१४ जनालाई उत्कृष्ट कृषक पुरस्कार

असार १०, २०८२

कान्तिपुर संवाददाता

Best farmer award to 14 people

काठमाडौँ — देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मनत्रालयद्धारा राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी एक प्रदेशबाट दुई जनालाई पुरस्कार प्रदान गरेका हुन् । 

पुरस्कृत हुने कृषकहरुमा कोशी प्रदेशवाट सुरेशकुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह (रमेश कृषि फर्म) मधेश प्रदेशबाट भरतकुमार यादव( शम्भुनाथ माछा फर्म) र हिराबहादुर थापा मगर (निजगढ केरा एग्रीकल्चर) बागमती प्रदेशबाट चेतप्रसाद ढकाल (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसी (ग्रीनलाईन एग्रो प्रालि) गण्डकी प्रदेशवाट छिरिङ ढोका गुरुङ (ङवाङ हिसी कृषि तथा पशुपन्छी  अर्गानिक फर्म) र बाटुली तिवारी(मित्र वाटिका कृषि फर्म), लुम्बिनी प्रदेशवाट जयपाल मौर्य(खाधन्न वाली) र सुवास कुर्मी ( शान्ती उन्नत  पशुपालन तथा माछा फर्म) रहेका छ्न् ।

त्यस्तै, कर्णाली प्रदेशवाट गोविन्द ओली (तरकारी खेती) र भरतनाथ योगी( सुन्तला खेती) र सुदूरपश्चिम प्रदेशबाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म) र लोकबहादुर थापा  (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली) रहेका छन् । 

पुरस्कृत कृषकलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति  रामचन्द्र पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहान गर्नुपर्ने उल्लेख गरे ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा स्वीकृत 'राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१' अनुसार देशभरका ७ वटै प्रदेश मन्त्रालयबाट उत्कृष्ट कृषकको रुपमा छानिएर आएका १४ जना कृषकको योगदानको उच्च मूल्यांकन हुनु ऐतिहासिक अवसर भएको उल्लेख गरे । ‍

कान्तिपुर

Link copied successfully