दोलखा — माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँधस्थल लामाबगर पुग्ने प्रवेशमार्गको पारिपट्टी निकै कहाली लाग्दो भीर छ । यस्तो कठिन भीरमा पनि पैदलयात्रीका लागि बाटो बनाउने काम भइरहेको छ, त्यो पनि कुनै ठूला औजारबिना ।
विगु–१ र गौरीशंकर–९ जोडने रिकुको भीरबाटै रिकु गाउँका स्थानीय लामावगरमा किनमेलका लागि आउँथे । वारिबाट रिकु भीरमा बाटो छ भन्दा धेरैलाई अचम्म लाग्ने गरेको छ । तर हाल वारीबाटै भीरको बाटो देखिन्छ । निकै कठिन भीरमा सहज बाटो छिचोलिएको छ । तर यही भीर छिचोल्ने क्रममा रिकुका ६४ वर्षीय नेत्र बहादुर खड्काले दायाँ हातका २ वटा औंला गुमाएका छन् । काम गर्ने क्रममा औला गुमाए पनि रिकुमा भेटिएका नेत्रबहादुरको मुहारमा चमक देखिन्थ्यो ।
गाउँसम्म पुग्न बाटो सहज बनेपछि अहिले गाउँ हेर्न आउनेहरुको संख्या पनि बढ्दै गएको छ । रिकु अर्थात नौंवटा जंगलले घरिएको गाउँ भनेर चिनिन्छ । एक दशकअघि रिकु पुग्न तुइनको सहारा चाहिन्थ्यो । तुईनबाट धेरै स्थानीयलाई उनले तामाकोसी वारपार गराएका छन् ।
२०६८ को वर्षाको भेलमा तुईन चुडिएर तामाकोसीमा आमासहित नाबालक बगेपछि गाउँ वारपार गर्ने तुईन विस्थापन गरियो । गाउँ आउजाउ गर्न तामाकोसीमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले उती बेला झोलुङ्गे पुल हालिदियो । तर पनि रिकु पुग्न सहज बाटो थिएन ।
भीरको बाटो लठ्काको भरमा वारपार गर्नुपर्ने बाध्यता थियो । एक गुमनाम बनेको रिकु कतैबाट पनि चर्चामा आएको थिएन । तर हाल गाउँको परिचय फेरिएको छ । कारण हो लामाबगरबाट बाँदर लड्ने भीरमा २ मिटरको चौडा पैदलमार्ग । माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको अर्को आयोजना २२ मेगावाटको रोल्वालिङ डाईभर्सनले रिकु गाउँ जाने बाटो बनाइदिने भएपछि उनै नेत्रबहादुर भीर छिचोल्न तुईन चलाएर सिमेन्ट बालुवा वार गर्न खटिए । तर गएको फागुनको पहिलो साता तुईनका लठ्ठाले उनका २ वटा औंला चुडाएर लग्यो ।
‘तुईन चलाउने क्रममा लठ्ठाले बालुवा वारि ल्याउन तान्दै थिएँ, अचानक तुईन झड्कालियो, अनियन्त्रित बन्यो,’ उनले भने, ‘अनियन्त्रित बनेका लठ्ठाले दायाँ हातका दुवै औंला चट्टै भयो, बायाँ हातले समाएर काटिएको हात टाउँको माथि उठाएर दगुर्दै लामाबगर पुगेँ ।’ चरिकोटमा उनको उपचार भयो । ‘बाँच्न लेखिएको रैछ, औंलासँगै त्यत्रो रगत गयो,’ उनले भने, ‘दाहिने हातका दुई औला ठुटे भए पनि जेनतेन दुःख गरेर खाउँला भनेर भीरको काम छाडेर गाउँ फर्केँ । तुईनकै भरमा जीन्दगी गयो, यहि तुईनले मेरा औंला पनि खायो ।’
तर नेत्र बहादुरलाई औंला गुमेको भन्दा कहाली लाग्दो भीरको बाटो बनेकोमा खुसी लागेको छ । ‘रिकुको भीरमा सहज बाटो बनेको छ, ती कहाली लाग्दा दिनको अन्त्य भयो जस्तो लाग्छ,’ उनले भने, ‘भावी सन्ततिका लागि बनेको बाटोमा मेरा दुई औंला गुमे पनि उनीहरुलाई त ती कहाली लाग्दो दिनबाट निकाल्न सकेँ ।’ नुन खान पनि तुईनको सहारा चाहिने गाउँ फेरिएकोमा उनी उत्साहित छन् । उनले भने, ‘उपचारको कुरा नगरौं जडिबुटी र झारफुकबाहेक अरु थिएन । अहिले रिकु परिवर्तन भएको छ । हिँडेर एक घण्टामा सडक नजिकैको बजार पुगिन्छ ।’
भीरको बाटो छिचोल्ने क्रममा औंला गुमाएपछि रिकुमै हाई हिमाल भन्ने कम्पनीले अडिट टनेल बनाउने कामका लागि सामान ल्याउन बनाएको तुईन हेरालुमा जागिर दिएको छ । भीरको बाटो सहज बनेपछि च्छो–रोल्पा हिमताल र रोल्वालिङ उपत्यका पुग्ने पर्यटकका लागि रिकु हुँदै नयाँ पदमार्ग खुलेको छ । लुकेको गाउँको उपमा पाएको रिकुमा धमाधम होमस्टे खुल्न थालेका छन् ।
भीर छिचोलेर पदमार्ग बनेपछि यहि गाउँ भएर त्यस क्षेत्र पुग्ने पर्यटकका लागि रिकु बास बस्ने थलो बनेको छ ।
