बजेट लोकतन्त्र र गणतन्त्रको मर्मअनुसार आएको छ : अर्थमन्त्री पौडेल

असार १८, २०८२

कान्तिपुर संवाददाता

The budget has come according to the spirit of democracy and republic: Finance Minister Paudel

काठमाडौँ — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत बजेट लोकतन्त्र र गणतन्त्रको मर्मअनुसार आएको बताएका छन्।

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिँदै अर्थमन्त्री पौडेलले बजेट तजबिजी ढङ्गले नभई प्रणालीअनुसार निर्माण गरिएको स्पष्ट पारे। उनले बजेट कर्मकाण्डी स्वरूपको नभई तथ्यपरक रूपमा आएको र संसद्ले पारित गरेपछि कार्यान्वयनमा जाने बताए।

उनका अनुसार ऋणको दायरा असीमित नहोस् भन्नेतर्फ सरकार सचेत रहेको छ, र उत्पादन तथा पुँजीगत खर्चमा बजेटको सदुपयोगमा विशेष ध्यान दिइनेछ।

अर्थमन्त्री पौडेलले करको दायरा विस्तार, चुहावट नियन्त्रण, सूचना प्रविधिमा आबद्धता र राजस्व प्रशासनलाई प्रभावकारी बनाउनेजस्ता कार्यमार्फत राजस्वको लक्ष्य हासिल गर्ने जानकारी दिए।

उनले नेपाल ग्रे लिस्टबाट बाहिरिनुपर्ने आवश्यकता रहेको, सम्पत्ति शुद्धीकरणमा ध्यान दिइनुपर्ने र विलासिता करमा थ्रेसहोल्ड हटाइएको जानकारी दिए। सुनका गहना कारोबारमा संलग्न व्यवसायीहरूको गुनासोबारे छलफल भइरहेको र सोही छलफलबाट साझा निष्कर्षमा पुगिने विश्वास पनि व्यक्त गरे।

अर्थमन्त्री पौडेलले बजेट निर्माण प्रक्रियामा सांसदहरूले दिएका सुझावलाई समेत विचार गरिएको बताए ।

कान्तिपुर

Link copied successfully