म्याग्दीको ओखरबोटमा तामाखानी अन्वेषण सुरु

असार १९, २०८२

घनश्याम खड्का

Mining exploration started at Okharbot in Myagdi

म्याग्दी — म्याग्दीको मालिका गाउँपालिका, ३ र ४ सीमावर्ती पाखोपमा पर्ने लामो समयदेखि बन्द ओखरबोट तामाखानी पुनःसञ्चालन गर्न खानी अन्वेषण सुरु गरिएको छ ।

मालिका गाउँपालिका, ३ रुमका वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एम//स दोङयी मिनरल्स प्रालिका भूगर्भविद्हरु सम्मिलित टोलीले स्थलगत अध्ययन थालेका हुन् ।

रैथाने ज्ञान र सीपको आधारमा उत्खनन गरिएको तर हाल लामो समयदेखि बन्द रहेको ओखरबोट तामाखानीमा तामाको भण्डारण र उत्खनन सम्भावना सम्बन्धी प्रारम्भिक अध्ययन गर्न भूगर्वविद् रोनित पौडेल नेतृत्व टोलीले ओखरबोट तामाखानीको वातावरणीय परीक्षणको जुटेको छ ।

देशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्न खानीहरुको महत्त्व हुन्छ । तर म्याग्दीमा रहेका थुप्रै खनिजरत्न, खनिज पदार्थ समेत बहुमूल्य पदार्थ प्रयोगविहीन भै अलपत्र छन् ।

खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा सुन, तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्वल र तातोपानीका मुहानहरु (हटस्पीङ) पाइन्छन । जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो ।

स्थानीय खनेलहरुले रैथाने प्रविधिबाट उत्खनन गरिएको मालिका गाउँपालिका, ४ (साविक ओखरबोट–८) खटेनडाँडा स्थित तामाखानी मुख्य हो । स्थानीय दीर्घनारायण भट्टचन र दीलिप शेरचनले ०१८ सालदेखि नै ओखरबोटको तामाखानी सञ्चालन गरे पनि आधुनिक प्रविधिको अभावमा ०४६ सालदेखि तामाखानी बन्द छ ।

‘उपयुक्त प्रविधिको अभावमा जोखिममोल्न सकेनौं र खानी बन्द गर्‍यौं । खानी उत्खनन गर्ने परम्परागत शीप युवा पुस्तामा हस्तान्तरण गराउन खानी विभागबाट पुनः खानी उत्खनन गर्ने अनुमति नपाएपछि अलपत्र छ,’ पूर्वखानी सञ्चालक दीलिप शेरचनले भने,– ‘अहिले खानीसम्म मोटरबाटो र बिजुली पुगेकोले पुनःउत्खनन गर्ने र आफ्नो शिप र ज्ञान हस्तान्तरण गर्ने धोको छ ।’

खटेनडाँडाको भिरमा कम्तीमा २५ वटाभन्दा बढी तामा निकाल्ने गरिएको सुरुङ्गहरु छन् । ओखरबोट धौलागिरी गाउँपालिका, १ गुर्जा, ५ मच्छिम, रघुगंगा गाउँपालिका, ६ ठाडाखानी, ८ चौरको झिंखानी समेत  २१ ठाउँमा तामाखानी भए पनि सबै बन्द छन् । विभिन्न स्थानका खानीहरु सञ्चालन हुन नसक्दा खानी उत्खननमा पोख्त स्थानीय ‘खनेल’हरुको शिप पुस्तान्तरण हुन सकेको छैन । 

अहिले गाउँपालिकाले खटेनडाँडाको तामाखानी पुनः सञ्चालन गर्न प्रयास थालेसँगै ओखरबोटको तामाखानी उत्खनन अघि परिमाण र सम्भावना सम्बन्धी अन्वेषण थालिएको मालिका गाउँपालिका प्रमुख बेगप्रसाद गर्वुजाले बताए ।

