गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक होटल निर्माणले लियो गति, विमानस्थलदेखि बुद्धचोकसम्म ३ किलोमिटर क्षेत्रमै एक दर्जन ठूला होटल सञ्चालनमा
भैरहवा — रूपन्देहीका पर्यटन व्यवसायी समयसमयमा सीमा नाका बेलहिया हुँदै मुलुक आउजाउ गर्ने पर्यटकलाई सुरक्षा जाँचका नाममा दुःख दिइएको र अध्यागमन कार्यालय व्यवस्थित नभएको जनाउँदै विरोधमा उत्रिन्छन् ।
पछिल्लो समय जिल्लालाई अन्तर्राष्ट्रिय क्षेत्रसित जोड्ने गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएपछि उनीहरूले विमानस्थलको गेटमा धर्नामा बस्नेदेखि विरोध प्रदर्शन गर्दै आएका छन् । निजी क्षेत्र बारम्बार आन्दोलिन हुनुपर्ने कारण उनीहरूले होटल पूर्वाधार र हस्पिटालिटी क्षेत्रमा गरेको लगानीको सुरक्षा हो ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने र रूपन्देहीलाई ‘ट्रान्जिट’ बनाएर पोखरा, मुक्तिनाथ, चितवन, काठमाडौंलगायत गन्तव्यमा ओहोरदोहोर गर्ने भारतीय पर्यटक लक्ष्य गरेर होटल व्यवसायमा लगानी ओइरिएको छ । पहिले बुटवल, भैरहवा र लुम्बिनीमा केन्द्रित होटल व्यवसाय अहिले जिल्लाभरि फैलिएको छ । यहाँ पर्यटकीय सेवा प्रदान गर्ने साना, मझौलादेखि ठूला र स्तरीय होटलको संख्या हवात्तै वृद्धि भएको छ । पछिल्लो समय ५ सयदेखि एक किलोमिटर दूरीको अन्तरमा तारे होटल सञ्चालनमा छन् । केही निर्माणाधीन छन् । सहर मात्र होइन, ग्रामीण क्षेत्रमा समेत तारे होटल सञ्चालन गरिएका छन् ।
व्यावसायिक संघसंस्थामा आबद्ध नभए पनि पाहुनालाई आतिथ्य प्रदान गर्न ग्रामीण क्षेत्रमा समेत साना–ठूला होटल सञ्चालन गरिएका छन् । जिल्लाका १६ पालिकाका केन्द्रमा अहिले पाहुना र कार्यक्रम सञ्चालनका लागि यस्ता व्यवसायमा लगानी गरिएको छ । खोला किनार होस् कि माछा पहाड–जंगलको नजिक किन नहोस्, आकर्षक रिसोर्ट खुलेका छन् । परम्परागत रूपमा चलिरहेका होटलले लगानी थपेर सेवा, सुविधा बिस्तार गरेका छन् । जिल्लाका बेलबास–बेथरी सडक खण्ड आसपास, देवदह, सैनामैना, शुद्धोदन, सियारी, सालझन्डी बजारमा स्तरीय पाहुना घरको कमी छैन । त्यहाँ लगानी थपिने क्रम जारी छ । विवाह, व्रतबन्ध र सार्वजनिक कार्यक्रम लक्ष्य गरेर ठूला ब्यांक्वेट हल निर्माण गरिएका छन् । जिल्लामा जलक्रीडाका लागि आधा दर्जन वाटरपार्क छन् ।
पहिले सहर केन्द्रित होटल व्यवसाय बुटवल–बेलहिया व्यापारिक मार्ग र भैरहवा–लुम्बिनी सडक आसपास केन्द्रित छ । व्यापारिक मार्गअन्तर्गत भैरहवाको बेलहियादेखि बुटवलको चिडियाखोलासम्म सडक दायाँबायाँ ४ दर्जनभन्दा बढी स्तरीय होटल निर्माण भएका छन् । त्यस्तै भैरहवाको बुद्धचोकदेखि लुम्बिनीसम्म साना–ठूला एक दर्जनभन्दा बढी होटल खुलेका छन् । मुख्य मार्गबाहेक माछा पर्यटनका लागि प्रसिद्ध सियारी गाउँपालिकामा मात्रै एक दर्जन होटल सञ्चालनमा छन् । जिल्लाको मध्यभागमा रहेको तिलोत्तमा नगरपालिका क्षेत्र तारे होटल सञ्चालनको केन्द्र बन्न लागेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा ८० भन्दा बढी होटल छन् ।
