काठमाडौँ — सेयर कारोबारमापक नेप्से परिसूचक बुधबार १.०७ अंकले घटेको छ। अघिल्लो दिनको तुलनामा ०.०४ प्रतिशतले घटेपछि बनेपछि समग्र नेप्से २ हजार ६ सय ५३.६८ अंकमा उक्लेर बन्द भएको छ।
आइतबार र सोमबार सामान्य अंकले बढेको नेप्से मंगलबार झिनो अंकले घटेको थियो । बुधबार पनि नेप्सेले मंगलबारकै प्रवृति पछ्याएको हो ।
सो दिन कारोबारमा आएकामध्ये ८८ कम्पनीको सेयर मूल्य बढ्यो भने १५९ वटाको घट्यो र एउटा कम्पनीको सेयर मूल्य स्थिर रहयो ।
बुधबार ७८ हजार १३ पटकको सेयर कारोबारमा २ करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । मंगलबार ७ अर्ब ६५ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये जलविद्युत्, जीवन बिमा, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष र अन्यको परिसूचक बढे । बाँकी ८ उपसमूहको परिसूचक घटेपनि समग्र नेप्से झिनो अंकले ऋणात्मक भएको हो ।
