सुनमा लगाइएको विलासिता कर खारेज गर्न व्यवसायीको माग, पसल बन्द गरेर आन्दोलित

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

Demand of businessmen to abolish luxury tax on gold, protest by closing shops

काठमाडौँ — सुनचाँदी व्यवसायीहरूले सुनमा लगाइएको विलासिता कर र हिरा-जवाहरत पत्थरमा लगाइएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर खारेजीको माग गरेका छन्। 

सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरा जवाहरत पत्थरमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेको छ। व्यवसायीहरूले भने त्यस्तो कर व्यवहारिक नभएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेरै ध्यानाकर्षण पत्र बुझाएका व्यवसायीहरूले बिहीबार र शुक्रबार पसल बन्द गरेर सडक आन्दोलनको घोषणा गरेका छन्।

बुधबार अर्थमन्त्री पौडेललाई भेटेर त्यसबारे ध्यानाकर्षण गराइएको नेपाल सुनचाँदी व्यवसायी तथा कालीगढ संघर्ष समितिका संयोजक विपिन रामुदामले बताए। सरकारले अनावश्यकरुपमा लगाएको कर खारेजीको विकल्प नभएको उनको भनाइ छ । 'उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलज्यूलाई भेटेर यस्तो कर खारेज हुनुपर्ने माग गरेका छौँ। अब पसल बन्द गरेर आन्दोलन गर्ने कार्यक्रम छ,' उनले भने । 

Demand of businessmen to abolish luxury tax on gold, protest by closing shops

सरकारले कर लगाएको सन्दर्भमा नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्तरुपमा बिहीबारदेखि आन्दोलन घोषणा गरेका छन् । काठमाडौँ उपत्यकामा बिहीबार व्यवसायीहरू पसल बन्द गरेर न्युरोडमा प्रदर्शनको तयारी रहेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष निरबहादुर विश्वकर्माले जानकारी दिए।

कान्तिपुर संवाददाता

Link copied successfully