जिल्लामा परम्परागत ‘होटल हब’ भन्दा फरक क्षेत्रमा सञ्चालनमा आएका होटल पर्यटकको रोजाइ बनेका छन् । नयाँ होटलमा पर्यटकको रुचिलाई ख्याल गरिएकाले पाहुना लोभ्याउने गरेको पर्यटन व्यवसायी बताउँछन् । भैरहवा आसपास बेलहिया, लुम्बिनीदेखि उत्तर मंगलापुरसम्म १ सय ५० स्तरीय होटल खुलेको सिद्धार्थ होटल संघ नेपालले जनाएको छ । पाँच, चार र तीनतारेसँगै पर्यटकीय सेवाका लागि खुलेका ७० होटल संघमा आबद्ध छन् । तिनमा पाँचतारे टाइगर प्यालेस बाई सोल्टी, सिद्धार्थ भिलासा पनि छन् ।
भैरहवामै चारतारे स्तरका नान्स, मौर्या, पौवा, रेडसन, निर्वाणा, एसियन बुद्ध, भैरहवा एयरपोर्ट होटल र भैरहवा गार्डेन रिसोर्ट छन् । पछिल्लो समय सञ्चालनमा आएको बुद्ध रिजेन्सीसँगै, ल्यान्डमार्क भैरहवा, अल्ट्रा, हिडन प्यालेस, सनस्टार, मेरिगोल्ड प्यालेस, यती, समृद्धि र बेलहिया नाकामा पर्यटकीय होटल छन् । भैरहवाको बुद्धचोकदेखि बेलहिया नाकासम्म घरैपिच्छे होटल छन् ।
अन्तर्राष्ट्रिय विमानस्थल नजिक होटल निर्माणले गति लिएको छ । विमानस्थलदेखि बुद्धचोकसम्म तीन किलोमिटर क्षेत्रमा अहिले एक दर्जन होटल सञ्चालनमा छन् । केही निर्माणाधीन छन् । अन्तर्राष्ट्रिय विमानस्थलका कारण लगानी ओइरिएको सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश (सीपी) श्रेष्ठले बताए । ‘केही होटल निर्माण योजनामै छन्,’ उनले भने, ‘पर्यटक आएपछि होटल चल्छन्, होटल चलेपछि बैंकले लगानी गर्छन् ।’ विमानस्थललाई लक्ष्य गरेरै होटल व्यवसायमा अहिलेसम्म ६० देखि ७० अर्ब रुपैयाँ लगानी भइसकेको उनको भनाइ छ ।
जिल्लाभरका सबै होटलको निर्माण पूरा भइसकेपछि एक खर्ब हाराहारी लगानी पुग्ने उनले जनाए । भैरहवा र आसपासमात्रै तारे होटलमा एक दिनमा २ हजार र अन्य स्तरीय होटलमा ४ हजार जनालाई बसाउने क्षमता रहेको उनको भनाइ छ । सीमावर्ती क्षेत्रमा होटलमा भारतीय पर्यटक गरेर ८ वटा मिनी क्यासिनो र टाइगर प्यालेस बाई सोल्टीमा लाइभ क्यासिनो सञ्चालनमा छन् ।
भैरहवामा स्तरीय होटल सञ्चालनमा आएपछि अहिले भारतीय पर्यटकको आगमन बढेको छ । बौद्ध धर्मप्रति आस्थावान् लुम्बिनी र बुद्धस्थल भ्रमण गर्न आउने श्रेष्ठको भनाइ छ । पछिल्लो समय त्यस्ता पर्यटक बास बस्न भैरहवा आइरहेका छन् । तीबाहेक बाह्रै महिना परिवारसहित भारतीय पर्यटक यहाँ आउने गरेका छन् । ‘अहिले मनोरञ्जन उद्देश्यले भैरहवा र आसपासका क्षेत्रमा आउने भारतीय पर्यटकीयको संख्या धेरै छ,’ उनले भने, ‘परिवारसहित आउने भएकाले रमझमसँगै मिठा परिकार र सुविधायुक्त कोठा खोज्छन्, यस्तै पाहुनाका कारण स्तरीय होटल धानिएका छन् ।’
बुटवल–नारायणगढ खण्ड विस्तार भइरहेकाले सिद्धार्थ राजमार्ग भएर पाल्पा हुँदै पोखरा जाने पर्यटकको संख्या उलेख्य रहेको छ । यसरी आउने पर्यटकलाई ‘चेकिङ’ का नाउँमा ठाउँठाउँमा खानतलासी गर्न नहुने श्रेष्ठले बताए । ‘यसरी झन्झट बेहोरेका पर्यटकले आफ्नो ठाउँ फर्किएपछि नेपालका बारेमा नकारात्मक कुरा फिजाउँछन्,’ उनले भने, ‘त्यसैले नाकामा सुरक्षा जाँचमा एकद्वार प्रणाली अपनाउन जरुरी छ ।’
यहाँको होटल व्यवसाय तिलोत्तमाको मणिग्रामदेखि दक्षिण र उत्तर गरेर दुई भागमा बाँडिएको छ । मणिग्रामदेखि उत्तर बुटवलको योगीकुटीसम्म एक दर्जन नयाँ होटल सञ्चालनमा छन् । मणिग्राममा ड्रिमल्यान्ड, मणिग्राम विश्राम वाटिका, स्वान रिजेन्सी, टुलिप, एसआर होटल, होटल डी क्राउन, पौवालगायत स्तरीय होटल छन् । योगीकुटीदेखि गोलपार्कसम्म द फेलिमिङ्गो, भेल्भेट लक्स, न्यु इरा, डेनेभो, पाल्म, ड्रिम इन्टरनेसल, डार्सिज, एभिन्युलगायत होटल सञ्चालनमा छन् ।