तामा खानी मात्र होईन, धौलागिरी गाउँपालिका, ९ मल्कवाङ्ग र रघुगंगा गाउँपालिका, ८ मंगले क्षेत्रमा फलामखानी पनि रहेका छन् ।

तामाखानी तथा फलामखानी पत्ता लगाउने र उत्खनन गर्ने विज्ञ छन्त्याल जातिलाई मानिन्छ । छन्त्यालहरु आफूलाई खानी खन्ने जातिको रुपमा गर्व गर्ने गरेका छन् । जहाँ छन्त्याल जातिको बसोबास छ त्यहिँ नै फलाम र तामाखानी रहेको पाइन्छ ।

छन्त्याल वस्ती रहेका गाउँको पछाडी ‘खानी’ जोडिएको हुन्छ । त्यसैगरी धवलागिरी गाउँपालिका, १ गुर्जा र सोही गापा, ४ मुदीको विचमा पर्ने गुर्जाडाँडाको र रघुगंगा गाउँपालिका, ६ कोटगाउँको आर्या सामुदायिक वन भित्रको पहाडमा पनी क्वार्ज क्रिस्टलको खानी छ । 

डिभिजन वन कार्यालय म्याग्दीको अभिलेख अनुसार केही वर्ष अघि धवलागिरी गाउँपालिका, १ गुर्जाडाँडाबाट उत्खनन गरी काठमाडौं लैजान लागेको एक हजार ३ सय १ हजार ३ सय ८ टन क्वार्ज क्रिस्टल वन कार्यालयले पक्राउ गरेको थियो । कतिपय मान्छेहरुले यहाँ भेटिने ‘सेतो टल्कने ढुङ्गा’ झिकेर झोलामा हाली लैजाने गरेको स्थानीय बताउँछन् ।

धवलागिरी गाउँपालिका, ४ मुदीका आसमान गुरुङले ०६६ फागुन ११ गते सोही गापा, १ गुर्जाडाँडबाट खानी तथा भूगर्भ विभागबाट क्वार्ज ढुङ्गा खोजतलास गर्न अनुमति लिएर उत्खनन गरी परीक्षणका लागि लैजान खोज्दा वन कार्यालयले पक्राउ गरी ‘गैहृकानुनी रुपमा वनपैदावर (सेतोढुङ्गा) ओसार–पसार मुद्दा’ दर्ता गरेको थियो ।

जिल्ला अदालत म्याग्दीले ०६७ फागुन ३ गते ‘खानी तथा भूगर्भ विभागबाट क्वार्ज ढुङ्गा खोजतलास गर्न अनुमति लिएको र ‘औधोगिक स्तरको क्वार्ज ढुङ्गा’ खोजतलास कार्यको शिलशिलामा झिकिएका खजिन पदार्थको खनिज पदार्थको प्रकृति, परिणाम, महत्त्व र प्रस्तावित परीक्षण वा विश्लेषण गर्न वा गराउनको निमित्त विदेशसमेत लैजान पाइने कानुनी व्यवस्था भएकोले बरामद भएको क्वर्ज ढुङ्गाको राजश्व असुल गरी छोड्न आदेश गरेको थियो ।

‘म्याग्दीमा क्वार्ज, तामा समेतका धेरै खनिज पदार्थहरु पाइन्छन् । तामाका त पहिला स्थानीयले उत्खनन गर्ने गरेकै खानीहरु छन् । केही वर्ष अघिसम्म खानी तथा भूगर्भ विभागबाट स्वीकृति लिएर जिल्लामा सुन, तामा समेतका खनिज पदार्थ अन्वेषण गर्न धेरै आउँने गरेकामा अहिले अन्वेषण गर्ने समेत घटेका छन्’ डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले भने, ‘कोटगाउँको पहाडबाट केही बाहिरका मान्छेहरु आएर क्वार्ज क्रिस्टल खनेर झोलामा लैजाने गरेको वन उपभोक्ता समितिले सूचना दिएका छन् ।’

