होटल र बिमाको सेयर मूल्य धेरै घट्दा बढ्न सकेन नेप्से

कारोबारमा आएका १३ उपसमूहमध्ये १० वटाको परिसूचक घट्यो, होटल, बिमा र बैंकिङको धेरैले घट्दा नेप्सेमा धक्का 

असार ४, २०८२

कान्तिपुर संवाददाता

NEPSE could not increase as the share prices of hotels and insurance fell a lot

काठमाडौँ — आइतबार र सोमबार नेप्से परिसूचक सामान्य अंकले सकारात्मक भएर बन्द भए पनि यो सुधार मंगलबारसम्म पनि टिकेन । जसअनुसार ३.९० अंकले घट्दा मंगलबार समग्र नेप्से २ हजार ६ सय ५४.७५ अंकमा ओर्लेको छ । अघिल्ला दुई कारोबार दिन नेप्से सामान्य अंकले बढे पनि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको थियो । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

सो दिन समग्र नेप्से करिब चार अंकले घट्दा होटल तथा पर्यटन क्षेत्र र बिमा उपसमूहको परिसूचकमा उच्च अंकको गिरावट आएको छ । सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये १० वटाको परिसूचक घटे भने जलविद्युत्, लघुवित्त र व्यापारको बढे । घट्ने उपसमूहमध्ये होटल, बिमा र बैंकिङ उपसमूहको परिसूचक धेरैले घटेपछि नेप्सेको वृद्धिमा धक्का पुग्को हो । सो दिन होटल तथा पर्यटन क्षेत्र ११४.०१ अंकले घट्दा लघुवित्त ५१.७७ अंकले बढेको छ ।

कुल ९९ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ४८ कम्पनीको मूल्य घट्यो । कुल ७० हजार ७७ पटकको किनबेचबाट १ करोड ६४ लाख ७ सय ७५ कित्ता सेयर किनबेच भयो । 

सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम पनि घटेको छ । सोमबार १३ अर्ब १८ करोड रुपैयाँ सेयर कारोबार भएकामा मंगलबार कारोबार रकम ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँमा सीमित भएको छ । 

सो दिन जलविद्युत् उपसमूहको परिसूचक ९.८५ अंकले बढ्यो । यही कारण धेरै कमाउने र उच्च कारोबार गर्ने कम्पनीको सूचीमा सोही क्षेत्रको वर्चस्व छ । जसअनुसार पियोर इनर्जीको ९.९९, बुटवल पावर कम्पनीको ७.२३, माथिल्लो हेवाखोलाको ५.२८, विन्दाबासिनी हाइड्रोपावरको ५.१६ र सामुदायिक लघुवित्तको ७.१३ प्रतिशतले सेयर मूल्य बढ्दा ती कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । तर, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४.६२, नारायणी विकास बैंकको ३.९४, सिन्धु विकास बैंकको ३.७७, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ३.२१ र ओरियन्टल होटल्सको २.८७ प्रतिशतले सेयर मूल्य घट्दा यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

सो दिन कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर, बुटवल पावर कम्पनी, ङादी ग्रुप पावर, राधी विद्युत् कम्पनी र सोल्टी होटल क्रमशः प्रमुख पाँच कम्पनीका रूपमा रहे । जसअनुसार सानिमा माई हाइड्रोपावरको ७४ करोड ९६ लाख, बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख, ङादी ग्रुप पावरको ४६ करोड ११ लाख, राधी विद्युत् कम्पनीको ३८ करोड १८ लाख र सोल्टी होटलको ३० करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । नेप्से घट्दा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) ६ अर्ब ५० करोड ४२ लाख रुपैयाँले घटेको छ ।

सोमबार ४४ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण मंगलबार ४४ खर्ब २२ अर्ब ९६ करोड रुपैयाँ कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण घट्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा कमी हुनु हो । यही आधारमा पुँजीकरण घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य घटेको रूपमा विश्लेषण गरिन्छ । पछिल्ला दिनमा अपेक्षित रूपमा नेप्से बढ्न नसक्नुमा लगानीकर्ताले मौद्रिक नीति पर्खेको हुन सक्ने जानकारहरू बताउँछन् ।

कान्तिपुर

Link copied successfully