मेची भन्सारबाट चिया निर्यातमा सुधार, अलैंचीमा गिरावट

असारमा मात्रै दुई अर्बभन्दा बढी राजस्व संकलन गर्नुपर्ने दबाबमा भन्सार

असार ९, २०८२

नवराज सुवेदी

Improvement in tea exports from Mechi customs, decline in cardamom

झापा — काँकडभिट्टा नाकाबाट हुने चिया निर्यातमा सुधार भएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको ११ महिनामा चिया निर्यात ४० दशमलव ५ प्रतिशतले बढेको हो । यस अवधिमा ३ अर्ब ८६ करोड ६४ लाख ७८ हजार रुपैयाँको चिया निर्यात भएको कार्यालयको तथ्यांक छ ।

गत आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा २ अर्ब ७५ करोड २८ लाख ३२ हजार रुपैयाँको चिया निर्यात भएको थियो ।

निर्यात हुने प्रमुख वस्तुका रूपमा रहेको अलैंची निर्यात भने घटेको छ । चालु आर्थिक वर्षको ११ महिनामा ७ अर्ब १८ करोड १० लाख ७३ हजार रुपैयाँको अलैंची निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा ७ अर्ब ४६ करोड ६८ लाख ७६ हजारको अलैंची निर्यात भएको थियो ।

भन्सारले चालु आर्थिक वर्षको ११ महिनामा १४ अर्ब ४३ करोड ९२ लाख ३७ हजार राजस्व उठाएको छ । कार्यालयले गत साउनदेखि जेठसम्म लक्ष्यको ९१ दशमलव ५६ प्रतिशत राजस्व संकलन गरेको हो । यस अवधिमा कार्यालयले १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

गत आर्थिक वर्षको यही अवधिको तुलनामा भने चालु आर्थिक वर्षमा राजस्व संकलन १४ प्रतिशतले बढेको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा कार्यालयले ७७ दशमलव ५६ प्रतिशत राजस्व संकलन गरेको थियो । २०७९/८० को यही अवधिमा भने ६९ दशमलव ९४ प्रतिशत राजस्व संकलन गरेको थियो ।

अर्थ मन्त्रालयले मेची भन्सार कार्यालय काँकडभिट्टालाई राजस्व असुलीको वार्षिक लक्ष्य १७ अर्ब ३४ करोड ४६ लाख ३७ हजार रुपैयाँ दिएको छ । कार्यालयलाई वार्षिक लक्ष्य पूरा गर्न असारमा मात्रै २ अर्ब ९ करोड ५४ लाख रुपैयाँ संकलन गर्नुपर्ने दबाब छ।

मेची भन्सार कार्यालयले गत आर्थिक वर्षमा पनि राजस्व संकलनको वार्षिक लक्ष्य भेटाउन सकेको थिएन । आर्थिक वर्ष २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । तर, लक्ष्यको ७८ दशमलव ४० प्रतिशत अर्थात् १४ अब २३ करोड ५२ लाख ६० हजार रुपैयाँ मात्रै संकलन गर्न भन्सार कार्यालय सफल भयो । यस वर्ष पनि सोही अवस्था दोहोरिन सक्ने भन्सार अधिकारी बताउँछन् ।

कार्यालयले लक्ष्य पूरा गर्न असारमा मात्रै २ अर्ब ९ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन गर्नुपर्छ । तर, कार्यालयकै यसअघिका महिनामा संकलित राजस्व अभिलेख एकै महिनामा यति धेरै राजस्व रकम संकलन भएको देखिँदैन । यहाँ सबैभन्दा धेरै राजस्व संकलन पेट्रोलियम पदार्थको आयातबाट भएको देखिन्छ । ६ अर्ब ९३ करोड ३१ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन पेट्रोलियम पदार्थको आयातबाट भएको छ । अर्थात् राजस्व संकलनको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा ६० दशमलव ८१ प्रतिशत छ ।

नवराज सुवेदी

Link copied successfully