११ महिनामा साढे १६ खर्बको वस्तु आयात, साढे २ खर्बको निर्यात

असार ६, २०८२

कान्तिपुर संवाददाता

In 11 months, import of 16 and a half billion goods, export of 2 and a half billion

काठमाडौँ — चालु आर्थिक वर्षको ११ महिनामा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको वस्तु आयात गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँको वस्तु आयात भएको थियो । 

गत आर्थिक वर्ष १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढी रहेको विभागले जनाएको छ । 

सबैभन्दा बढी डिजेल, भटमासको कच्चा तेल, पेट्रोल, खाना पकाउने ग्यास लगायत आयात भएको छ । ११ महिनामा डिजेल मात्रै १ खर्ब १५ अर्ब ५५ करोड १ लाख रुपैयाँको आयात भएको छ । कच्चा भटमासको तेल ९५ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ, पेट्रोलको ५८ अर्ब ५८ करोड ९० लाख, खाना पकाउने ग्यास ५७ अर्ब ३६ करोड ७७ लाख रुपैयाँको आयात भएको छ । 

निर्यात हुनेमा प्रशोधित भटमासको तेल, सनफ्लावरको बिउ र तेल, गलैंचा र अलैंचीलगायत छन् । प्रशोधित भटमासको तेलको ९३ अर्ब ५१ करोड ७१ लाख, सनफ्लावरको बिउ र तेल ११ अर्ब ३३ करोड ८९ लाख, गलैंचा ९ अर्ब ७८ करोड १० लाख र अलैंची ७ अबए १९ करोड ७ लाख रुपैयाँको निर्यात भएको छ । 

कान्तिपुर

Link copied successfully