कम मिहिनेत, थोरै लगानीबाट मनग्य आम्दानी हुन थालेपछि लिची खेतीमा युवाको आकर्षण बढेको छ भने गाउँपालिकाले चिली पकेट क्षेत्रका रुपमा विकास गरेको छ ।
पाल्पा — पाल्पाको रम्भा गाउँपालिका–१, हुँगी मझुवाका जगतबहादुर कार्की दम्पतीलाई यतिबेला लटरम्मै फलेका लिची टिप्ने, यसलाई मिलाउने, प्याकिङ गर्ने र बजार पठाउने हतारो छ । ढिला गर्ने हो भने किरा लाग्ने, झर्ने र बिक्रीमा समस्या आउने हो कि भन्ने चिन्ता छ ।
‘लिचीको सिजन धेरै दिन रहन्न,’ कार्कीले भने, ‘त्यसैले टिपेर बजार पठाउन हतारो नै हुन्छ ।’ नगदेबाली लिचीको भाउ पनि यतिबेला राम्रो आएकाले काम गर्ने हतारो हुने उनले बताए ।
कार्की २०५३ सालमा फोक्सिङकोटको फोक्सिङ डाँडाबाट बेँसी बस्ती हुँगी मझुवामा बसाइँ झरेका हुन् । लेकमा आम्दानी कम हुने र दुःख भएपछि बेँसी झरेको बताउने कार्कीले अहिले वार्षिक ५ लाख बढी लिचीबाट मात्रै आम्दानी लिने गरेका छन् । श्रीमती रामप्यारीको साथ र सहयोगबाटै उनले लिची लगाउन सफल भएको बताए । अहिले कार्कीको बगानमा फल लागेका लिचीका ७५ बोट छन् । यस वर्ष थप लिची लगाउने योजना छ । गाउँपालिकाले अनुदानमा बिरुवा दिने थाहा पाएका कार्कीले अझ केही बिरुवा लगाउने तयारी गरेको बताए ।
एउटै बोटबाट कम्तीमा ५ हजारदेखि १० हजारसम्म आम्दानी लिन सकेको उनले बताए । घाम, पानी, हिउँद, वर्षा नभनिकन लिचीका लागि काम गर्ने गरेको उनले बताए । कार्की दम्पती मात्र होइन, रम्भा गाउँपालिका–१, हुँगीका विभिन्न टोलमा नगदेबाली लिची लगाउने अभियान चलेको छ । असेर्दी, सँगाहा, मझुवा, पन्टार, साठी लगायतका गाउँमा अहिले लिची लगाउने अभियान सुरु भएको वडाध्यक्ष ईश्वर काफ्लेले बताए ।
‘गाउँपालिका र वडाको सहयोगले अब हुँगीको परिचय नै फेरिने तरखरमा छ,’ उनले भने, ‘अब लिची गाउँले हुँगीलाई चिनाउने योजना छ ।’ कालीगण्डकी करिडोर सडक स्तरोन्नति भएपछि लिची लगाउनेको संख्या हृवात्तै बढेको हो । पहिले बोकाएर लैजानुपर्नेमा अहिले घरघरबाटै सवारी साधनमा बजार पठाउन पाएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि लिची पकेट क्षेत्र बनाउने अभियान चलाएकाले पनि किसानको आकर्षण बढेको स्थानीय हरिप्रसाद भण्डारीले बताए ।
गाउँपालिका, वडा कार्यालय र स्थानीय बासिन्दा लिचीबाट आम्दानी लिन सकिने बुझेकाले पनि घरघरमा अभियान चलेको छ । ‘प्रत्येक घरमा लिची नभएको भन्ने छैन,’ उनले भने, ‘तर व्यावसायिक लिची खेती गर्ने किसान पनि ५० बढी पुगिसकेका छन् ।’ एउटै किसानले कम्तीमा २ लाखदेखि ५ लाखसम्म आम्दानी लिन थालिसकेको उनले बताए ।
