मर्स्याङ्दी तथा दोर्दी करिडोरका जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन हुने
काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भरतपुरस्थित नयाँ भरतपुर २२० केभी सबस्टेशनको अनुगमन गरेका छन्। सोमबार प्राधिकरणको प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक राजन ढकालसहितको शाक्यको प्राविधिक टोलीले अनुगमन गरेका हुन् ।
शाक्यले दमौली–भरतपुर १३२ केभी लाइनलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नयाँ भरतपुर सबस्टेशनमा देखिएको प्राविधिक समस्या छिटोभन्दा छिटो समाधान गर्न निर्देशन दिँदै आवश्यक प्राविधिक परामर्श समेत गरे ।
दमौली–भरतपुर १३२ केभी प्रसारण लाइनको विद्युत् वहन क्षमता यसअघि ७० मेगावाट थियो। उक्त क्षमता करिब १३० मेगावाट पुर्याउन कन्डक्टर परिवर्तन गरिएको थियो। तर नयाँ भरतपुर २२० केभी सबस्टेशनमा देखिएको प्राविधिक जटिलताका कारण लाइन पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको थिएन।
निजी ऊर्जा उत्पादकहरूले मर्स्याङ्दी तथा दोर्दी करिडोरमा निर्माण गरेका जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् सहज रूपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न उक्त लाइनले महत्वपूर्ण भूमिका खेल्ने भन्दै आएका छन्। त्यसैले प्राविधिक समस्या समाधान गरेर वृद्धि भएको विद्युत् वहन क्षमता अनुसार लाइन सञ्चालन गर्न अपरिहार्य रहेको कार्यकारी निर्देशक शाक्यले बताए।
सबस्टेशनमा आवश्यक कार्य एक–दुई दिनमै सम्पन्न गर्न हेटौंडा ग्रिड महाशाखालाई निर्देशन दिइएको छ। प्राधिकरणका प्रवक्ता ढकालले सबस्टेशन तथा प्रसारण लाइनमा देखिएका समस्या समाधान गरी सबै विद्युत्गृह तथा प्रसारण लाइनहरू पूर्ण क्षमतामा सञ्चालन गरिने जानकारी दिए।
