धानको बीउ भारत र चीनबाट आयात हुन्छ, खुला सिमानाले भारतबाट अवैध रूपमा पनि प्रशस्त बीउ भित्रिन्छ
काठमाडौँ — पछिल्ला वर्षमा धानको बीउ आयात अस्वाभाविक रूपमा बढेको छ । बढी फल्ने आशामा किसान हाइब्रिड बीउतर्फ आकर्षित भएपछि चालु आर्थिक वर्षको ११ महिनामा मात्र १ अर्ब १६ करोडको बीउ आयात भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा पनि ८८ करोड ६५ लाख रुपैयाँको धानको बीउ आयात भएको भन्सार विभागको तथ्यांक छ । धानको बीउ भारत र चीनबाट आयात हुन्छ । खुला सिमानाले भारतबाट अवैध रूपमा पनि प्रशस्त बीउ भित्रिन्छ ।
धानको हाइब्रिड बीउ नै बढी आयात हुने गरेको बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रले जनाएको छ । आयातित हाइब्रिड धानको बीउमध्ये ५४ वटा दर्ता नै भएका छन् । ‘नेपालमै उन्मोचन हुने र आयात गरी १ सय ४८ धानका बीउ दर्ता भएका छन् । ९४ वटा स्वदेशमा उन्मोचन र दर्ता भएका छन्,’ केन्द्रका सूचना अधिकारी प्रकाश आचार्यले भने, ‘आयातित बीउमध्ये ४८ वटा हाइब्रिड र ६ वटा खुला सिञ्चित जात हुन् । नेपालले दुई वटा मात्रै वर्णशंकर जात (हर्दिनाथ १ र हर्दिनाथ ३) उन्मोचन गरेको छ ।’ एउटा जात विकास गर्न १३/१४ वर्ष लाग्ने कृषिविज्ञ बताउँछन् ।
गत आर्थिक वर्षमा ८८ करोड ६६ लाख रुपैयाँको धानको बीउ आयात भएको भन्सार विभागको तथ्यांक छ । २०७९/८० मा ७५ करोड ६३ लाख र २०७८/७९ मा ८७ करोड ५ लाख रुपैयाँको बीउ आयात भएको छ । २०७७/७८ मा भने २ अर्ब १७ करोड ३८ लाख रुपैयाँको आयात भएको विभागले जनाएको छ ।
स्वदेशी हाइब्रिड प्रणाली बलियो छैन । हाइब्रिड धेरै फल्ने हुँदा किसानले बढी रुचाएका हुन् । आयात हुने बीउमध्ये ९० प्रतिशत हाइब्रिड नै हुने गरेको आचार्यले बताए । ‘धेरै फल्ने हाइब्रिड नै हो, त्यही भएर किसानले बढी रुचाउँछन् । उन्नत (सुधारिएको) जात पनि राम्रो हो,’ उनले भने, ‘हाम्रो धानको बीउ हाइब्रिडभन्दा कम छैन । तर बढी फल्ने भन्दै किसानले हाइब्रिड रोज्ने गरेका छन् ।’
वार्षिक २० हजार टन बीउ खपत हुन्छ । यसमध्ये २ हजार पाँच सयदेखि तीन हजार टन आयात हुन्छ । अन्य उन्नत बीउ पनि खपत हुने गरेको केन्द्रको दाबी छ । आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार गत आर्थिक वर्ष खाद्यान्न बालीको बीउ प्रतिस्थापन दर २३.६१ प्रतिशत छ । चालु आर्थिक वर्षको फागुनसम्म सरकारी फर्म केन्द्रबाट ५ सय २८ टन धानको स्रोत बीउ (मूल/स्रोत तथा प्रमाणित/लेबल स्तर) उत्पादन भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ३७ लाख ९८ हजार टन धानको स्रोत बीउ उत्पादन भएको थियो । गत आर्थिक वर्षमा ९ लाख ७ हजार ४ सय ३१ टन धानको उन्नत बीउ उत्पादन भएको थियो । नेपालमा नै हाइब्रिड धानका जातको विकास भइरहेको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताए । विकास भएका धानका जातको बीउको उपलब्धता सुनिश्चित गर्न बीउ वृद्धिका कार्यक्रम तीनै तहका सरकारमार्फत सञ्चालन भइरहेको उनले जनाए ।
