नेप्से २.४० अंकले बढ्दा १६२ कम्पनीको सेयर मूल्य घट्यो

असार २३, २०८२

कान्तिपुर संवाददाता

Share prices of 162 companies declined as NEPSE increased by 2.40 points

काठमाडौँ — साताको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ४० अंकले बढ्दा पनि १६२ कम्पनीको सेयर मूल्य घटेको छ । नेप्से बिन्दु २७ सय ६ दशमलव ३६ बिन्दुमा उक्लिएको छ । पछिल्लो ५ कारोबार दिनयता नेप्से लगातार बढिरहेको छ ।

सबैभन्दा बढी गत बुधबार ३४.४२ अंकले बढेको थियो । नेप्सेका अनुसार आइतबार कुल ८७ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । 

कुल ८७ हजार ३ सय ९८ पटकको सेयर किनबेचबाट ९ अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ । कुल २ करोड ७१ लाख ३२ हजार ३ सय ८ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । कुल १३ उपसमूहमध्ये बैंकिङ, फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष, अन्य र व्यापार उपसमूह मात्रै बढ्यो भने बाँकी उपसमूह घट्यो ।

बढ्ने उपसमूहहरूमा सबैभन्दा बढी अन्य ७०.८६, लगानी ६२.१०, व्यापार ३६.७२ र उत्पादन तथा प्रशोधन ४५.६७ अंकले बढेको छ । घट्ने उपसमूहहरूमा जीवन बिमा, निर्जीवन बिमा, जलविद्युत्, विकास बैंक, होटल तथा पर्यटनलगायत रह्यो । जीवन बिमा १७६.७१ र विकास बैंक ८७.४२ अंकले घटेको छ ।

नेपाल फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ७.३६, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको ५.७०, माथिल्लो हेवा खोलाको ५.१८ र जानकी फाइनान्स कम्पनीको ४.९१ प्रतिशतले सेयर मूल्य बढ्यो । गुडविल फाइनान्स डिबेन्चर (२०८३) को ८.८७, ग्रिन डेभलपमेन्ट बैंकको ८.५८, सिन्धु विकास बैंकको ५.८१, खानीखोला हाइड्रोपावरको ५.४३ र गरिमा समृद्धि योजनाको ४.३५ प्रतिशतले सेयर मूल्य घटेको छ । 

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी, लक्ष्मी सनराइज बैंक संस्थापक सेयर, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट रहे ।

नेपाल रिइन्स्योरेन्स कम्पनीको ४९ करोड ४० लाख, लक्ष्मी सनराइज बैंक संस्थापक सेयरको ३७ करोड ८१ लाख, हिमालयन रिइन्स्योरेन्सको ३४ करोड २४ लाख, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ३२ करोड ८९ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २८ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी जलविद्युत्को ३ अर्ब ३० करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Share prices of 162 companies declined as NEPSE increased by 2.40 points

कान्तिपुर

Link copied successfully