काठमाडौँ — सरकारले बजेटमा ल्याएको विद्युत् खरिद सम्झौतामा 'टेक एन्ड पे' (लिउ र तिर) प्रावधान फिर्ता लिन ऊर्जा प्रवर्द्धकहरुले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र ऊर्जामन्त्री दीपक खड्का तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई एकैपटक 'एसएमएस' पठाएका छन् ।
पूर्वघोषित आन्दोलनका कार्यक्रमअन्तर्गत शनिबार बिहान १० बजे एकैपटक प्रधानमन्त्री ओली, अर्थमन्त्री पौडेल, ऊर्जामन्त्री खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई ऊर्जा उद्यमीहरुले 'टेक एन्ड पे' फिर्ता लिन 'एसएमएस' गरेका हुन् ।
'टेक एन्ड पे' पीपीएको व्यवस्था ऊर्जामा निजी क्षेत्रको लगानी बन्द गर्नेगरी ल्याइएको भन्दै उनीहरुले एसएमएसमा 'ऊर्जामा निजी क्षेत्र समाप्त पार्ने, लोडसेडिङ निम्त्याउने, लगानीकर्तालाई डुबाउने र देशको अर्थतन्त्र सिध्याउने 'टेक एन्ड पे' पीपीए खारेज गर,' उल्लेख गरेका छन् ।
सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रले निर्माण गर्ने नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) 'टेक एन्ड पे' अवधारणा अनुसार मात्र गरिने उल्लेख गरेदेखि नै ऊर्जा उद्यमीहरुले त्यसको कडा शब्दमा विरोध गर्दै आइरहेकामा असार ६ देखि चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
ऊर्जा उत्पादकहरुको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का कार्यवाहक अध्यक्ष एवं इप्पान आन्दोलन समितिका संयोजक मोहनकुमार डाँगीले 'टेक एन्ड पे' फिर्ता लिन सरकारलाई दबाब दिन एकैपटक एसएमएस गरिएको जानकारी दिए ।
डाँगी नेतृत्वको आन्दोलन समितिले आन्दोलनको पहिलो दिन प्रधानमन्त्री ओलीलालाई भेटेर ज्ञापनपत्र बुझाइएको थियो भने आन्दोलनको तेस्रो दिन असार ८ गते बिहान ११ बजे सामाजिक सञ्जालमा सबैले एकैपटक 'टेक एन्ड पे' पीपीए हटाउन सन्देश लेखेर दबाब दिने कार्यक्रम छ ।
