स्वदेश फर्किएर उद्यम गर्ने ८ श्रमिक पुरस्कृत

असार १७, २०८२

कान्तिपुर संवाददाता

8 workers who return to the country and enter into business are rewarded

काठमाडौँ — सरकारले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरेर उदाहरणीय योगदान पुर्‍याउने श्रमिकलाई ‘राष्ट्रिय उद्यमी पुरस्कार’बाट मंगलबार सम्मान गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत पुनःएकीकरणलाई प्राथमिकता दिँदै सातै प्रदेशका सात जना श्रमिक उद्यमीलाई राष्ट्रिय उद्यमी पुरस्कार र एकजनालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरिएको हो ।

सर्वोत्कृष्ट उद्यमीको पुरस्कार पाउनेमा दमक, झापाका भूमिका सीपमूलक तालिम केन्द्रका रविन पोख्रेल रहेका छन् । उनलाई नगद एक लाख ५० हजार नगद, सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिएको हो ।

राष्ट्रिय उद्यमी पुरस्कार पाउनेमा कोशीबाट उर्लाबारी, मोरङका आमा कृषि फर्मका राजीव खड्का, मधेशबाट जितपुर, बारास्थित निम्तो एग्रो फार्मका शंकर सिम्खडा, बागमतीबाट दोलखास्थित बैतेश्वर रेन्ट एण्ड क्याटरिङ सर्भिसका कुमार श्रेष्ठ, गण्डकीबाट तनहुँका वसन्त पोल्ट्री फर्मका बसन्तबहादुर खड्का, लुम्बिनीबाट अर्घाखाँचीस्थित न्यू सन्ध्या होटल एण्ड रेस्टुरेण्ट तथा सासुबुहारी कृषि फर्मका शोवाखर पौडेल, कर्णालीबाट सुर्खेतस्थित देउती होजियारी उद्योग एण्ड ट्रेडिङ सेन्टरका लक्ष्मीप्रसाद ढकाल र सुदूरपश्चिमबाट बैतडीस्थित कैलपाल बहुउद्देश्यीय कृषि फर्मका तर्कसिंह विष्ट रहेका छन् ।

मन्त्रालयले एक–एकजना गरी सात जनालाई नगद ७५ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि श्रममन्त्री शरतसिंह भण्डारीले श्रमको सम्मान गर्नुपर्ने संस्कारको विकास गर्दै, विदेशबाट फर्किएका श्रमिकलाई राष्ट्रिय समृद्धिमा योगदान गर्न प्रेरित गर्नुपर्ने बताए । सचिव कृष्णहरि पुष्करले विदेश जानुलाई ‘ब्रेन ड्रेन’ नभइ ज्ञान, सीप र पूजी फर्काएर स्वदेशमै अवसर सिर्जना गर्ने माध्यमको रूपमा लिनुपर्ने बताए ।

पुरस्कार छनोटको क्रममा विदेशबाट फर्किएर उद्यम सञ्चालन गरेका व्यक्तिहरूको रोजगारी सिर्जना, पुँजी लगानी, स्थानीय स्रोतसाधनको प्रयोग, निर्यात क्षमता, सामाजिक उत्तरदायित्व, वातावरणमैत्री प्रविधि र भौगोलिक समावेशीकरणका ७ मूल्यांकन सूचकहरूलाई आधार बनाइएको मन्त्रालयले जनाएको छ ।

कान्तिपुर

Link copied successfully