नेपाल टेलिकमको नेटवर्कमा किन आइरहेको छ समस्या ?

जेष्ठ २७, २०८२

कान्तिपुर संवाददाता

Why is there a problem in Nepal Telecom's network?

काठमाडौँ — सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नेटवर्कमा सोमबारदेखि पटक-पटक समस्या आइरहेको छ । कम्पनीका प्रवक्ता रविन्द्र मानन्धरका अनुसार सोमबार दुईपटक र मंगलबार पनि दुईपटक समस्या देखिएको थियो । फोन नलाग्ने र अन्य सेवाहरू प्रभावित हुने समस्या आएको उनले जानकारी दिए ।

प्रवक्ता मानन्धरले यो समस्या अनलाइन चार्जिङ बिलिङ (ओसीएस) को इन्टरफेस युनिटमा आएको प्राविधिक खराबीका कारण भएको बताए । 'प्राविधिक विषय भएकाले समस्या के-कारणले आयो भनेर हामी डाइग्नोसिस गरिरहेका छौँ, अहिले चाहिँ सिस्टम चलिरहेको छ,' उनले भने ।

टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहितका उच्च पदस्थ अधिकारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेलगत्तै नेटवर्क अवरुद्ध हुन पुगेकोमा कतिपय चासोसाथ हेरेका छन् । प्रवक्ता मानन्धरले भने यसको खण्डन गरेका छन् । 'यो केबल संयोगमात्र हो, त्यस्तो कुनै सम्बन्ध छैन,' उनले भने ।

नेपाल टेलिकमले समस्या समाधानका लागि तीव्र गतिमा काम गरिरहेको र छिट्टै समस्या समाधान गर्ने जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully