सहरी क्षेत्रमा किलोको ६ रुपैयाँ पर्ने उखु गुल्मी, थोर्गाका किसानले घरबारीबाटै १२ रुपैयाँमा बिक्री गरिरहेका छन्
थोर्गा, गुल्मी — रुरुक्षेत्र गाउँपालिका–४, थानीडाँडाकी गंगा पुनले थाहा पाएदेखि नै बा–आमाले उखु लगाउँथे । यसरी लगाएको उखु घरेलु उपाय लगाई पेलेर गुड–खुँदो बनाइन्थ्यो । मिहिनेत भने धेरै पर्थ्यो । मिहिनेतअनुसार थोरबहुत आम्दानी पनि हुन्थ्यो ।
सोचेजस्तो बजार प्रवर्द्धन भने हुन सकेको थिएन । तर थोर्गा उखु गाउँका रूपमा परिचित थियो । परम्परादेखि उखु लगाए पनि किसानले मिहिनेतअनुसार मूल्य पाउन सकेका थिएनन् ।
जब २०७९ सालमा रुरु बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहयोगमा थोर्गेली गुड खुँदो उद्योग स्थापना भयो, तब परम्परागत खेतीलाई व्यावसायिकतातर्फ लग्ने योजना बनाइयो । आधुनिक प्रविधि भित्र्याएर गुड र खुँदो उत्पादनको तयारी थालियो । नभन्दै गत माघमा उद्योगबाट यसको विधिवत् उत्पादन सुरु गरियो ।
पहिला उखु लगाए पनि व्यावसायिक नभएको पुन सुनाउँछिन् । ‘१० रोपनी जग्गामा उखु लगाएकी छु,’ उनले भनिन्, ‘अहिलेसम्म सहकारीलाई १ सय ७६ क्विन्टल उखु बेचें ।’ थोरै–थोरै गरेर उखु बेचेर आम्दानी बढाउँदै लगेको उनले सुनाइन् ।
‘खेती बढाउँदै लगेका छौं, खर्च कटाएर यस पटक ५० हजार रुपैयाँ आम्दानी भयो,’ उनले भनिन्, ‘घर खर्च जुटेको छ, अहिले आम्दानीको स्रोत उखु नै छ ।’ चार छोरी र आफ्नो सामान्य खर्च यसैले धानेको उनको भनाइ छ । थोर्गाकी कमला मरासिनीले पनि ५ रोपनी जग्गामा उखु लगाएकी छन् । उखुबाट राम्रै आम्दानी आएको उनी सुनाउँछिन् । ‘त्यसमाथि अहिले मेसिनबाट उखु पेल्न थालेपछि छिटो र सहज भएको छ,’ उनले भनिन् ।
सहकारीले गाउँका उखु किसानलाई संगठित बनाएको उनले बताइन् । थोर्गाकै घनश्याम दर्लामी मगरले पनि सहकारीको सदस्य भएपछि पहिलाभन्दा दोब्बर जग्गामा उखु खेती गरिरहेको जनाए ।
उखु नगदेबाली भएकाले किसानले एक सिजनमा राम्रो आम्दानी गर्न सकेको उनको भनाइ छ । सहकारीमार्फत सञ्चालित थोर्गेली गुड खुँदो उद्योगमा ८ जना कर्मचारीलाई यति बेला खुँदो, गुड र क्यान्डी तयार गर्न भ्याइनभ्याइ छ ।
सहकारीका व्यवस्थापक प्रकाश थापा आफैं काममा खटिन्छन् । गुड, खुँदो र क्यान्डी बनाउन मासिक पारिश्रमिक दिएर ७ जना कर्मचारी राखिएका छन् ।
‘सहकारीले उद्योगलाई व्यवस्थित गर्दै लगेपछि किसान उखु खेतीमा आकर्षित हुँदै गएका छन्,’ भने, ‘यस क्षेत्रका किसानलाई व्यावसायिक बनाएर थोर्गाको गुड र खुँदोको पहिचान बढाउने सहकारीको योजना छ ।’ उद्योग विभागले गत मंसिर १४ मा थोर्गेली गुड खुँदो उद्योगको ‘थोर्गेली गुड’ लाई ब्रान्ड नाम दिइसकेको छ । अहिले त्यही ब्रान्डमा उत्पादन र प्याकेजिङ हुँदै आएको छ ।
रुरुक्षेत्र गाउँपालिका–३ को थोर्गा र थानपती, ४ को दार्सिङबास र चौतारा र १ को भटकुवा र च्युरेक क्षेत्र उखु उत्पादनका लागि ऊर्वर मानिन्छन् । उखु क्रसिङ गर्ने समय पुसदेखि चैतसम्म हो । वैशाखदेखि असारसम्म क्रसिङ गरेको उखुबाट तयार भएको खुँदो, गुड, क्यान्डी तयार गरिन्छ । यहाँ उत्पादित गुड गुल्मीको रिडीबजार, बुटवल, काठमाडौं, पोखरालगायत नेपाल आएकाले कोसेलीका रूपमा विदेशसम्म पुर्याउने गरेका छन् ।
किसानको घर बारीमै पुगेर आफैं उखु ल्याउने गरेको सहकारीका अध्यक्ष भेषराज ज्ञवालीले बताए । पहिला किसानले उखु ६ रुपैयाँ किलोमा बिक्री गर्थे । अहिले किसानसँग सहकारीले प्रतिकिलो १२ रुपैयाँमा खरिद गर्ने गरेको छ । ‘ट्र्याक्टर लिएर किसानको घर, बारीमै उखु लिन पुग्छौं, लोड उहाँहरूले नै गरिदिनुहुन्छ,’ उनले भने, ‘अहिले ९९ जना किसानको उखु सहकारीमा ल्याइएको छ ।’ सहकारीमा १ सय १० जनाले अहिले उखु लगाएका छन् ।
बजारीकरणको समस्या नभए पनि माग धान्न सके पुग्ने रुरुक्षेत्र गाउँपालिका–३ का वडाध्यक्ष शेषनारायण पौडेलले जनाए । उद्योग सञ्चालनका लागि गाउँपालिकाले जनप्रिय प्राविको भवन व्यवस्थापन गरेको छ । पालिकाले भौतिक पूर्वाधार निर्माणका लागि सहकारीलाई दुई पटक गरी ५५ लाख रुपैयाँ सहयोग गरेको पालिकाका अध्यक्ष यदु ज्ञवालीको भनाइ छ । खेती बढाउन मल, बीउका लागि अनुदान दिने र बजारीकरणमा सघाउन सकिने उनले बताए ।
हेफर इन्टरनेसनल नेपालले पटक–पटक गरी ७५ लाख रुपैयाँ सहयोग गरिसकेको व्यवस्थापक थापाको भनाइ छ । मेसिन खरिदका साथै बजारीकरणमा हेफरले सघाउँदै आएको उनले जनाए । कृषि ज्ञान केन्द्र गुल्मीले पनि उखु प्रवर्द्धन, बीउ र बजारीकरणका लागि ३ लाख सहयोग गरेको छ । जिल्लामा पछिल्लो वर्ष ५ करोड ७० लाखभन्दा बढीको गुड, खुँदो तथा प्रशोधित सामग्री बिक्री हुने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
