काठमाडौँ — तीन खण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको नागढुंगा–मुग्लिन सडक खण्डमा वर्षाका कारण कालोपत्रको काम रोकिएको छ। अहिले तीन वटै खण्डमा पहिरो व्यवस्थापनको काम भइरहेको छ।
पहिरोको जोखिम मानिएको खण्डमा पहिरो रोकथामको काम भइरहेको सडक विभागले जनाएको छ। तीन मध्ये पहिलो खण्ड नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गतको पहिलो खण्डमा पहिलो तहको कालो पत्रको काम सकिएको छ।
१२.२६ किलो मिटरको पहिलो खण्डमा नागढुंगा–नौबिसे पर्छ। यही खण्डमा दोस्रो तहको कालोपत्र गर्ने काम पनि ५.५ किमि सकिइसकेको छ । तेस्रो तहसम्म सडक कालोपत्र गरिने भए पनि बर्खा अघि यो सम्भव नरहेको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए ।
नागढुंगा–नौबिसे खण्डको समग्र भौतिक प्रगति ८४ प्रतिशत छ । यस खण्डको स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीले लिएका हुन् । यही खण्डको खानीखोलामा पैदलयात्रीका लागि अपाङ्गमैत्री अकासे पुल बनाउन लागिएको प्रमुख केशवप्रसाद ओझाले जनाए ।
झ्याप्ले खोलामा विशेष प्रकृतिको स्लोप स्टेबलाइजेसन (पहिरो नियन्त्रण) को काम भइरहेको छ । यसको काम सकिएपछि मात्र त्यस खण्डमा कालोपत्र गरिनेछ । ‘कालोपत्र गर्ने काम बर्खा अघि गर्ने छैनौँ, बर्खामा सवारी आवागमन सहज बनाउने गरी काम गरिरहेका छौँ,’ उनले भने, ‘ससना खण्डमा मौसम अनुकूल पारेर घाम लागेको बेला मात्र कालोपत्र गरेका छौँ ।’
दोस्रो खण्डमा पर्छ, नौबिसे–मलेखु खण्ड । यसको दूरी ४३.५४ किमि छ । यस खण्डको ठेक्का ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामा जेभीले लिएका हुन् । यसको भौतिक प्रगति ४२ प्रतिशत छ ।
उक्त खण्डमा दुवै तर्फी गरेर १५ किमि सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । यसमा भने दोस्रो तहको कालो पत्रको काम हुन सकेको छैन । बर्खामा कालोपत्र गर्दा टिकाउ नहुने भएकाले नगरिएको प्रमुख ओझाले बताए । यी दुवै खण्डमा बर्खा कम भएपछि भदौ अन्तिमबाट कालो पत्रको काम थालिने योजना कार्यालयले जनायो ।
तेस्रो खण्डमा पर्छ, मलेखु–मुग्लिन । ३८.८६ किमि दूरीको यो खण्डको प्रगति ३१ प्रतिशत छ । शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएका हुन् । १५ पुस २०७९ मा भएको सम्झौताअनुसार पुस २०८२ भित्र काम सक्नुपर्ने हो । बजार क्षेत्रमा चार लेन सडकमा कालोपत्र गरिएको नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपाल बताउँछन् ।
उक्त खण्डमा अहिलेसम्म ८.१४ किमि मात्र सडक कालोपत्र गरिएको छ । ‘बर्खा लाग्यो, अब कालो पत्रको काम हुँदैन,’ उनले भने, ‘अब जोखिम क्षेत्रमा पहिरो रोकथामको काम गर्ने,कालोपत्र गर्न कालागि निर्माण सामाग्री तयारी अवस्थामा राख्ने छौँ ।’
उनका अनुसार बर्खामा कालोपत्र गर्दा गुणस्तरहीन हुने भएकाले रोकिएको हो । ‘बर्खामा कालोपत्र गर्दा टिकाउ हुँदैन,’ उनले भने, ‘अब भदौ अन्तिमबाट मौसम अनुकूल भएपछि कालो पत्रको काम थाल्छौँ ।’ नागढुंगादेखि मुग्लिङसम्मको दूरी ९४.६६ किमि छ । यो खण्ड भएर दैनिक १२ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् ।
