जलविद्युत्, व्यापार  र उत्पादन उपसमूहको सेयर मूल्य बढ्दा नेप्से झिनो अंकले सकारात्मक

विकास बैंक,  जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार उपसमूहको सेयर मूल्य बढ्दा सकारात्मक बन्यो नेप्से 

असार २, २०८२

कान्तिपुर संवाददाता

NEPSE marginally positive as share prices of hydropower, trade and manufacturing sub-groups rose

काठमाडौँ — अघिल्ला दुई कारोबार दिन लगातार घट्दा करिब २३ अंकले तल ओर्लेको नेप्से आइतबार मुस्किलले सकारात्मक भएर बन्द भएको छ । उक्त दिन कारोबार अवधिभर सेयर बजार निकै उतारचढावपूर्ण रह्यो । दिउँसो १२ः५५ मा नेप्से घटेर २ हजार ६ सय ५३.५४ अंकमा झरेको थियो ।

त्यसपछि केही सुधार हुँदै नेप्से २ हजार ६ सय ६४ हाराहारीमा पुगेको थियो । तर त्यो वृद्धि लामो समयसम्म टिकेन । बजार बन्द हुँदा नेप्सेमा झिनो अंकको (०.४७ अंक) को सुधार देखिएको छ । आइतबार नेप्से बढ्नुमा विकास बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार उपसमूहको योगदान रह्यो ।

कारोबारमा आएका १३ उपसमूहमध्ये उल्लिखितको सेयर मूल्य बढ्दा बाँकीको घट्यो । तर घट्नभन्दा बढ्ने उपसमूहको परिसूचक सामान्य बढी भएपछि नेप्से पनि सोही दरले सकारात्मक बनेको हो । गत बिहीबारको तुलनामा आइतबारको नेप्से ०.०१ प्रतिशतले बढी हो । यसअनुसार नेप्से २ हजार ६ सय ५५.७५ बिन्दुमा पुगेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्से आइतबार झिनो सुधारसहित बन्द भएको हो । 

आइतबार कारोबारमा आएका मध्ये ९० कम्पनीको सेयर मूल्य बढ्यो भने १५७ वटाको घट्यो । यस दिन ९५ हजार ३ सय ७४ पटकको सेयर कारोबारमा २ करोड ५३ लाख ९३ हजार ७ सय ६२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ११ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको घटेको हो । गत बिहीबार १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये विकास बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापारको परिसूचक बढे । सो दिन बाँकी उपसमूहको परिसूचक घट्यो । आइतबार ग्रीन डेभलपमेन्ट बैंक, पेओर इनर्जी, छ्यादी जलविद्युत्, वरुण जलविद्युत्, युनियन हाइड्रोपावर क्रमशः सबैभन्दा धेरै कमाउने कम्पनीको अग्रपंक्तिमा रहे । उल्लिखित पाँच कम्पनीका लगानीकर्ताले धेरै कमाउँदा नेपाल हाइड्रो डेभलपर, मध्यसोलु हाइड्रोपावर, कुमारी सबल योजना, डोल्टी पावर कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले क्रमशः धेरै गुमाए ।

कारोबार रकमका आधारमा सानिमामाई हाइड्रोपावर, न्याग्दी ग्रुप पावर, बुटवल पावर कम्पनी, रिडी विद्युत् कम्पनी र माउन्टेन इनर्जी नेपाल क्रमशः मुख्य पाँच कम्पनी रहे ।

कान्तिपुर

Link copied successfully