चक्रपथ दोस्रो खण्डको सर्भे सकियो, पाँच महिनाभित्र ठेक्का लगाइँदै

डिजाइन आएपछि सडक विभागले एक महिनाभित्र हेरेर थपघट गर्नुपर्ने विषय समावेश गरी चीन पठाउने 

असार २३, २०८२

विमल खतिवडा

Survey of ring road second section completed, contract awarded within five months

काठमाडौँ — चिनियाँ प्राविधिक टोलीले चक्रपथ दोस्रो खण्ड सर्भे सकेको छ । साढे दुई महिना लगाएर सर्भे सकिएको सडक विभागले जनाएको छ । यसका लागि प्राविधिक टोली गत ६ वैशाखमा नेपाल आएको थियो । 

टोलीले कलंकीदेखि वसुन्धरा कल्भर्टसम्मको ८.२ किलोमिटरमा सर्भे गरेको छ । प्राविधिक टोली चीन फर्किएको तीन महिनाभित्र डिजाइन रिपोर्ट आउने विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनप्रसाद अर्यालले बताए । ‘अध्ययन गर्न आएको टोली एक साताभित्र चीन फर्कंदै छ,’ उनले भने । 

डिजाइन आएपछि सडक विभागले एक महिनाभित्र हेरेर थपघट गर्नुपर्ने विषय समावेश गरी स्वीकृत गरेर पठाइने अर्यालले जनाए । ‘पाँच महिनाभित्र ठेक्का आह्वान गर्ने योजना छ, जुन चीनमै हुन्छ,’ उनले भने, ‘उतैबाट छनोट भएर आएको निर्माण कम्पनीले विस्तार थाल्छ ।’ चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङका १८ जना प्राविधिक सर्भे गर्न खटिएका थिए । 

माछापोखरी चोकमा ट्राफिक जाम हुने भएकाले फ्लाइओभर निर्माण गर्ने गरी सर्भे गरिएको अर्यालको भनाइ छ । कहाँ–कहाँ बस रोक्न मिल्ने हो, त्यो ठाउँ तोकेर डिजाइनमा राखिएको छ । वनस्थली नजिकको ढुंगेधारामा कल्भर्टको ठाउँमा पुल बनाउन प्रस्ताव गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकालले बताए । ‘दायाँ–बायाँबाट क्रसिङ गर्न मिल्ने बाटो निकाल्ने गरी पुलको लम्बाइ कायम गर्न चिनियाँ प्राविधिकलाई अनुरोध गरेका छौं,’ उनले भने । 

अहिले कलंकीदेखि सीतापाइलासम्म चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा दुई लेन सडक छ । अब विस्तार गर्दा सर्भिस लेनबाहेक आठ लेन सडक बन्नेछ । गत भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएको थियो । कोटेश्वर–कलंकी पहिलो खण्डको काम भने २०६९ मा सुरु भई २०७५ मा सकिएको थियो । कलंकीदेखि वसुन्धरा कल्भर्टसम्म विस्तार गर्न भनेर चीनसँग सन् २०१८ मा जीटूजी सम्झौता भएको थियो । त्यहीअनुसार अहिले चीन सरकारको अनुदानमा विस्तार गर्न लागिएको हो । 

यस्तै, चक्रपथ तेस्रो खण्ड विस्तारअन्तर्गत नारायणगोपाल चोकबाट चप्पल कारखाना खण्डको निर्माण गति घटेको छ । असारभित्रै काम सक्ने भनिए पनि अहिलेसम्म प्रगति ३५ प्रतिशत मात्र छ । एकतर्फी सडक कालोपत्र गर्न बेस र सबबेस राख्ने काम भइरहेको सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले जनाए । 

‘असारसम्म एकतर्फी सडक कालोपत्र सक्ने गरी काम गरिरहेका छौं,’ भण्डारीले भने, ‘बर्खा लाग्यो, त्यसैले योजनाअनुसार काम गर्न सकिएको छैन, अब दसैंसम्म यो खण्ड बनिसक्छ ।’ अहिले नाली, कल्भर्ट र वाल निर्माणको काम भइरहेको छ । कलंकी–वसुन्धरा खण्ड चीन सरकारको अनुदानमा बनाउने भनिए पनि ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा यस खण्डको विस्तार थालेको हो । उक्त खण्डको ७ सय मिटरमा सडक विस्तारको ठेक्का अम्बुजा/एसके/काली जेभीले लिएका छन् । 

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully