लघुवित्तको खराब  कर्जा सवा ७ प्रतिशत

कर्जा पुनःसंरचनाको सुविधा हटेपछि ऋणीमध्ये ४० प्रतिशत नियमित किस्ता तिर्दै, ६० प्रतिशतले नियमित रूपमा साँवा–ब्याज तिर्न सकेनन् 

असार २०, २०८२

कान्तिपुर संवाददाता

Bad loans of microfinance are 7.5 percent

काठमाडौँ — गत चैत मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको खराब कर्जा ७.२५ प्रतिशत पुगेको छ । गत असार मसान्तको तुलनामा यो १.०८ प्रतिशत बिन्दुले बढेको हो । गत असारमा लघुवित्त वित्तीय संस्थाको औसत खराब कर्जा ६.१७ प्रतिशत थियो । 

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको लघुवित्त वित्तीय संस्थाहरूको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनले २०८१ चैत मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपातमा वृद्धि भएको देखाएको हो । यसअनुसार गत चैतसम्म लघुवित्त वित्तीय संस्थाहरूको कुल निष्क्रिय (खराब) कर्जा ३१ अर्ब ५३ करोड रुपैयाँ छ । 

गत चैतसम्म लघुवित्तको कुल कर्जा तथा सापट ४ खर्ब ३४ अर्ब ८६ करोड रुपैयाँ छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निष्क्रिय कर्जाको वृद्धिदर २७.०४ प्रतिशत छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ४६.६४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

गत चैतसम्ममा लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २६ अर्ब २४ करोड पुगेको छ । गत असारको तुलनामा यो २१.२८ प्रतिशतले बढी हो । निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा करिब ५५ प्रतिशतले वृद्वि भई सवा २६ अर्ब पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल कर्जा नोक्सानी व्यवस्था रकम २५.५४ प्रतिशतले बढेको थियो ।

यो गत चैतसम्मको तथ्यांकको तुलनामा अहिले खराब कर्जा बढेर औसतमा १० प्रतिशत हाराहारीमा पुगेको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले बताए । ‘अप्ठ्यारोमा परेका ऋणीको कर्जा पुनर्तालिकीकरण र पुनःसंरचना गर्न पाउने राष्ट्र बैंकले दिएको सुविधा गत पुससम्म कायमै थियो । यसकारण धेरै कर्जा खराब हुन पाएका थिएनन् । राष्ट्र बैंकले त्यति बेलै तथ्यांक संकलन गरेको हो,’ यादवले भने, ‘पुसयता उक्त सुविधा हट्यो, त्यसपछि तीमध्ये धेरै कर्जा खराब बनेका छन् । यसकारण चैतयता खराब कर्जा बढेको हो ।’ 

कर्जा पुनःसंरचनाको सुविधा हटेपछि ती ऋणीमध्ये ४० प्रतिशतले नियमित रूपमा किस्ता तिरिरहेको र बाँकी ६० प्रतिशतले नियमित रूपमा साँवा–ब्याज तिर्न नसकेको यादवले जनाए । यद्यपि वाणिज्य बैंकहरूको ब्याजदर घटेकाले लघुवित्तको लागत घट्दा नाफा भने बढेको उनले बताए । 

गत चैतसम्म लघुवित्त वित्तीय संस्थाबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्वि भएको छ । यसअनुसार गत चैतसम्म कुल कर्जाको ५२.६६ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिन्छ । २०८० असार मसान्तमा कृषि क्षेत्रमा ४९.८१ प्रतिशत कर्जा प्रवाह भएको थियो । आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये सेवा व्यवसाय क्षेत्रमा २३.१९, थोक कर्जामा ९.८८, घरेलु तथा लघु उद्योग क्षेत्रमा ३.५१ प्रतिशत तथा अन्य क्षेत्रमा १०.७७ प्रतिशत कर्जा प्रवाह भएको प्रतिवेदनले देखाएको छ । 

२०८१ चैत मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको कुल कर्जा तथा सापट रकममा ह्रास आएको छ भने निष्क्रिय कर्जा रकममा भने वृद्वि भएको छ । ती संस्थाले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम ०८१ असार मसान्तको तुलनामा ११.४९ प्रतिशतले गत चैतसम्म ४७ अर्ब ६७ करोड कायम भएको छ । समीक्षा अवधिमा ती लघुवित्त वित्तीय संस्थाको कुल कर्जा तथा सापटीमध्ये निष्क्रिय कर्जा १ अर्ब ४० करोड रुपैयाँ अर्थात् २.९३ प्रतिशत छ । २०८० असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ०.७१ र २०८० चैत मसान्तमा २.५९ प्रतिशत थियो । तेस्रो त्रैमाससम्ममा निष्क्रिय कर्जा १३ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा १२.०६ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा २३१.०५ प्रतिशतले बढेको थियो । तर सक्रिय कर्जा ११.३० प्रतिशतले घटेको थियो ।

प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाको पुँजी कोषको स्थिति समग्रमा सन्तोषजनक छ । लघुवित्त संस्थाले आफ्नो जोखिम भारित सम्पत्तिका आधारमा न्यूनतम प्राथमिक पुँजी र पुँजी कोष क्रमशः ४ प्रतिशत र ८ प्रतिशत कायम गर्नुपर्ने प्रावधान छ । २०८१ चैत मसान्तमा समग्रमा लघुवित्त वित्तीय संस्थाहरूको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजी कोष क्रमशः १०.४८ र ११.९० प्रतिशत छ । 

समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ६.८७ प्रतिशत र जोखिम भारित सम्पत्ति ६.८४ प्रतिशतले बढेको छ । लघुवित्त वित्तीय संस्थाका लगानीमा कमी आएको छ । २०८१ चैत मसान्तमा लघुवित्त वित्तीय संस्थाको कुल लगानी २०८१ असार मसान्तको तुलनामा २.५६ प्रतिशतले घटेर ९ अर्ब ९३ करोडमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल लगानी १७.०२ प्रतिशतले बढेको थियो ।

२०८१ चैत मसान्तसम्ममा ५२ वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन् । ती संस्थामध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था छन् भने बाँकी ४९ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था छन् । लघुवित्त वित्तीय संस्थाको शाखा संख्या पछिल्लो समय घटेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाको शाखा संख्या ०.१६ प्रतिशतले घटेकामा यस आर्थिक वर्षको सोही अवधिमा १.०८ प्रतिशतले घटेको छ । २०८१ असार मसान्तको तुलनामा २०८१ चैत मसान्तमा लघुवित्त वित्तीय संस्थाको सदस्य संख्या २.७९ प्रतिशतले बढेर ६१ लाख ६२ हजार पुगेको छ ।

प्रदेशगत रूपमा लघुवित्त वित्तीय संस्थाका शाखा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी देखिन्छ । गत चैत मसान्तमा उक्त प्रदेशमा कुल शाखा संख्याको २१.९६ प्रतिशत (१०८९ शाखा) छ । पहुँचका हिसाबले कर्णाली प्रदेशमा लघुवित्त संस्थाको उपस्थिति न्यून देखिन्छ । उक्त प्रदेशमा कुल शाखा संख्याको ४.८२ प्रतिशत मात्रै शाखा रहेका प्रतिवेदनमा उल्लेख छ । 

समीक्षा अवधिमा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाको तरल सम्पत्तिमा ह्रास आएको छ । सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्था निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्त वित्तीय संस्था मात्र छन् ।

कान्तिपुर

Link copied successfully