रोपाइँअघि भित्रियो १८ हजार टन युरिया मल

वीरगन्ज प्रादेशिक कार्यालयलाई ७ हजार ६ सय ५० टन, भैरहवा प्रादेशिक कार्यालयलाई ५ हजार १ सय र विराटनगर कार्यालयलाई ५ हजार २ सय ५० टन मल 

असार ६, २०८२

शंकर आचार्य

18,000 tons of urea fertilizer was applied before planting

पर्सा — रोपाइँ नजिकिँदै गरेका बेला साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीको युरिया मल वीरगन्ज नाका हुँदै भित्रिन थालेको छ । मल आपूर्तिको जिम्मेवारी पाएका देशका यी दुई संस्थानले ग्लोबल टेन्डरबाट आयात गरेको युरिया क्रमशः भित्रिन थालेको हो । 

दुवै संस्थानका लागि युरिया आपूर्ति गर्ने कम्पनी सन इन्टरनेसनल हो । सनले ल्याएको साल्टको एक र्‍याक युरिया मल मंगलबार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह आइपुगेको छ । १८ हजार टनको यो कन्साइन्मेन्टअन्तर्गत वीरगन्ज प्रादेशिक कार्यालयले ७ हजार ६ सय ५० टन मल पाउने साल्टका मधेश प्रादेशिक कार्यालय वीरगन्ज प्रमुख अमोज लामिछानेले जनाए । भैरहवा प्रादेशिक कार्यालयले ५ हजार १ सय र विराटनगर कार्यालयले ५ हजार २ सय ५० टन मल पाउनेछन् । वीरगन्ज र भैरहवाको मल वीरगन्ज नाका हुँदै भित्रिँदै छ । 

रोपाइँ सुरु भएका बेला भित्रिन थालेको मलले स्वदेशी किसानको मलको माग धेरै हदसम्म भरथेग गर्ने लामिछानेले जनाए । ‘भर्खरै यसअघिको कन्साइन्मेन्टको युरिया मल हामीले परिचालन गरेका छौं,’ उनले भने, ‘अब यो कन्साइन्मेन्टको मलले धेरै हदसम्म मलको माग धान्नेछ ।’ 

यता कृषि सामग्री कम्पनीको युरिया मल पनि बिहीबारदेखि भित्रिन थाल्ने कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकारी तथा सहायक प्रमुख पुरुषोत्तम सिंहले जानकारी दिए । कोलकाता बन्दरगाहबाट युरिया मल बोकेको एक रेलवे र्‍याक वीरगन्जका लागि सोमबार नै हिँडिसकेको उनले बताए । बिहीबारसम्म यो रेलवे र्‍याक सीमावर्ती भारतीय सहर रक्सौल रेलवे स्टेसन आइपुग्ने सिंहले जनाए । यो कन्साइन्मेन्टबाट २१ हजार ५ सय टन युरिया मल भित्रिने सिंहको भनाइ छ । वीरगन्ज, भैरहवा र विराटनगर प्रादेशिक कार्यालयले यो मलबाट भागबन्डा पाउनेछन् । 

यसअघिकै ३० हजार टनको अर्को कन्साइन्मेन्टबाट कम्पनीले ३० हजार टन युरिया भित्र्याइरहेको छ । त्यसमध्ये ६ रेलवे र्‍याकमा १५ हजार टन युरिया वीरगन्ज नाका हुँदै भित्रिइसकेको र बाँकी भित्रिने क्रममा रहेको सिंहले बताए । विराटनगरबाट पनि यो कन्साइन्मेन्टको मल भित्रिइरहेको छ । 

पुरानो र नयाँ भित्रिन लागेको मलले कार्यालयको कार्यक्षेत्रका मधेश, बागमती र गण्डकी प्रदेशका डेढ दर्जन जिल्लामा युरिया मलको सहज उपलब्धता हुने सिंहले बताए । ‘रोपाइँअघि यसरी नै युरिया मल भित्रिएपछि हामीलाई किसानलाई मल आपूर्ति गर्न सहज हुन्छ,’ उनले भने, ‘हाल भित्रिन थालेको मलको आपूर्तिमा कुनै बाधा अवरोध नभए रोपाइँ सुरु हुनुअघि नै सबै मल भित्रिसक्छ ।’

शंकर

Link copied successfully