गाउँपालिकाको तथ्यांकले हुँगी क्षेत्रमा लिचीबाट वार्षिक दुई करोड रुपैयाँ भित्रिन थालेको देखाउँछ । लिचीबाट हुँगीका टोल टोलमा समृद्धि भित्रिएको दाबी गाउँपालिकाको छ । अर्कोतर्फ यहाँबाट बसाईसराई पनि रोकिएको छ । पछिल्लो वर्षमा प्रायः युवा विदेश जान खोज्दैनन् । यहाँका सबै घरपरिवारले लिची लगाउने अभियान चलाएको युवा किसान सुमन पछाईले बताए । उनका अनुसार लिची लगाउने अभियानसँगै यसका लागि थप व्यवस्थापन गर्नु जरुरी छ ।
‘युवालाई लिची खेतीमा आकर्षित गर्नुपर्छ,’ उनले भने, ‘यसको ग्रेडिङ गर्ने, कटानी छटानी, लिची टिप्न सहज बनाउन कृषि औजार लगायत व्यवस्थापन गर्नुपर्छ ।’ उनका अनुसार लिचीको बोट कलिलो हुने भएकाले टिप्ने समयमा दुर्घटनामा पर्ने गरेकाले यसतर्फ ध्यान दिनुपर्छ ।
कम लगानी र थोरै मिहिनेतबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका प्रायः सबै किसानको मोह लिचीतर्फ रहेको अर्का युवा विष्णु पछाईले बताए । उनका अनुसार लिचीको व्यावसायिक पकेट क्षेत्र बनाएसँगै गाउँपालिकाले प्रतिकेजी उत्पादनमा आधारित अनुदान दिनुपर्छ । ‘उत्पादनमा आधारित अनुदान दिने हो भने थप किसानमा उत्साह जाग्ने थियो,’ उनले भने, ‘अर्को वर्षदेखि गाउँपालिकाले कम्तीमा २ रुपैयाँ प्रति केजीमा उत्पादनमा आधारित अनुदान वा ढुवानी खर्च दिनुपर्छ । त्यसो भयो भने किसानलाई अझ धेरै उत्पादन गर्ने र बजारीकरणमा सहयोग पुग्छ ।’
कालीगण्डकी नदीको किनारमा रहेको हुँगीमा लिची राम्रो फल्छ । मकै, कोदो र गहुँ रोप्ने बारीमा लिची लगाएर वार्षिक लाखौं आम्दानी लिने गरेका छन् । लिचीबाटै छोराछोरीको पढाइ, घरखर्चका साथै घरघडेरी खरिद गर्न सफल भएको युवा किसान पछाईले बताए । प्राविधिक सहयोग, मल बिउ अनुदान र बिरुवा पाउने हो भने यहाँका छिमेकका थप किसान पनि व्यावसायिक लिची खेती गर्ने बताउँछन् । स्थानीय तहले लिचीको व्यावसायिक पकेट क्षेत्रमा सहयोग सहित अघि बढेपनि अनुदान अझै सुरु गरेको छैन ।
गाउँपालिकाले लिची पकेट कार्यक्रम अघि बढाउन चालु आर्थिक वर्षमा २० लाख लगानी गरेका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । कालीगण्डकी करिडोर सडक स्तरोन्नति नहुँदै डोकोमा बोकेर नजिकको गल्याङ स्याङ्जा लग्नुपर्ने बाध्यता हटेको छ । पछिल्लो समय व्यावसायिक लिची उत्पादन हुन थालेपछि बुटवल, दाङ, सल्यान, पोखरा, स्याङ्जाबाटसमेत व्यापारी घरमै आउन थालेको उनले बताए ।
जिल्लामा ५ सय ७० हेक्टर क्षेत्रफलमा कम्तीमा ९ सय ८० मेट्रिकटन वार्षिक लिची उत्पादन हुने कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