पछिल्लो समय बुटवल होटल र रेस्टुरेन्टको सहरमा परिणत भएको नेपालिज होटेलियर्स एसोसिएसन (एनएचए) का अध्यक्ष प्रवीणबहादुर पाठकले बताए । ‘बुटवलको अहिलेको आवश्यकता भनेको रात्रिकालीन बजार हो,’ उनले भने, ‘त्यसका लागि सरकारले पहल गर्नुपर्छ ।’ धमाधम होटल सञ्चालनमा आइरहनु सुखद पक्ष भए पनि तिनले प्रदान गर्ने सेवामा विविधीकरण जरुरी रहेको उनको भनाइ छ । सबैले एउटै खालको सेवामात्र प्रदान गर्ने हो भने लगानी डुब्ने खतरा हुने पाठकले जनाए ।
एनएचएमा बुटवलको उत्तरी क्षेत्रका स्तरीय ५५ होटल सदस्य छन् । सदस्य होटलमा ४/५ करोडदेखि अर्ब रुपैयाँसम्म लगानी रहेको पाठकको भनाइ छ । आधुनिक र औद्योगिक सहर भएकाले बुटवललाई चौबीसै घण्टा खुला राख्नुपर्नेमा उनले जोड दिए । ‘बुटवल आएपछि मात्रै भारतीय पर्यटकलाई विदेश आएको महसुस हुन्छ,’ उनले भने, ‘यहीँ बाटो भएर मुलुकमा अन्य गन्तव्यमा जाने भएकाले बुटवललाई भारतीय पर्यटकको ‘ट्रान्जिट’ सहर बनाउन पहल गर्नुपर्छ ।’ यहाँबाट पोखरा जाने पर्यटकलाई बिहानको खाजासँगै आसपासका गन्तव्य घुमाएर पठाउन सकिने उनको भनाइ छ । ‘पोखराबाट फर्किएर एक रात रूपन्देहीमा बिताउने वातावरण तयार गर्न सबै व्यवसायी एकजुट हुन जरुरी छ,’ उनले भने ।
आतिथ्य प्रदान गरेर दुई/चार रुपैयाँ कमाइ हुने सुरक्षित व्यवसाय भएकाले होटलमा लगानी ओइरिएको होटल व्यवसायी महासंघका उपमहासचिव राजेश महोत्रा बताउँछन् । सेवाको स्तरीकरणले गर्दा अन्य व्यवसाय जस्तो ठगिने सम्भावना नरहेकाले पनि पछिल्लो समय लगानीका लागि सर्वसाधरण तयार भएको उनको भनाइ छ । ‘होटल व्यवासय सजिलो उद्योग पनि हो,’ उनले भने, ‘त्यसैले लगानीकर्ता होमिएका हुन् ।’
रूपन्देहीमा साना, मझौला, ठूला र स्तरीय होटलको संख्या धेरै भएकाले यहाँ पैसा हुने र नहुने दुबै पर्यटकलाई ‘चार्म’ रहेको उनले जनाए । पछिल्लो समय ‘डेस्टिनेसन वेडिङ’ को लहर चलेकाले सानादेखि तारे होटलसम्मले ठूला हल निर्माण गरिरहेको महोत्राको भनाइ छ ।
लुम्बिनी आसपास पनि नयाँ र ठूला होटल खुल्ने क्रम जारी छ । बुद्धजन्मस्थल आसपास लुम्बिनी हेरिटेज, लुम्बिनी बुद्ध गार्डेन, होक्के, कासाई, बुद्धमाया गार्डेन र क्रिस्टलजस्ता स्तरीय होटल छन् । त्यहाँका केही होटलले स्तरवृद्धि गरेका छन् भने मझौला लगानीमा होटल निर्माण भइरहेका छन् । अहिले लुम्बिनीको पश्चिम–दक्षिणमा होटल बाराही निर्माणाधीन छ ।
भैरहवा–लुम्बिनी सडकखण्डअन्तर्गत दानव किनारमा गोल्यान समूहको लगानीमा ह्यात होटल निर्माण सुरु भएको छ । होटल बाराही र ह्यात दुवै पाँचतारे स्तरका रहेको होटल एसोसिएसन लुम्बिनीका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले जनाए । लुम्बिनीको मध्यवर्ती क्षेत्रमा साना, मझौला र ठूला गरेर ८० भन्दा धेरै होटल सञ्चालनमा रहेको शर्माले बताए । ‘लुम्बिनी क्षेत्रमा केही ठूला बुद्ध पूजा फर्किएकाले आउँदो सिजन होटल व्यवसायका लागि उत्तम हुने ठानेका छौं,’ उनले भने, ‘लुम्बिनीमा आउने पर्यटकलाई कसरी टिकाउन सकिन्छ भनेर सोचिरहेका छौं ।’
