आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लागि ३१ अर्बदेखि ३२ अर्बको हाराहारीमा बजेट ल्याउॅदै कर्णाली सरकार
सुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३१ देखि ३२ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आइतबार दिउँसो बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाहले आगामी वर्षको बजेट प्रस्तुत गर्दैछन् ।
चालु आर्थिक वर्षमा ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको कर्णाली सरकारले मन्त्रालयहरुलाई ३ प्रतिशत बढाएर ३१ अर्ब ५९ करोड रुपैयाँको सिलिङ दिएको थियो । कर्णाली सरकारले आगामी वर्ष बहुवर्षीय स्रोत सुनिश्चित भएका र क्रमागत अधुरा योजनालाई आगामी वर्ष प्राथमिकतामा राखेको छ । बजेट निर्माणको कामले करिब अन्तिम रूप पाइसकेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आगामी वर्षका लागि आयोजना बैंकमार्फत विभिन्न विकास योजनाको प्राथमिकीकरण गरिएको छ । जसका लागि झण्डै २३ हजार योजना सिफारिस भइ आएका छन् ।
कर्णाली सरकारले संघीय सरकारबाट आगामी वर्षका लागि झण्डै १६ अर्ब ४ करोड अनुदान पाउनेछ भने चालु आर्थिक वर्षको ७० प्रतिशत खर्चको आधारमा नगद मौज्दात अनुमान गरी बजेटको बाँडफाँट गरेको छ । राजस्व बाँडफाँटतर्फ झण्डै १० अर्ब ८० करोड रुपैयाँको अनुमान गरि बजेट ल्याउने तयारी गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्माले बताए । उनका अनुसार चालु वर्षभन्दा आगामी वर्ष झण्डै ६४ करोड अनुदान घटेपछि यो वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरिएको हो ।
कर्णाली सरकारले चालु आर्थिक वर्षमा झण्डै ४० प्रतिशत बजेट खर्च गरेको छ । शुक्रबारसम्म पुँजीगततर्फ ३२ प्रतिशत र चालुतर्फ ५४ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी वर्षका लागि नयाँ विनियोजन ऐनअनुसार वैशाख ११ गते मन्त्रालयहरुलाई सिलिङ वितरण गरेको थियो भने मन्त्रालयहरुले जेठ २५ गतेसम्म योजनाहरु छनोट गरि पठाएका थिए ।
आर्थिक मामिला तथा योजनामन्त्री राजीबविक्रम शाहले नीति तथा कार्यक्रममा समेटिएका योजनालाई प्राथमिकता दिइ बजेट ल्याउने तयारी गरिएको बताए । ‘कतिपय कुरा त सर्प्राइज नै होला, उत्पादनमूलक र अधुरा योजनालाई प्राथमिकता दिइ बजेट ल्याउने तयारी छ,’ उनले भने, ‘शिक्षा, कृषिमा औद्योगिकरण, सीपलाई उत्पादनसँग जोड्नेलगायत योजनालाई पनि आगामी वर्ष विशेष महत्व दिइएको छ ।’
