काठमाडौँ — पानी उद्योगीको हकहित संरक्षण र नेपालको पानी अन्तर्राष्ट्रियकरण गर्न नेपाल पानी उद्योग महासंघ गठन भएको छ ।
साताअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएसँगै महासंघले आधिकारिकता पाएको छ । ७ वटै प्रदेशबाट प्रतिनिधित्व गर्नेगरी पानी उद्योगको छाता संगठनका रुपमा महासंघको गठन भएको हो । अध्यक्षमा विक्रम लिम्बु चेमजोङ चयन भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा भरत बुढाथोकी, उपाध्यक्षमा रविन्द्रमोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रुपचन्द्र नौलखा, सवि कार्की, भुवन लोहनी, साहिल साह, टेकेन्द्रसिंह कुन्जेडा र कृष्णप्रसाद आचार्य चयन भएका छन् ।
महासंघको महासचिवमा ध्रुवप्रसाद अधिकारी, उपमहासचिवमा रोसा श्रेष्ठ, कोषाध्यक्षमा देवनारायण चौलागाईं चयन भएका छन् ।
अध्यक्ष चेमजोङले पानी उद्योग र आपूर्ति व्यवस्थापनमा पारदर्शितामा प्रश्न उठाउने ठाउँ रहन नदिने जनाए । साना उद्योगी सुरक्षित गर्दै लगानीमैत्री वातावरण निमार्णमा पहल गरिने जनाए ।
हाल देशभर करिब ७ सय बढि पानी उत्पादन गर्ने उद्योग छन् । पानी उद्योगमा १५ अर्बभन्दा बढी लगानी रहेको महासंघको दाबी छ ।
