बैंकिङ क्षेत्रलाई अझ सबल, समावेशी र पारदर्शी बनाउँछु : गभर्नर पौडेल

जेष्ठ ३१, २०८२

कान्तिपुर संवाददाता

Making the banking sector more robust, inclusive and transparent: Governor Paudel

काठमाडौँ — नेपालको बैंकिङ क्षेत्रलाई अझ सबल, समावेशी र पारदर्शी बनाइने नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन्। बैंकिङ क्षेत्रलाई प्रभावकारी बनाई समग्र अर्थतन्त्रमा स्थायित्व ल्याउन आफू प्रतिबद्ध रहेको उनले बताए।

नेपाल बैंकर्स संघद्वारा शुक्रबार आयोजित नयाँ गभर्नरको स्वागत तथा निवर्तमान गभर्नरको बिदाइ कार्यक्रममा गभर्नर पौडेलले राष्ट्र बैंकको वर्तमान नीति र व्यवस्था प्रभावकारी रहेकाले तीमध्ये कुनैमा परिवर्तन नगरी निरन्तरता दिइने र आवश्यक परेमा मात्र सुधार गरिने धारणा राखेका थिए।

‘आगामी दिनमा बैंकिङ क्षेत्रसँग समन्वय र परामर्शमा आधारित नीति निर्माण गर्दै नेपाली बैंकिङ क्षेत्रलाई अझ सबल, समावेशी र दीर्घकालीन विकासको दिशामा लैजाने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले भने, ‘त्यसमा सबैको साथ र सहयोग आवश्यक छ।’

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयको स्मरण गर्दै, त्यस्तो कठिन अवस्थामा पनि बैंकहरूमा रहेको नेतृत्वकै कारण अर्थतन्त्रमा स्थायित्व कायम राख्न सकिएको बताए।

‘महामारीपछिको आर्थिक स्थायित्व राष्ट्र बैंकको मात्र उपलब्धि नभई सम्पूर्ण बैंकिङ क्षेत्रको सहकार्य र साझा प्रयासको परिणाम हो,’ उनले भने, ‘मेरो कार्यकालका केही निर्णयहरू कठिन भए तापनि ती दीर्घकालीन सुधारका लागि आवश्यक थिए। नेपालको बैंकिङ क्षेत्रले विगतको गल्तीबाट सिक्दै भविष्यमा यस्ता गल्ती दोहोरिन नदिन सतर्क रहनुपर्छ।’

उनले भविष्यमा आवश्यक परेमा बैंकिङ क्षेत्रलाई आफ्नो ज्ञान, अनुभव तथा सल्लाहमार्फत सघाउन आफू सधैँ तयार रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully