आँबुखैरेनी–जामुने सडक विस्तार सकिने चरणमा

४१.४५ किमि दुरीको आँबुखैरेनी–जामुने खण्डमा निर्माण प्रगति ८७ प्रतिशत, कालोपत्र सकेर फुटपाथ निर्माण र रङरोगन गरिँदै

असार १३, २०८२

विमल खतिवडा

Anbukhaireni-Jamune road is in the process of being extended

काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–पोखरा सडक खण्डको दुरी ८०.३३ किलोमिटर छ । यसलाई दुई खण्डमा विभाजन गरेर सडक विस्तारको ठेक्का गरिएको छ । पहिलो आँबुखैरेनी–जामुने र दोस्रो जामुने–पोखरा ।

४१.४५ किमि दुरी रहेको पहिलो खण्डको ठेक्का सम्झौता २०७७ माघ ८ मा भएको हो । काम भने २०७८ वैशाख २ बाट सुरु गरियो । चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनीले लिएको ठेक्काको म्याद २०८१ वैशाख २ सम्म मात्र म्याद थियो । तर उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक समय थप गरेर २०८१ असोजसम्म पुर्‍याइयो । तर पनि काम सकिएन । तेस्रो पटक म्याद थपेर फागुनसम्म पुर्‍याइयो, काम सकिएन । अहिले २०८२ असारसम्म म्याद थपिएको छ । पछिल्लो पटक थपिएको समयमा काम सकिने दाबी आयोजनाको छ ।

आँबुखैरेनी–जामुने खण्डमा निर्माण प्रगति ८७ प्रतिशत छ । यस खण्डको ठेक्का रकम ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँ छ ।

अहिले यस खण्डको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । समग्रमा आँबुखैरेनी–पोखराको भौतिक प्रगति ७० प्रतिशत छ । तर यस खण्डको साढे ८ किमिमा अझै ठेक्का हुन सकेको छैन । 

पहिलो खण्डमा कालोपत्रको काम सकिसकेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक चूडाराज ढकालले बताए । ‘दुई तहको कालोपत्रको काम सकिसकेको छ,’ उनले भने, ‘तर पहिरो व्यवस्थापनको काम भइसकेको छैन ।' ठेक्का गर्दा पहिरोको संख्या थोरै भए पनि पछि थपिएकाले अहिले त्यसमा काम भइरहेको उनको भनाइ छ ।

'पहिलो खण्डमा साना–ठूला गरेर ५५ वटा पहिरा छन्, जसमा ८ वटा ठूला छन्,’ ढकालले भने, ‘पहिरो व्यवस्थापन, ट्राफिक सुरक्षा, फुटपाथ, रङरोगन नसकिदाँसम्म पूरै काम सकिँदैन, अब त्यही काम गर्न मात्र बाँकी छ ।’

दोस्रो खण्ड जामुने–पोखरा खण्डको ठेक्का सम्झौता २०७८ जेठ ३ मा भएको हो । काम भने २०७८ भदौ १३ बाट सुरु भएको हो । सुरु सम्झौताअनुसार सक्नुपर्ने समयावधि २०८१ भदौ १२ सम्म हो ।

यानहुई काइयुआन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ठेक्का लिएको यस खण्डको अहिलेसम्म ५५ प्रतिशत प्रगति छ । यस खण्डमा तीन वटा पहिरोको समस्या रहेको उनको भनाइ छ । दुवै खण्डको विस्तार एडीबीको सहुलियतपूर्ण ऋणमा अघि बढाइएको हो । यस खण्डको दुरी ३८.८८ किमि छ । यसको म्याद २०८२ मंसिरसम्म छ । अहिलेसम्म यस खण्डमा ३७ किमि एकतर्फी कालोपत्र भएको छ, जसमा २६ किमि दुईतर्फी कालोपत्र भएको आयोजनाले जनायो । यस खण्डको ठेक्का रकम ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँ छ ।

यही सडक खण्डमा पर्ने सेती र मादी पुलको ठेक्का छुट्टै गरिएको छ । सेती पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको हो । यसको ठेक्का रकम १ अर्ब ७ करोड २४ लाख रुपैयाँ छ । यस खण्डको अहिलेसम्म निर्माण प्रगति ४६ प्रतिशत छ । यसको लम्बाइ १ सय ९० मिटर रहेको र दुई–दुई लेनका दुई पुल निर्माण गरिएको हो । मादी पुलको ठेक्का अनक–जेटआईईसी जेभीले लिएको हो । यसको निर्माण प्रगति ७० प्रतिशत छ । ३ सय ९० मिटर लामो यो पुल चार लेनको हुनेछ । दुवै पुलको ठेक्का २०७९ साउन २६ मा भएको हो ।

Anbukhaireni-Jamune road is in the process of being extended

यसको म्याद २०८२ भदौ २१ सम्म मात्र छ । ‘दुवै पुलको डिजाइन स्वीकृत गर्न ९ महिना लाग्यो, त्यसमा पनि सेती पुल निर्माणमा प्रगति कम छ, यो नयाँ प्रविधिको पुल पनि भयो । त्यसैले काम गर्न समय लाग्यो,’ ढकालले भने, ‘मादी पुलमा प्रगति छ । चार महिना समय थप्दा काम सकिन्छ ।' सेती पुलमा नयाँ प्रविधिमा काम भइरहेकाले अझै केही समय लाग्ने उनले बताए । यस सडक खण्डको बजार क्षेत्रमा ६ लेन र अन्यत्र चार लेनमा सडक विस्तार गरिएको छ । ‘कास्कीमा १९ किमि र तनहुँको डुम्रे र दमौलीमा डेढ किमि सडक ६ लेनमा निर्माण गरिएको छ,’ उनले भने, ‘अन्यत्र चार लेनमा विस्तार गरिएको छ ।’

यता मुग्लिनबाट आँबुखैरेनीतर्फ जाने सडक साँघुरो छ । तर सवारी चाप भने उच्च छ । अत्यधिक सवारी चाप हुने उक्त खण्डमा मर्स्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस पर्छ । फेरि यो अप्ठ्यारो र जटिल खण्डभित्र पर्ने आयोजना निर्देशक ढकालको भनाइ छ । जहाँ साँघुरो सडकका कारण दुर्घटनाको जोखिम पनि उच्च छ, उक्त खण्डको साढे ८ किमि सडकमा ठेक्का व्यवस्थापन हुन नसकेको हो ।

मुग्लिन पारिबाट सडक निर्माणको ठेक्का प्रक्रिया अघि बढाउने गरी वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ । एडीबीको सन् २०२६ मा सुरु हुने नयाँ आयोजनाअन्तर्गत उक्त खण्डलाई राखेर काम थालिने उनको भनाइ छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully