मदन भण्डारी राजमार्गको सुर्खेत पश्चिम खण्ड निर्माणमा ढिलाइ

डीपीआरअनुसार सडक निर्माण गर्दा बिजौरा बजार विस्थापित हुने अवस्था आएको भन्दै स्थानीयको अवरोध 

असार १९, २०८२

तृप्ति शाही

Delay in construction of Surkhet West section of Madan Bhandari Highway

वीरेन्द्रनगर — पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गको सुर्खेत पश्चिमको निर्माणमा ढिलाइ भएको छ । बारम्बार भइरहने विवादका कारण यस खण्डको काममा ढिलाइ भइरहेको हो । पश्चिम खण्डमा अवरोध भएपछि निर्माण कार्यले तीव्रता पाउन सकेको छैन । एकपछि अर्को विवादले काममा अवरोध हुने गरेको हो ।

पश्चिम खण्डको विद्यापुरदेखि बल्देसम्मको खण्डको म्याद २०८२ फागुन १६ सम्म तोकिएको छ । बल्देदेखि लगामसम्मको म्याद २०८४ भदौ १३ सम्म राखिएको छ ।

परियोजनाको प्रारम्भिक बजेट १ अर्ब २१ करोड तोकिएको छ । पूर्वी खण्डको बजेट भने १ अर्ब ३६ करोड छ । यस निर्माण २०७८ मै सकिनुपर्ने थियो । तर तोकिएको समयमा काम पूरा नभएकाले फेरि म्याद थप गर्दै आउँदो भदौ मसान्तसम्म लम्ब्याइएको छ । यसमा हालसम्म १ अर्ब ३ करोड खर्च भइसकेको छ । 

पछिल्लो पटक राजमार्गअन्तर्गतको गुटु–बल्दे खण्डको बिजौरामा स्थानीयले अवरोध गरेका छन् । बिजौराको अस्पताल चौकदेखि बिजौरा बजार हुँदै डुफेलासम्मको झन्डै १३ सय मिटरमा विवाद भएको हो । डीपीआरअनुसार सडक निर्माण गर्दा बिजौरा बजार नै विस्थापित हुने अवस्था आएको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।

स्थानीय अस्पताल चौकदेखि बिजौरा बजार हुँदै सडक डुफेलासम्म जोड्ने डीपीआरमा उल्लेख छ । बजारसँगै केही व्यक्तिको जग्गा पनि सडकमा पर्ने भएपछि स्थानीयले अवरोध गरेका हुन् । डीपीआरअनुसारको सडक निर्माण गर्ने हो भने धेरै स्थानीय विस्थापित हुनुपर्ने अवस्था आउने चौकुने गाउँपालिका–४ का वडाध्यक्ष टोपबहादुर बीसीले जनाए । डीपीआरअनुसार सडक लिने हो भने यहीं दुई दर्जन घर विस्थापित हुन्छन् । ‘डीपीआरअनुसार सडक निर्माण भए म पनि विस्थापित हुनुपर्छ,’ उनले भने, ‘मेरो झन्डै आठ रोपनी जग्गा सडकले मासिन्छ । जनतालाई विस्थापित गराएरभन्दा अन्यत्रबाट राजमार्ग घुमाएर लगौं भन्ने स्थानीयको माग छ ।’ 

यता मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतले राष्ट्रिय राजमार्ग घुमाउनुभन्दा जति सक्यो, छोटो मार्ग हुने गरी निर्माण हुनुपर्ने बताउँदै आएको छ । स्थानीयको मागअनुसार सडक घुमाएर लैजाँदा राजमार्ग थप दुई किलोमिटर घुमाउनुपर्ने कार्यालयको भनाइ छ । 

स्थानीयले गरेको अवरोध हटाएर सडक निर्माण गर्न यहाँ बारम्बार सर्वपक्षीय छलफल भए । तर अहिलेसम्म सहमति जुट्न सकेको छैन । राजमार्गको डीपीआरबाहेक अन्यत्रबाट सडक लैजान सकिने अवस्था नभएको योजना कार्यालयका इन्जिनियर ओली जनाए । यो समस्या समाधान हुन नसक्दा काम अघि बढ्न नसकेको उनको भनाइ छ । १३ सय मिटरमा विवाद हुँदा काम रोकिएको इन्जिनियर ओलीले बताए । 

पश्चिम खण्डमा डीपीआर चरणमै विवाद थियो । यस खण्डमा सुरुवातदेखि नै विवाद थियो । सुरुमा बराहताल र पञ्चपुरीमा स्थानीयले डीपीआर चरणमै अवरोध गरे । बराहतालको बड्डीचौर, पञ्चपुरीको बराइचे र दुलालथाईमा स्थानीयले सडक सर्भे गर्न दिएका थिएनन् । लामो प्रयासपछि मात्र समस्या समाधान भएको थियो । यही खण्डमा अर्को विवाद पनि सुरु भयो । बड्डीचौरदेखि खम्बागाडेसम्मको खण्डमा सडकमा रहेका रुख हटाउने विवादले काम नै रोकियो । रुख काट्ने अनुमति नपाउँदा लामो समयसम्म यो खण्डको काम हुन पाएन । यसले पनि सडक स्तरोन्नतिको काममा ढिलाइ भयो ।

बड्डीचौरदेखि खम्बागाडेसम्मको १३ किलोमिटर सडक कर्णाली प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार निर्देशनालयमार्फत काम भइरहेको छ । केन्द्र सरकारको सहमतिमा प्रदेश सरकारले काम गरिरहेको हो । १० किलोमिटर खम्बागाडेदेखि पलैटे, चतुरे, विद्यापुर र बल्देदेखी बेतान र लगामसम्मको १५ किलोमिटर गरी २५ किलोमिटरको ठेक्का व्यवस्थापन भएर काम भइरहेको छ ।

बाँकी विद्यापुरदेखि बल्देसम्मको २२ किलोमिटर सडकको ठेक्का २०७९ मै व्यवस्थापन भएर काम भइरहेको इन्जिनियर ओलीले बताए । लगाम बजारदेखि धनराश, धामीसेन हुँदै पाल्पाघाटको करिब ३० किलोमिटर सडकको स्रोत सुनिश्चितता हुन बाँकी छ । डीपीआरलगायत सबै भइसकेको छ । सरकारबाटै बजेट व्यवस्थापन नभएका कारण ठेक्का व्यवस्थापन हुन नसकेको हो ।

मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डमा करिब ९० किलोमिटर सडक पर्दछ । राजमार्गले बराहताल गाउँपालिकाको बड्डीचौर हुँदै पश्चिम बेनीघाटसम्म जोड्छ । मदन भण्डारी राजमार्गअन्तर्गतको पूर्वी खण्डको काम भने अन्तिम चरणमा पुगेको छ । पूर्वी खण्डमा भेडाबारीदेखि धुलियाबिटसम्मको दूरी ३५ किलोमिटर सडक पर्दछ । ३३ किलोमिटर कालोपत्रे भइसकेकको मदन भण्डारी राजमार्ग कार्यालयले जनाएको छ । 

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully