राजावादीको प्रदर्शनमा भएको क्षतिमा बिमाबाट डेढ करोड मात्र भुक्तानी

हुलदंगामा ४ करोड २१ लाख ८० हजार रुपैयाँको दाबी, १ करोड ५८ लाख ४५ हजार भुक्तानी 

असार ९, २०८२

कान्तिपुर संवाददाता

Only one and a half crores paid by insurance for damage caused by Rajawadi's performance

काठमाडौँ — गत चैत १५ मा राजावादीको प्रदर्शनमा भएको क्षतिमा डेढ करोड रुपैयाँको मात्र दाबी भुक्तानी भएको छ । हुलदंगामा ४ करोड २१ लाख ८० हजार रुपैयाँ बराबर बिमा दाबी परेकामा जेठ अन्तिम सातासम्म १ करोड ५८ लाख ४५ हजार रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ । 

प्रदर्शनका क्रममा सरकारी तथा निजी सवारीसाधन, भवनलगायत भौतिक संरचना तोडफोड हुँदा ४६ करोड ९० लाख ८५ हजार ३ सय ४० रुपैयाँ बराबरको क्षति मागदाबीसहित प्रहरीमा जाहेरी परेको थियो । बिमा कम्पनीमा भने करिब सवा ४ करोडको मात्र दाबी परेको थियो । तोडफोड भएकामध्ये निकै थोरै सम्पत्ति–व्यवसायको मात्र बिमा भएकाले दाबी पनि कम परेको बताइएको छ ।

 यस आधारमा प्रदर्शनमा भएको क्षतिको कुल दाबीमध्ये सवा ४२ करोडभन्दा बढीको बिमा छैन । उनीहरूको क्षति कसले बेहोर्छ भन्ने यकिन छैन । प्रदर्शनमा ५६ वटा घर, संस्था एवं कार्यालयमा भएको तोडफोड तथा आगजनीबाट ३९ करोड ९२ लाख ३६ हजार ६ सय ७६ रुपैयाँको क्षति पुगेको प्रहरीले जनाएको छ । यसमध्ये १५ निजी घर, ३७ निजी संस्था (दुई सञ्चार गृह, एउटा सुपर मार्केट, दुई अस्पताल, चार बैंक, दुई सहकारी, २० व्यवसाय, एक विद्यालय, दुई पार्टी कार्यालय र तीन कार्यालय), एक उद्योग, दुई प्रहरी कार्यालय र ट्राफिक आइल्यान्ड रहेको प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडमा ६९ सवारीसाधनमा क्षति पुगेको प्रहरीको तथ्यांक छ । त्यसमध्ये ६३ चारपांग्रे र ६ दुईपांग्रे सवारी छन् । क्षति पुगेका सवारीमध्ये नेपाल प्रहरीका ७, अन्य सरकारी कार्यालयका १०, सार्वजनिक संस्थानका १, निजी १८ र बाँकी ३३ वटा नम्बर नखुलेका सवारी रहेका प्रहरीको तथ्यांक छ । सवारीसाधनमा भएको क्षति मात्र ६ करोड ८७ लाख ७७ हजार ६ सय ५० रुपैयाँको रहेको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा १० लाख ७१ हजार रुपैयाँ बराबरका ८ सीसीटीभीमा क्षति 

पुगेको छ । उल्लिखित सबै क्षतिको विवरण प्रहरीले संकलन गरे पनि क्षतिपूर्तिको निश्चितता भने छैन ।

बिमा कम्पनीहरूमा हालसम्म परेको दाबीअनुसार २४ वटा निजी गाडी, २१ वटा घर तथा व्यवसाय (सम्पत्ति), २ वटा सार्वजनिक गाडी, १ वटा इन्जिनियरिङ तथा ठेकेदार जोखिम र अन्य २ वटा गरी कुल ५० वटा दाबी परेको प्राधिकरणको भनाइ छ । यसअनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बिमामा परेको छ । २१ वटा आवेदनमा २ करोड ५३ लाख ८८ हजार रुपैयाँ बराबरको दाबी परेको हो । जसमा हालसम्म कम्पनीहरूले ११ वटा घर तथा व्यवसायको ५९ लाख २७ हजार रुपैयाँ भुक्तानी भएको छ । १० वटा घर तथा व्यवसायको १ करोड ९० लाख ७३ हजार रुपैयाँ भुक्तानी हुन बाँकी छ । 

मोटर बिमा (निजी) मा १ करोड ३५ लाख ८२ हजारको दाबी परेकामा हालसम्म १६ वटाको ७२ लाख ५६ हजार रुपैयाँ भुक्तानी भएको छ । इन्जिनियरिङ तथा ठेकेदार जोखिमका १ दाबीमा ५ लाख र विविधमा १० लाख रुपैयाँ बराबरको दाबी परेको थियो । यसमध्ये इन्जिनियरिङ तथा ठेकेदार जोखिममा कुनै भुक्तानी भएको छैन भने विविधमा सबै (१० लाख) रुपैयाँकै दाबी भुक्तानी भएको छ । 

यद्यपि हालसम्म परेका दाबीमध्ये अझै २ करोड ५५ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ ।मापदण्ड पुगेका आवेदन (दाबी) को हकमा कम्पनीहरूले भुक्तानीमा कुनै आनाकानी नगरेको नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए । ‘प्रायः आवेदनमा वास्तविकभन्दा बढी दाबी गरिएको हुन्छ । तर सर्भेयरले मूल्यांकन गर्दा निकै कम मात्र क्षति देखिन आउँछ,’ उनले भने, ‘कम्पनीका तर्फबाट भुक्तानीमा कुनै समस्या छैन, बरु छिटो गर्नका लागि सहजीकरण गरिरहेका छन् ।’

हुलदंगाका कारण बिमितको धनसम्पत्तिमा भएको क्षतिबाट परेको बिमा दाबी छिटो फर्छ्योट गर्न सुरुमै प्राधिकरणले निर्देशन दिएको छ । तर परेको दाबीको आधाभन्दा कम छ । बिमा कम्पनीका कारण नभएर बिमितले सबै कागजात पेस गर्न नसक्दा धेरै भुक्तानी गर्न नसकेको नेपाल प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको दाबी छ । ‘दाबी परे पनि वास्तविक क्षति पत्ता लगाउन सर्भे (क्षति मूल्यांकन) गर्नुपर्ने हुन्छ । त्यो क्रममा धेरै बिमितले पर्याप्त कागजात दिन सक्नुभएको छैन,’ उनले भने, ‘सबै मापदण्ड पुगेकाको हकमा कम्पनीहरूले भुक्तानीमा ढिलाइ गरेका छैनन् ।’ 

कान्तिपुर

Link copied successfully