विश्व बैंकका लागि दक्षिण एसियाको उपाध्यक्षमा जोहानेस जुट नियुक्त

असार १६, २०८२

कान्तिपुर संवाददाता

Johannes Zut appointed vice president for South Asia for the World Bank

काठमाडौँ — विश्व बैंकका लागि दक्षिण एसियाको उपाध्यक्षमा जोहानेस जुट नियुक्त भएका छन् । उनले जुलाई १ बाट पदभार सम्हाल्ने बैंकले जनाएको छ । उनी मार्टिन राइजरको स्थानमा आउन लागेका हुन् ।  

जुटले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासँग विश्व बैंकको सम्बन्ध व्यवस्थापनमा भूमिका निर्वाह गर्नेछन् । उनले यस क्षेत्रका लागि छुट्याइएको ३९ अर्ड डलर बराबरका परियोजना, प्राविधिक सहायता र वित्तीय स्रोतहरूको पोर्टफोलियोको निरीक्षण गर्नेछन् ।

सन् १९९९ देखि विश्व बैंकमा आबद्ध जुट डच नागरिक हुन् । यसअघि उनले ब्राजिलका लागि विश्व बैंकको कन्ट्री डाइरेक्टरका रूपमा काम गरेका थिए । बैंककै अपरेसनल पोलिसी एन्ड कन्ट्री सर्भिसेजमा पनि उपाध्यक्षका रूपमा काम गरेका थिए । उनले बंगलादेश, भुटान र नेपालका साथै टर्की, कोमोरोस, इरिट्रिया, केन्या, रुवान्डा, सिशेल्स र सोमालियाका लागि कन्ट्री डाइरेक्टरको रूपमा काम गरिसकेका छन् ।

‘विगत १० वर्षमा मैले काम गरेयता दक्षिण एसियाले हासिल गरेको विकास प्रगति देखेर म अत्यन्तै खुसी छु,’ जुटले भनेका छन्, ‘यो नयाँ अवसरमार्फत यस क्षेत्रमा फेरि योगदान पुर्‍याउन र यहाँका मानिसहरूको न्यानोपन र सांस्कृतिक समृद्धि पुन: अनुभव गर्न पाउँदा म उत्साहित छु ।’

भारतको नयाँ दिल्लीस्थित विश्व बैंकको कार्यालयबाट उनले यो क्षेत्रका लागि काम गर्ने विश्व बैंकले जनाएको छ । 

कान्तिपुर

Link copied successfully