नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन
काठमाडौँ — सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको बताएका छन् ।
नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेश नयाँ कार्यसमितिको पदस्थापन तथा कार्यालय उद्घाटन गर्दै उनले लगानीमैत्री वातावरण बनाउन लागेको बताएका हुन् ।
शुक्रबार धनगढीमा आयोजित समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह र परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रदेश कार्यालयको उद्घाटन गरे । पदस्थापन तथा कार्यालय उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेश लगानीमैत्री वातावरण बनाउन सरकार लागेको बताए ।
प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको भन्दै उनले लगानीमैत्री वातावरण बनाउन आवश्यक प्रक्रियाहरू अगाडि बढाएको बताए ।सुदूरपश्चिममा थुप्रै लगानीका सम्भावना रहेको भन्दै उनले लगानी भित्र्याउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रदेशका युवा उद्यमीहरुलाई प्रोत्साहन एवं प्रवर्द्धन गर्न इन्क्युवेसन सेन्टर स्थापना गर्न प्रदेश सरकारलाई गरेको प्रस्ताव गरे । मुख्यमन्त्री शाहले इन्क्युवेसन सेन्टर स्थापना गर्न सहकार्यको प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष अग्रवालले मुलुकको समग्र आर्थिक विकासका लागि परिसंघले काम गर्दै आइरहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारसँग सहकार्य गर्दै अगाडि बढ्न प्रतिबद्ध रहेको बताए । परिसंघले लिएको स्वदेशी उद्योगको प्रबर्द्धन, उद्योगमैत्री नीति नियम तथा उद्योगी व्यवसायीहरुका हकहितका आवाजलाई सुदूरपश्चिम उद्योग परिसंघले थप बलियो रुपमा उठाउने जनाएको छ ।
परिसंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठले प्रदेश सरकारसँग नजिक रहेर आर्थिक विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।श्रेष्ठको अध्यक्षतामा गठित ११ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा तेज शंक भट्ट, उपाध्यक्षहरुमा सुनिता सुरी, सुनिल श्रेष्ठ, कोषाध्यक्षमा लालबहादुर शाही छन् ।
यस्तै, कार्यसमिति सदस्यहरुमा हीरा भण्डारी, जगदीशचन्द्र भट्ट, कलेन्द्र शाही, दीप रावत, हेमन्त पौडेल र डिल्लीराज जोशी छन् ।
