तातोपानी नाका हुँदै भित्रियो चिनियाँ हेलिकोप्टर

असार २०, २०८२

अनिश तिवारी

A Chinese helicopter entered through the Tatopani border

सिन्धुपाल्चोक — जिल्लाबाट चीन जोड्ने तातोपानी नाका अब हेलिकोप्टर आयातको प्रवेशद्वारसमेत बनेको छ । पहिलोपटक चीनबाट ल्याइएको हेलिकोप्टर यही नाकाबाट बिहीबार नेपालको सीमाक्षेत्रको बजार प्रवेश गरेको छ ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार चीनको सहरबाट ४० फिटे टेलरमा राखेर हेलिकोप्टर तातोपानीसम्म ल्याइएको हो । ‘हाल जाँच पास भएको छैन, आवश्यक भन्सार प्रक्रिया चल्दैछ, ट्रान्सपोर्टको जिम्मा आडो ट्रान्सपोर्ट कम्पनीले लिएको थियो,’ उनले भने ।

A Chinese helicopter entered through the Tatopani borderनेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको भन्सार कार्यालयले जनाएको छ । कम्पनीले चीनबाट पाँचवटा हेलिकोप्टर ल्याउने सम्झौताअनुसार पहिलो युनिट नेपाल भित्रिएको हो ।

A Chinese helicopter entered through the Tatopani borderतातोपानी भन्सारका सूचना अधिकारी सूर्य काफ्लेले हेलिकोप्टरको मूल्य मूल्याङ्कन गरी राजस्व असुल गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए । करिब ४ करोड १२ लाखभन्दा बढी राजस्व संकलनपछि जाँचपास प्रक्रिया पूरा हुने अनुमान गरिएको छ। अबको एक–दुई दिनमै प्राविधिक टोली आएर हेलिकोप्टरको अवस्था परीक्षण गर्नेछ । त्यसपछि हेलिकोप्टर सिधा काठमाडौं उडान गर्ने भन्सारले जनाएको छ ।

भन्सार शाखामा हालसालै बनाइएको खुला पार्किङ क्षेत्रमा हेलिकोप्टर राखिएको छ । माउन्टेन हेलिकोप्टरका प्राविधिक टोली तातोपानी पुगेर तयारी थालेका छन् ।

अनिश तिवारी तिवारी कान्तिपुरका सिन्धुपाल्चोक संवाददाता हुन् ।

Link copied successfully