साताको सेयर बजारको आकार पौने दुई खर्ब रुपैयाँले बढ्यो

यो साता सेयर बजारमा कमाएका १० कम्पनीको सूचीमा ४, गुमाएका कम्पनीको सूचीमा ८ र  कारोबार रकमका आधारमा उच्च कारोबार गर्ने १० कम्पनीको सूचीमा समेत ९ वटा जलविद्युत् कम्पनी

असार २१, २०८२

कान्तिपुर संवाददाता

The size of the stock market in the week increased by two billion rupees

काठमाडौँ — यो साता समग्र सेयर कारोबार मापक नेप्से परिसूचक १०८.२२ अंकले बढ्दा २ सय १९ कम्पनीको सेयर मूल्य बढ्यो भने २९ कम्पनीको मूल्य घट्यो । यो साता जीवन बिमा, फाइनान्स, विकास बैंक, जीवन बिमा लगायतमा जलविद्युत्, फाइनान्स, होटल तथा पर्यटन, अन्य र लगानी उपसमूहमा लगानीकर्ताहरूको आकर्षण रह्यो ।

जीवन बिमा उपसमूह ८.५०, फाइनान्स ७.३८, विकास बैंक ७.२६ र निर्जीवन बिमा ७.०२ प्रतिशतले बढ्यो । बैंकिङ ५.२५, लघुवित्त ५.१६, लगानी २.९८ प्रतिशतले बढेको एनपीस्टक्सले जनाएको छ । सबैभन्दा कम व्यापार उपसमूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ ।

अघिल्ला साताहरूमा जस्तै यस साता पनि सेयर बजारमा जलविद्युत् कम्पनीहरूकै वर्चस्व रह्यो । यो साता सेयर बजारमा कमाएका १० कम्पनीको सूचीमा ४, गुमाएका कम्पनीको सूचीमा ८ र कारोबार रकमका आधारमा उच्च कारोबार गर्ने १० कम्पनीको सूचीमा समेत ९ वटा जलविद्युत् कम्पनी नै रहे । 

सेयर बजारमा कमाएका जलविद्युत् कम्पनीमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन र खानीखोला हाइड्रोपावर, भूगोल इनर्जी र विन्ध्यवासिनी हाइड्रोपावर रहे । यस्तै सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स, नेपाल फाइनान्स, विन नेपाल लघुवित्त र धौलागिरी लुघवित्तका लगानीकर्ताको सेयर मूल्य यो साता बढ्यो । एनपी स्टक्सका अनुसार राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको २६.२२, सिन्धु विकास बैंकको २३.७५, ग्रिन डेभलपमेन्ट बैंकको २३.५८, खानीखोला हाइड्रोपावरको १८.२१ प्रतिशतले सेयर मूल्य बढ्यो । नेपाल इन्स्योरेन्सको १७.८१, भूगोल इनर्जी डेभलपमेन्टको १४.८१, नेपाल फाइनान्सको १४.७२, विन नेपाल लघुवित्तको १४.५०, विन्ध्यवासिनी हाइड्रोपावरको १३.०२ र धौलागिरी लघुवित्तको १२.५८ प्रतिशतले लगानीकर्ताहरूको सम्पत्तिको मूल्य बढेको छ । 

यो साता मूल्य गुमाएका कम्पनीहरूको सूचीमा समेत जलविद्युत्कै वर्चस्व रह्यो । सबैभन्दा धेरै मध्य सोलु हाइड्रोपावर, बुटवल पावर, कालिका पावर कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, ग्रिनलाइफ हाइड्रोपावर, मायाखोला हाइड्रोपावरको सेयर मूल्य घटेको छ । मध्य सोलु हाइड्रोपावरको ५.६९, बुटवल पावरको ५.०३, कालिका पावर कम्पनीको ४.६३, पञ्चकन्या माई हाइड्रोपावरको ४.०९, जोशी हाइड्रोपावरको ३.९२, हिमालयन पावर पार्टनरको ३.७९, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ३.३० ग्रिनलाइफ हाइड्रोपावरको ३.२२, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको २.६८ र मायाखोला हाइड्रोपावरको २.२८ प्रतिशतले सेयर मूल्य घट्यो । यो साता यी कम्पनीका लगानीकर्ताले आफ्नो सम्पत्तिको मूल्य गुमाए ।

कारोबार रकमका आधारमा पनि जलविद्युत् कम्पनीहरूकै वर्चस्व रह्यो । यो साता साहस ऊर्जाको सर्वाधिक कारोबार भयो । सातामा साहस ऊर्जाको मात्रै १ अर्ब ८२ करोड १ लाख रुपैयाँको कारोबार भएको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १ अर्ब ५६ करोड ९३ लाख, बुटवल पावरको १ अर्ब ५२ करोड ३ लाख, राधी विद्युत् कम्पनीको १ अर्ब ३१ करोड ६८ लाख, सप्तकोशी विकास बैंकको १ अर्ब ३० करोड ३९ लाख, ङादी ग्रुप पावरको १ अर्ब १० करोड ८४ लाख, सानिमा माई हाइड्रोपावरको १ अर्ब ८ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनियन हाइड्रोपावरको १ अर्ब १ करोड ३६ लाख, बरुण हाइड्रोपावरको ९० करोड ९० लाख र युनिभर्सल पावर कम्पनीको ६९ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेप्सेका अनुसार पाँच कारोबार दिनमा ३९ अर्ब ९३ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार ७ अर्ब १२ करोड १७ लाख, सोमबार ६ अर्ब ३८ करोड ७२ लाख, मंगलबार ७ अर्ब ३ करोड ३० लाख, बुधबार ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ कारोबार भएको थियो । बिहीबार ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ कारोबार भएको नेप्सेको तथ्यांक छ ।

नेप्से सातामा १०८.२२ अंकले बढेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा १ खर्ब ८० अर्ब ३० करोड ५६ लाख रुपैयाँले बढेको छ । अघिल्लो बिहीबार ४३ खर्ब ६९ अर्ब १० करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार ४५ खर्ब ५ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण बढ्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा बढी हुनु हो । यही आधारमा पुँजीकरण बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको रूपमा विश्लेषण गरिन्छ ।

सातामा उच्च कारोबार गर्ने कम्पनी

कान्तिपुर संवाददाता

Link copied successfully