राहुघाट र कालीगण्डकी नदीमा प्लेसर गोल्ड भनिने बालुवामा पाइने सुनका टुक्रा पाइने गरेको छ । बालुवामा सुनका टुक्रा भेटिनुलाई नदीका उद्गम क्षेत्रमा सुनखानी हुन सक्ने बलियो आधार मानिन्छ । केही वर्ष अघि एक चिनियाँ कम्पनीले घाँसा क्षेत्रमा कालीगण्डकी नदी क्षेत्रमा सुनखानी अन्वेषण गरेको थियो । तर सो अध्ययन के भयो स्थानीयले थाहा पाउन सकेनन् ।

त्यस्तै, खानी तथा भूगर्भ विभागले वेभसाईटबाट बेनी नगरपालिका १ रत्नेचौर र पर्वत नाङलीवाङ क्षेत्रमा सुनखानी उत्खनन गर्न खानी विभागबाट क्यायुन प्रा.लिले अनुमति लिए पनि अन्वेषण भए नभएको खुलेको छैन । 

गैहृखनिज फदार्थ अर्न्तगतको खरीढुङ्गा अर्को महत्त्वपूर्ण हो । जिल्लाको रघुगंगा गाउँपालिका, २ भगवतीमा खरीढुङ्गाको खानी छ । यहाँको खरीढुङ्गा खानी सञ्चालन गर्न गौतम खनिज उद्योग भरतपुर, ४ चितवन (एएसडिसी एसिया प्रालि त्रिपुरेश्वर, काठमाडौं)ले उत्खनन गर्न खोज्दा वन विभागको स्वीकृति नभएको भन्दै अख्तियारमा मुद्दा परेपछि उत्खनन रोकिएकोमा पुनः सञ्चालनमा आउन सकेन ।

खनिजपदार्थ मात्र होईन खनिजरत्न पत्थरहरु पनि प्रशस्त पाइन्छन । धौलागिरी गाउँपालिका, ५ मच्छिममा अप्रकको पहाड नै पाइन्छ । गुर्जा हिमालमुनी घुर्मखोला नजिक चम्किलो र टल्कने पत्थर (क्वार्ज) को पहाड छ । 

‘खनिजरत्न क्वार्जको पहाड नै राती टल्कन्छ’, धौलागिरी गाउँपालिका, १ का वडाध्यक्ष झकबहादुर छन्त्यालले भने, ‘टल्कने पत्थर स्थानीयले पहिचान र प्रशोधनका लागि बाहिर लैजान खोज्दा प्रहरीले पक्राउ गरेपछि अहिले अलपत्र छ ।’ 

डाइमन्सन ढुङ्गाहरु पनि जिल्लामा छन् । अन्नपूर्ण गाउँपालिका ५ शिख र ६ घारको दगुर्नेपानी क्षेत्रमा मार्वल पाइन्छ । मालिका गाउँपालिका, ३ रुममा स्लेट ढुङ्गेखानी छ । स्लेट ढुङ्गा जिल्लाका अन्य दर्जन बढी क्षेत्रमा छन् । जिल्लामा पाइनेमध्ये उर्जाखनिज अन्तर्गत तातोपानीका मूलहरु मुख्य हुन् । 

म्याग्दीखोलाको मुदी र सिङा, राहुघाट खोलाको दग्नाम र कालीगण्डकी नदीको तिप्ल्याङ, रातोपानी, तातोपानी र नारच्याङमा यस्ता ऊर्जाखनिजहरु पाईन्छन । सिङास्थित तातोपानीको मुलबाट विरेनुनको गन्ध आउँछ । नारच्याङ छेउको तातोपानी नुनिलो छ । 

यहाँको तातोपानीको मुहान वरपर भित्ता तथा कालीगण्डकी नदी बगरमा सेताम्मै नुनिलो पदार्थ टाँसिएको हुन्छ । वैज्ञानिक खोज तथा अन्वेषण नभए पनि यहाँ विरेनुन र नुन खानीको सम्भावनालाई प्रचुरता दिएका छन । 

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully