नेप्से वृद्धिले पायो निरन्तरता, सवा १० अर्ब रुपैयाँको कारोबार

नेप्से बढेसँगै पछिल्ला दुई कारोबार दिनमा सेयर बजारको आकार ८० अर्ब ४० करोड ९१ लाखले वृद्धि

जेष्ठ २८, २०८२

कान्तिपुर संवाददाता

NEPSE growth continued, turnover of 10 billion rupees

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २५.०७ अंकले बढेको छ । शून्य दशमलव ९४ प्रतिशतले बढेर नेप्से २ हजार ६ सय ७८.१७ बिन्दुमा उक्लिएको छ । नेप्से वृद्धिले मंगलबार पनि निरन्तरता पाएको हो । सोमबार नेप्से परिसूचक २३.१९ अंकले बढ्दा ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार १९६ कम्पनीको सेयर मूल्य बढ्यो भने ५२ कम्पनीको मूल्य घट्यो । कुल ८१ हजार ७३८ पटकको सेयर किनबेचबाट १० अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकम पनि बढेको छ । पछिल्ला १२ कारोबार दिनयताकै उच्च कारोबार भएको हो । जेठ ८ मा १० अर्ब ६९ करोड रुपैयाँ कारोबार भएकामा जेठ ७ मा ९ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेका अनुसार २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच भयो । सबै उपसमूहको मूल्य बढ्यो । सबैभन्दा बढी निर्जीवन बिमा १५३.३२, जीवन बिमा १३९.५७ र फाइनान्स १२०.२९ अंकले बढे । पियोर इनर्जी र श्री इन्भेस्टमेन्ट फाइनान्सको मूल्य ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ । समृद्धि फाइनान्स कम्पनीको ८.३८, जानकी फाइनान्स कम्पनीको ६.९१, रिलायन्स फाइनान्सको मूल्य ६.६७ प्रतिशतले बढेको छ । रावा इनर्जी डभलपमेन्टको ६.१४, ओम मेगाश्री फर्मासिटिकल्सको ४.१०, नारायणी विकास बैंकको ३.६३, एनआईबीएल स्टेबल फन्डको ३.२५ र उपकार लघुवित्तको २.६४ प्रतिशतले सेयर मूल्य घटेको छ । 

कारोबार रकमका आधारमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (प्रमोटर), अरुण काबेली पावर, राधी विद्युत् कम्पनी, सानिमा माई हाइड्रोपावर र ङादी ग्रुप पावर अघि रहे । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (प्रमोटर) को ५८ करोड ४९ लाख ५३ हजार, अरुण काबेली पावरको ५३ करोड १३ लाख ५७ हजार, राधी विद्युत् कम्पनीको ४६ करोड ५६ लाख ६६ हजार, सानिमा माई हाइड्रोपावरको ४४ करोड ६९ लाख ९३ हजार र ङादी ग्रुप पावरको ४२ करोड ५८ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ । 

नेप्से बढेसँगै पछिल्ला दुई कारोबार दिनमा सेयर बजारको आकार (कुल बजार पुँजीकरण) मा ८० अर्ब ४० करोड ९१ लाख रुपैयाँले बढेको छ । गत आइतबार ४३ खर्ब ८० अर्ब ५७ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण मंगलबार ४४ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ । कुल सूचीकृत सेयरलाई सोही दिनको सेयर मूल्यले गुणा गरेर कुल बजार पुँजीकरण गणना गरिन्छ । पुँजीकरण बढ्नुको अर्थ सूचीकृत सेयरको बजार मूल्यमा वृद्धि हुनु हो । यही आधारमा पुँजीकरण बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको रूपमा विश्लेषण गरिन्छ ।

कान्तिपुर

Link copied successfully