कारोबार रकमका आधारमा पनि जलविद्युत् कम्पनी नै अघि, सेयर मूल्य बढेका पाँच कम्पनीमध्ये तीन जलविद्युत्कै
काठमाडौँ — नेप्से परिसूचक ४.४५ प्रतिशतले घट्दा जलविद्युत् उपसमूह ३.८२ अंकले मात्रै बढेको छ । सेयर मूल्य बढ्ने र कारोबार रकमका आधारमा पनि जलविद्युत् कम्पनीहरू नै अघि छन् । सेयर मूल्य बढेका पाँच कम्पनीमध्ये तीन जलविद्युत्कै छन् ।
बिहीबार ग्रिन डेभलपमेन्ट बैंकको ९.१८ र सप्तकोशी विकास बैंकको ९ प्रतिशतले सेयर मूल्य बढेको छ । वरुण हाइड्रोपावरको ८.९३, पिपुल्स हाइड्रोपावर कम्पनीको ७.१४ र सुपर मादी हाइड्रोपावरको ६.८४ प्रतिशतले सेयर मूल्य बढ्यो । कारोबार रकमको आधारमा मुख्य पाँच कम्पनी जलविद्युत्कै रहे । बुटवल पावर कम्पनी, राधी विद्युत् कम्पनी, ङादी ग्रुप पावर, सिँगटी हाइड्रो इनर्जी र वरुण हाइड्रोपावर कम्पनीको सबैभन्दा धेरै रकमको कारोबार भयो ।
बुटवल पावर कम्पनीको ६२ करोड ५२ लाख, राधी विद्युत् कम्पनीको ३९ करोड २० लाख, ङादी ग्रुप पावरको ३२ करोड ३२ लाख, सिँगटी हाइड्रो इनर्जीको ३१ करोड ६१ लाख र बरुण हाइड्रोपावर कम्पनीको २८ करोड ५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार विकास बैंक उपसमूह ५२.८८ र लघुवित्त ६.४१ अंकले बढेको छ । सामूहिक लगानी कोष उपसमूहको मूल्य स्थिर रह्यो । घट्ने उपसमूहहरूमा होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र व्यापार छन् ।
साताको अन्तिम कारोबार दिन रिलायबल समृद्धि योजना, ओम मेगाश्री फर्मास्युटिकल्स, पियोर इनर्जी, जोशी हाइड्रोपावर, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य घट्यो । तीन कारोबार दिनसम्म २६ सय बिन्दुमै स्थिर रहेको नेप्से परिसूचक बिहीबार शून्य दशमलव १७ प्रतिशतले घटेर २५ सय ९५ दशमलव ७४ बिन्दुमा ओर्लिएको छ । यसअघि तीन महिनापछि नेप्से २५ सय बिन्दुमा पुगेको थियो ।
कुल १ करोड ९६ लाख ५० हजार २ सय १० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७८ करोड २ लाख ४२ हजार रुपैयाँको सेयर कारोबार भएको छ, जुन पछिल्ला तीन कारोबार दिनयताकै उच्च हो । गत सोमबारयता साढे ६ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार हुन सकेको थिएन । सोमबार ६ अर्ब ४७ करोड, मंगलबार ५ अर्ब ७६ करोड र बुधबार ५ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो । बिहीबार पौने ८ अर्ब रुपैयाँको कारोबार भएको नेप्से जनाएको छ ।
नेप्से घट्दा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) समेत खुम्चिएको छ । सेयर बजारको आकार ७ अर्ब ४१ करोड ५६ लाख रुपैयाँले खुम्चिएको हो । नेप्से ओरालो लाग्दा कम्पनीहरूको सेयर मूल्य पनि घट्ने भएकाले कुल बजार पुँजीकरण ७ अर्ब ४१ करोड ५६ लाख रुपैयाँले घटेको छ । बुधबार ४ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ रहेकामा बिहीबार ४ खर्ब ३२ अर्ब ४८ करोड रुपैयाँमा कायम भएको छ ।
कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा कमी हुनु हो । यही आधारमा पुँजीकरण घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको तथा सेयर बजारको आकार खुम्चिएको रूपमा विश्लेषण गरिएको हो ।
