विद्युत् पहुँच दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य

असार १८, २०८२

कान्तिपुर संवाददाता

The government's goal is to reach 100 percent electricity access within two years

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र देशभर विद्युत् पहुँच शतप्रतिशत पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले दुई वर्षपछि वार्षिक प्रतिव्यक्ति विद्युत् खपत १,५०० युनिट पुर्‍याउने लक्ष्यसहित कार्यक्रमहरू अगाडि बढाइएको जानकारी दिए।

उनले यो लक्ष्य हासिल भएमा मुलुक ऊर्जा निर्यात गर्ने राष्ट्रका रूपमा स्थापित हुने र ८८ अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन हुने विश्वास व्यक्त गरे। विद्युत् पूर्वाधार तथा आयोजना निर्माणका क्रममा ८ लाख ६५ हजार १ सय ८८ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने दाबी उनले गरे।

उनले भने, 'विद्युत् पहुँच अबको दुई वर्षभित्र शतप्रतिशत पुर्‍याउने गरी लक्ष्य राखेर काम भइरहेको छ। वार्षिक प्रतिव्यक्ति विद्युत् खपत १,५०० युनिट पुर्‍याउने लक्ष्य यो दस वर्षभित्र हासिल गरिनेछ। यसले मुलुकलाई ऊर्जा निर्यात गर्ने देशका रूपमा स्थापित गर्नेछ। यो लक्ष्य प्राप्त हुँदै जाँदा ८८ अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन हुनेछ। कुल अनुमानित रोजगारी सिर्जना ८ लाख ६५ हजार १ सय ८८ जनाले प्रत्यक्ष रूपमा पाउने छन्। यसले अप्रत्यक्ष रूपमा पनि लाखौँ रोजगारी सिर्जना गर्नेछ। सरकार यही लक्ष्य कार्यान्वयन गर्ने गरी काम अगाडि बढाइरहेको छ।'

सरकारले सन् २०३५ भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र सोहीअनुसार कार्यक्रमहरू अघि बढाइएको मन्त्री खड्काले जानकारी दिए।

कान्तिपुर

Link copied successfully