साताको सेयर : बढी कमाउनेमा जलविद्युत् कम्पनीका लगानीकर्ता

सेयर बजारमा कमाएका १० कम्पनीको सूचीमा ९ वटा जलविद्युत् कम्पनी, एउटा मात्रै फाइनान्स कम्पनी 

जेष्ठ ३१, २०८२

सीमा तामाङ

Share of the week: Investors in hydropower companies are top earners

काठमाडौँ — साता समग्र नेप्से परिसूचक १४.४२ अंकले बढ्दा १४० कम्पनीको सेयर मूल्य बढ्यो भने १०८ कम्पनीको मूल्य घट्यो । यो साता जलविद्युत्, फाइनान्स, होटल तथा पर्यटन, अन्य र लगानी उपसमूहमा लगानीकर्ताहरूको आकर्षण रह्यो । 

जलविद्युत् उपसमूह ५.५१, फाइनान्स ४.३३, होटल तथा पर्यटन २.२१, अन्य १.२३ र लगानी उपसमूह शून्य दशमलव २४ प्रतिशतले बढेको एनपी स्टक्सले जनाएको छ । घट्ने उपसमूहहरूमा निर्जीवन बिमा, लुघवित्त, बैंकिङ, विकास बैंक, जीवन बिमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूह रह्यो । 

अघिल्ला साताहरूमा जस्तै यस साता पनि सेयर बजारमा जलविद्युत् कम्पनीहरूकै वर्चस्व रह्यो । यो साता सेयर बजारमा कमाएका १० कम्पनीको सूचीमा जलविद्युत्कै वर्चस्व रह्यो । सेयर बजारमा कमाएका १० कम्पनीको सूचीमा ९ वटा जलविद्युत् कम्पनी छन् भने एउटा मात्रै फाइनान्स कम्पनी छन् ।

सेयर बजारमा कमाएका कम्पनीमा पियोर इनर्जी, बुटवल पावर कम्पनी, श्री इन्भेस्टमेन्ट फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट, रिभर फल्स पावर, चिलिमे हाइड्रोपावर, युनियन हाइड्रोपावर, सानीमा माई हाइड्रोपावर, हिमालयन पावर पार्टनर र दोल्ती पावर रह्यो ।

पियोर इनर्जीको ६०.९८ प्रतिशत, बुटवल पावर कम्पनीको २१.०१, श्री इन्भेस्टमेन्ट फाइनान्सको २०.८०, सिनर्जी पावर डेभलपमेन्टको १९.२५, रिभर फल्स पावरको १८.१४, चिलिमे हाइड्रोपावरको १६.५६, युनियन हाइड्रोपावरको १४.७३, सानीमा माई हाइड्रोपावरको १२.५६, हिमालयन पावर पार्टनरको १२.०७ र दोल्ती पावरको ११.२७ प्रतिशतले सेयर मूल्य बढ्यो ।

गुमाएका १० कम्पनीमा ओम मेगाश्री फर्मास्युटिकल्स, उपकार लघुवित्त, भूगोल इनर्जी डेभलपमेन्ट, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स । समाज लघुवित्त, सप्तकोशी विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, दोर्दी खोला जलविद्युत्, एसियन हाइड्रोपावर, नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी रह्यो । सबैभन्दा बढी ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको सेयर मूल्य १७.२३ प्रतिशतले घट्यो ।

Share of the week: Investors in hydropower companies are top earners

उपकार लघुवित्तको १३.१५, भूगोल इनर्जी डेभलपमेन्टको १०.४९, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको ९.३८, समाज लघुवित्तको ८.३२, सप्तकोशी विकास बैंकको ८.०७, ग्रिन डेभलपमेन्ट बैंकको ७.६७, दोर्दी खोला जलविद्युत्को ६.१२, एसियन हाइड्रोपावरको ५.७१, नेपाल माइक्रो इन्स्योरेन्सको ५.२५ प्रतिशतले सेयर मूल्य घट्यो । यी कम्पनीका लगानीकर्ताले आफ्नो सम्पत्तिको मूल्य गुमाए । 

कारोबार रकमका आधारमा पनि जलविद्युत् कम्पनीहरूकै वर्चस्व रह्यो । यो साता राधी विद्युत् कम्पनीको सर्वाधिक कारोबार भयो । सातामा राधी विद्युत् कम्पनीको मात्रै २ अर्ब ९७ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।

ङादी ग्रुप पावरको २ अर्ब ८६ करोड ३३ लाख, सानिमा माई हाइड्रोपावरको २ अर्ब ४८ करोड ४९ लाख, युनिभर्सल पावर कम्पनीको २ अर्ब ४६ करोड ७ लाख, बुटवल पावरको २ अर्ब ३० करोड ४८ लाख, अरुण काबेली पावरको १ अर्ब ६९ करोड ८६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १ अर्ब ६६ करोड ९३ लाख, चिलिमे हाइड्रोपावरको १ अर्ब ६३ करोड ४६ लाख, सीईडीबी होल्डिङ्सको १ अर्ब २४ करोड ४५ लाख, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको १ अर्ब १६ करोड ६७ लाखको कारोबार भएको छ । 

नेप्सेका अनुसार पाँच कारोबार दिनमा ५० अर्ब ४१ करोड रुपैयाँ कारोबार भएको छ । आइतबार ९ अर्ब १३ करोड ७४ लाख, सोमबार ८ अर्ब ६८ करोड ९३ लाख, मंगलबार १० अर्ब १६ करोड ९ लाख, बुधबार ९ अर्ब ९० करोड ७० लाख रुपैयाँ कारोबार भएको थियो । साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार तीन महिनायताकै उच्च कारोबार भएको थियो । बिहीबार १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ कारोबार भएको नेप्सेको तथ्यांक छ । 

नेप्से सातामा १४.४२ अंकले बढेसँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा २४ अर्ब २ करोड ६० लाख रुपैयाँले बढेको छ । अघिल्लो बिहीबार ४३ खर्ब ९९ अर्ब १ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार ४४ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ ।

पुँजीकरण बढ्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा बढी हुनु हो । यही आधारमा पुँजीकरण बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको रूपमा विश्लेषण गरिन्छ ।

सीमा तामाङ तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully