रैथाने चामल प्रयोग गर्नेको संख्या दिनहुँ बढ्दो छ,’ कृषक समूह महासंघका संस्थापक अध्यक्षसमेत रहेका अधिकारीले भने, ‘उत्पादन थोरै भए पनि माग बढ्दो छ ।’
डोटीको जोरायल बासमती, जुम्लाको मार्सी, कास्कीको जेठो बूढो र अनदी चामल सर्वसाधारणले रुचाएको उनले बताए । तुलनात्मक रूपमा यस्ता चामलको मूल्य बढी नै हुन्छ । काला नमक, समुद्र फिनी, रानी घैया र हुम्लाको चिनो चामल पनि प्रख्यात छन् ।
सरकारले अरू धानको समर्थन मूल्य तोके पनि सबै रैथानेको तोकेको छैन । जसले गर्दा यी चामलको मूल्य अनलाइन र डिपार्टमेन्ट स्टोरपिच्छै फरक पर्छ । कालो चामलको मूल्य प्रतिकिलो ५ सयदेखि ८ सय रुपैयाँ र काला नमक नुनिया चामलको २ सय २५ देखि ३ सय रुपैयाँसम्म पर्छ । समुद्र फिनी चामलको भने प्रतिकिलो २ सय ४० देखि ३ सय र जुम्ली मार्सी चामलको २ सय ३० देखि ३ सय ३८ रुपैयाँसम्म पर्छ ।
जेठो बूढो चामलको मूल्य प्रतिकिलो २ सय ९० देखि ३ सय २० रुपैयाँ, ताइचिन चामल प्रतिकिलो १ सय ४० देखि १७५ रुपैयाँ, बासमती चामल किलोको १ सय ३० देखि ४ सय ३२ रुपैयाँसम्म पर्छ । ‘किसानले मूल्य पाएका छन्, सर्वसाधारणले पनि गुणस्तरीय वस्तु पाएकाले रैथाने चामल रुचाएका छन्,’ रैथाने एग्री प्रोडक्ट्सका अध्यक्ष तिलक ढकालले भने ।
दरबारमार्ग, धापासीलगायत क्षेत्रमा लाग्ने हाटबजारमा समुद्र फिनी चामलको माग उच्च रहेको उनको भनाइ छ । काला नमक र टाइचिन पनि उत्तिकै रुचाइएको चामल रहेको उनले बताए ।
बजारमा हुम्लाको चिनो चामल प्रतिकिलो २ सय ३५ रुपैयाँसम्ममा पाइन्छ । रानी घैया चामल किलोको २ सय ३० रुपैयाँ, हुम्लाको कागुनो चामल प्रतिकिलो २ सय ६० रुपैयाँ, ताइचिन चामल २ सय १५ रुपैयाँ, जिरा मसिनो चामल ब्रान्डअनुसार ९० देखि १ सय ४४ रुपैयाँ, सुसी चामल २ सय ३० रुपैयाँ, अनदी चामल प्रतिकिलो ३ सय ५० रुपैयाँ, पोखरेली चामलको मूल्य प्रतिकिलो १ सय २८ रुपैयाँसम्म पर्छ ।
धानचामल मूल्य बजारले निर्धारण गर्ने बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र प्रमुख केशव देवकोटाले जनाए । बढी फल्ने भएकाले किसानले हाइब्रिडमा रुचि देखाए पनि पछिल्लो समय रैथाने बालीमा पनि मोह बढेको उनको भनाइ छ । ‘सरकारले विभिन्न पालिकासँग मिलेर अनुदान दिएको छ । सरकारसँगै निजी व्यवसायीले पनि खरिद गरेर रैथाने चामल बिक्री गरिदिएका छन,’ देवकोटाले भने, ‘त्यही कारण पनि किसान यतातिर लागेका हुन् ।’
नेपालमा १ सय ४८ जातका धान सूचीकृत वा पञ्जीकृत भएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रको तथ्यांक छ । यसमध्ये ९४ धानका जात स्वदेशी उत्पादन नै हुन् । ती जातमध्ये २ हाइब्रिड जातका बीउ हुन् ।
१ सय ४८ मध्ये ५४ वटा आयातित धानका जात हुन्, जसमध्ये ४८ वटा हाइब्रिड जातका धानको बीउ छन् । बढी फल्ने लोभमा किसान हाइब्रिड धान लगाउँछन् । तर पछिल्लो समय उनीहरूले रैथाने धान बालीमा रुचि देखाएका छन् । दर्ता भएका रैथाने जातका धानका बीउ एक दर्जनभन्दा बढी छन् । केही रैथाने धानका जात दर्ता नभए पनि किसानले खेती गरिरहेका छन् ।
विश्वका आधाभन्दा बढी जनसंख्याको खानाको मुख्य स्रोत चामल रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । सन् २०२४/२५ मा विश्वभर ५३ करोड ५८ लाख टन चामल उत्पादन हुने अनुमान छ । यसको करिब ९० प्रतिशत उत्पादन र उपभोग एसियामा हुने गरेको मन्त्रालयले जनाएको छ ।
‘धेरै धान उत्पादन चीन, भारत र इन्डोनेसियामा हुन्छ । करिब ६ करोड टन धानको अन्तर्राष्ट्रिय व्यापार हुन्छ,’ मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले भने, ‘सबैभन्दा धेरै निर्यात गर्ने मुलुकमा भारत पर्छ ।’ नेपाल धान उपभोगमा विश्वको १३ औं नम्बरमा पर्छ । उत्पादनमा १७ औं नम्बर र उत्पादकत्वमा ६४ औं स्थानमा रहेको उनले जनाए । नेपालमा आर्थिक वर्ष २०८१/८२ मा बर्खे र चैते दुवै गरी १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । यसबाट ५९ लाख ५५ हजार ४ सय ७६ टन उत्पादन भएको थियो । तर अझै १० लाख टन धान अपुग नै छ ।
‘मुलुकका लागि आवश्यक ७० लाख टन धानमध्ये १० लाख टन अपुग छ । जेठ मसान्तसम्म धान, धानको बीउ, चामल र कनिका गरी ७ लाख ५३ हजार टन धानजन्य वस्तु आयात भएको छ । यसबाट ३८ अर्ब ९४ करोड रुपैयाँ विदेशिएको छ,’ कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले भने ।
मलखाद र बीउबिजनको उपलब्धतामा सहयोग र अनुदान, सिँचाइ तथा यन्त्रीकरण, सहुलियतपूर्ण कर्जा तथा बिमालगायतमा मन्त्रालयले सहयोग गर्दै आएको छ । तर पनि मागअनुसार उत्पादन हुन सकेको छैन । मुलुकको माग धान्न आयातमै निर्भर हुनुपर्ने बाध्यता छ ।
कुन चामलको मूल्य कति ?
| चामलको नाम | मूल्य (प्रति किलो) |
|---|---|
| कालो चामल | रु ५०० – ८०० |
| काला नमक/नुनिया | रु २२५ – ३०० |
| समुद्र फिनी | रु २४० – ३०० |
| जुम्लाको मार्सी | रु २३० – ३३८ |
| जेठो बूढो | रु २९० – ३२० |
| ताइचिन | रु १४० – १७५ |
| जिरा मसिनो | रु ९० – १४४ |
| हुम्लाको चिनो | रु २३५ सम्म |
| सुसी | रु २३० सम्म |
| अनदी | रु ३५० सम्म |
| पोखरेली | रु १२८ सम्म |
| रानी घैया | रु २३० सम्म |
